• ३० चैत २०८२, सोमबार

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया, स्वास्थ्य अवस्था स्थिर

blog

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौँ, चैत ३० गते । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ)अस्पतालमा ग्यास्ट्रोइन्टेस्टाइनल (जिआई) सर्जरी विभागको टोलीले ओलीको पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ । 

विभागीय प्रमुख प्रा.डा. दिव्या सिंह शाह र डा.महेश राज सिग्देलको नेतृत्वमा चिकित्सक टोलीले पित्तथैलीको पत्थरी ‘सिम्प्टोम्याटिक कोलेलिथियासिस’ समस्याका कारण ‘ल्यापारोस्कोपिक कोलेसिस्टेक्टोमी’ शल्यक्रिया गरेको अस्पतालको भनाइ छ । 

अस्पतालका अनुसार शल्यक्रियामा प्रा. डा.प्रवेशा जोगी, डा.विष्णु प्रसाद कँडेल र डा.दीपक शर्मा संलग्न हुनुहुन्थ्यो । एनेस्थेसियोलोजी तर्फबाट डा. अमित शर्मा भट्टराई र डा। पंकज जोशीले सहयोग गर्नुभएको थियो ।

शल्यक्रियापछि उहाँलाई निगरानीका लागि सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ । आईसीयूमा डा। प्रवेश सुन्दर श्रेष्ठ र डा। हेमराज पन्तको टोली उपचारमा संलग्न रहेको अस्पतालले जनाएको छ । साथै, कार्डियोलोजी विभागका प्रा. डा. चन्द्रमणि पौडेल र डा. सूर्य देवकोटा पनि उपचारमा संलग्न हुनुहुन्छ ।हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले उल्लेख गरेको छ ।