पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, मङ्सिर २८ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनी योजना कार्यालयमा आइतबारदेखि सम्पूर्ण कामकारबाही ठप्प पारिएको छ ।
कार्यालयका प्रमुख (योजना प्रमुख) महेन्द्र थापामाथि दुर्व्यवहार गर्ने व्यक्तिहरूलाई प्रहरी प्रशासनले आठ हप्ता बितिसक्दा पनि पक्राउ गर्न नसकेको भन्दै कर्मचारीहरूले सुरक्षाको प्रत्याभूति नभएसम्म काम रोकेको जनाएका छन् ।
राष्ट्रिय आवास कम्पनी, सङ्घीय सरकारअन्तर्गत सहरी विकास मन्त्रालय मातहतको नेपाल सरकारको स्वामित्वमा रहेको कार्यालय हो ।
प्रमुखमाथि कालोमोसो र भ्रष्टाचारको आरोप
कार्यालय प्रमुख महेन्द्र थापामाथि गत मङ्सिर २१ गते नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट ‘कम्युनिष्ट युवा सङ्गठन’ का कार्यकर्ताले कालोमोसो दलेका थिए । नेकपा (बहुमत) ले जारी गरेको विज्ञप्तिमा थापाले राष्ट्रिय आवास कम्पनीको जग्गा बिक्रीमा मिलोमतो गरी भ्रष्टाचार गरेको लगायत विभिन्न ६ वटा आरोप लगाएको थियो ।
थापामाथि चिसापानीमा स्थानीयले संरक्षण गरेको जग्गा व्यक्तिगत कम्पनीलाई बिक्री गरेको, आफ्ना परिवारका सदस्यहरूलाई केन्द्रीय कार्यालयमा जागिर खुवाएको, जग्गा बिक्रीको अभिलेख नराखी करोडौं रुपियाँ भ्रष्टाचार गरेको र जग्गा बिक्री गर्दा स्थानीयसँग घुस मागेको आरोप लगाएको थियो ।
आरोप निराधार रहेको थापाको दाबी
कार्यालय प्रमुख थापाले आफूमाथि लगाइएका सबै आरोप निराधार रहेको दाबी गर्नुभएको छ । उहाँका अनुसार चिसापानीको जग्गा विवादमा सर्वोच्च अदालतको परमादेशअनुसार नै व्यक्तिको नाममा गएको हो । साथै, उहाँले आफूले कुनै पनि स्थानीयसँग आर्थिक रकम नलिएको र थर मिलेका आधारमा मात्र आफन्त भएको आरोप लगाइएको स्पष्ट पार्नुभएको छ ।
जनसेवा ठप्प, सुरक्षाको माग
कर्मचारीहरूले प्रमुखमाथि लगाइएका आरोपहरू निराधार रहेको जनाउँदै प्रहरी प्रशासन समक्ष दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिन माग गरेका छन् ।
हाल कार्यालयमा काम ठप्प हुँदा स्थानीय तहबाट सिफारिस भई आएका कागजातका आधारमा मालपोत कार्यालयलाई गरिने सिफारिस लगायतका अत्यावश्यक कामहरू रोकिएका छन् । शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म आन्दोलन जारी रहने कार्यालयले जानकारी दिएको छ ।