• २९ मङ्सिर २०८२, सोमबार

नागरिक अधिकारसम्पन्न हुँदा शासक कमजोर हुँदैन : मन्त्री खनाल

blog

कार्यक्रममा अर्थ एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनाल, आयोगका अध्यक्ष रामबहादुर थापा मगर लगायत । तस्बिर: टीकाराम प्रधान

काठमाडौँ, मङ्सिर २८ गते । अर्थ एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले आफ्नो नागरिकलाई अधिकारसम्पन्न बनाउँदा शासक कमजोर नहुने बताउनुभएको छ ।

आदिवासी जनजाति आयोगले आइतबार ललितपुरमा आयोजना गरेको ‘नेपालको संविधानको धारा ५६ (५) मा व्यवस्था भएको विशेष, संरक्षित वा स्वायत्त क्षेत्रसँग सम्बन्धित विषयमा विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुतीकरणसहित आदिबासी जनजाति समुदायको ज्ञान सम्मेलन – २०८२’ कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । यो अवधारणा प्रत्येक राजनीतिक दलमा विकास गर्नुपर्ने उहाँको भनाइ छ । 

मन्त्री खनालले भन्नुभयो, “जति अधिकार अरुलाई सुम्पन्छौं त्यति शक्तिशाली म हुन्छु भन्ने धारणामा विश्वास गर्छु । धेरै राजनीतिक दलमा के छ भने धेरै अधिकार दिइयो भने म आफैं कमजोर, निरिह हुन्छु भन्ने छ । जति समर्पित भयो उति शक्तिशाली भइन्छ, यो धारणा प्रत्येक राजनीतिक पार्टीमा विकास गर्नुपर्छ ।”

उहाँले अधिकार दिएर पनि कतिपय मुलुक शक्तिशाली एवम् अन्तर्राष्ट्रिय स्तरमा विकसित मुलुकको छवि बनाउन सफल भएको भनाइ राख्नुभयो । विशेष, संरक्षित वा स्वायत्त क्षेत्र लगायतका अधिकार कार्यान्वयनका लागि तत्काल कानुन बनाएर जान सक्ने अवस्थामा वर्तमान सरकार नभएको उहाँको भनाइ छ । 

आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिबासी जनजातिको लागि संवैधानिक व्यवस्था गरिएको तर कार्यान्वयनमा नआएको विषय संविधानको धारा ५६ को उपधारा ५ बमोजिम सांस्कृतिक संरक्षण वा आर्थिक विकासको लागि विशेष स्वायत्त वा संरक्षित क्षेत्रसम्बन्धी ज्ञान सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

उहाँले आदिबासी जनजाति समुदायको संवैधानिक हक अधिकार कार्यान्वयन गर्नु गराउनु सबैको दायित्व रहेको भन्नुहुँदै संविधानमा लेखिएको हक अधिकार उपभोगको लागि सम्बन्धित समुदायले अपेक्षा समेत गरेको भनाइ राख्नुभयो ।

कार्यक्रममा विज्ञहरु डा. मुक्त सिंह लामाले ‘स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको निर्माण’, मिलन श्रेष्ठले ‘नेपालको सङ्घीय प्रणालीमा विशेष, संरक्षित र स्वायत्त क्षेत्रसम्बन्धी व्यवस्था सम्भावना, चुनौती र अवसरहरु’, परशुराम तामाङले ‘नेपालका आदिबासी जनजातिको विशेष, संरक्षित वा स्वायत्त क्षेत्रसम्बन्धी संवैधानिक व्यवस्थाको कार्यान्वयन’, डा कृष्ण राज सर्वहारीले ‘थारू समुदायको विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सवाल’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।