• ३० चैत २०८२, सोमबार

आर्क पुलको काम अन्तिम चरणमा

blog

मादी नदीमाथि बन्दै गरेको आर्क डिजाइनको पुल ।तस्बिर:अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत ३० गते । पृथ्वीराजमार्ग विस्तार आयोजना अन्तर्गत व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीको चार लेनको ‘आर्क डिजाइन’ पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएसँगै अब पुलको फिनिसिङ र माथिल्लो भागको संरचना निर्माणले तीव्रता पाएको छ ।

आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले फाउन्डेसन र पिल्लर जस्ता जटिल कामहरू सकिएकाले अबको केही महिनामै पुल यातायातका लागि खुला हुने गरी काम भइरहेको बताउनुभयो ।

पुल निर्माणको जिम्मा पाएको जेडआइष्ट–अन्नक जेभीले हाल दैनिक १२५ कामदार खटाएर निर्माणलाई अन्तिम रूप दिइरहेको छ ।

विसं २०७९ साउनमा एक अर्ब २१ करोड रुपियाँमा ठेक्का सम्झौता भएको यो पुल सञ्चालनमा आएपछि दमौली बजार क्षेत्रको ट्राफिक चापमा ठूलो सुधार आउने पाण्डे बताउनुहुन्छ ।

एसियाली विकास बैँकको ऋण सहयोगमा निर्माणाधीन यो पुल पर्यटकीय दृष्टिकोणले समेत आकर्षक हुने छ । मादी नदीमाथि निर्माण गरिएको ३७० मिटर मादी पुल जीर्ण भएकोले आधुनिक ‘आर्क डिजाइन’ मा निर्माण सुरु गरिएको थियो । 

यो पृथ्वीराजमार्गकै सबैभन्दा आकर्षक र आधुनिक पुल हुने छ । यातायात आवागमनका साथै पर्यटकीय दृष्टिकोणले समेत यसलाई कलात्मक बनाइएको आयोजनाले जनाएको छ । 

सूचना अधिकारी पाण्डेका अनुसार पुलको काम वित्तिय प्रगति ७६ प्रतिशत भौतिक प्रगति ८० प्रतिशत पूरा भइसकेको छ ।