• १३ साउन २०८१, आइतबार

भीमेश्वर नगरपालिकाले आठ महिनामा एक करोडभन्दा २९ लाख राजस्व सङ्कलन गर्‍यो

blog

बाबुराम शर्मा 

दोलखा, चैत २७ गते । दोलखाको भीमेश्वर नगरपालिकाले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म यो राजस्व सङ्कलन भएको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एक करोड २८ लाख ७५ हजार दुई सय सत्तरी रुपियाँ राजस्व सङ्कलन गरेको नगरपालिकाका सूचना अधिकारी जगदीश अर्यालले जानकारी दिनु भयो । 

उहाँका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एक करोड २५ लाख ६६ हजार छ सय रुपियाँ राजस्व सङ्कलन भएको थियो । कुल १३ शीर्षकमा उठाइएको राजश्वमध्ये सम्पत्ति करको योगदान सबै भन्दा बढी ४८ लाख २७ हजार चार सय रुपियाँ छ । घर बहाल करबाट १८ लाख २४ हजार ५३३  रुपियाँ राजस्व सङ्कलन भएको छ । 

यसै गरी व्यवसाय रजिस्ट्रेसन दस्तुर बापत छ लाख २९ हजार २८६, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय आठ लाख ५५ हजार ८७ तथा सेवा शुल्क बापत दुई लाख १८ हजार २४२ रुपियाँ राजस्व प्राप्त भएको नगरपालिकाले जनाएको छ ।

परीक्षा शुल्क बापत ३७ हजार ६२५, अन्य प्रशासनिक सेवा शुल्क बापत चार लाख ५६ हजार पाँच सय, नक्सा पास दस्तुर बापत १० लाख ३० हजार ९९२, सिफारिस दस्तुर बापत २६ लाख २६ हजार चौरान्नब्बे, व्यक्तिगत घटना दर्ता दस्तुर बापत एक लाख ९४ हजार आठ सय, नाता प्रमाणित दस्तुर बापत ६९ हजार आठ सय तथा अन्य सेवा शुल्क र दस्तुर बापत एक लाख चार हजार आठ सय रुपियाँ राजस्व प्राप्त भएको सूचना अधिकारी अर्यालको भनाइ छ ।