• १३ साउन २०८१, आइतबार

जुरोपानी सबस्टेसन सञ्चालन

blog

काठमाडौँ, चैत २८ गते । झापाको गौरादह नगरपालिका–७, ग्वालडुब्बा, जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि झापाको गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मका विद्युत् उपभोक्ताहरूले सामना गरिरहेको न्यून भोल्टेजको समस्या समाधान हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

६/८ एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडित जुरोपानी सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका पाँचवटा फिडर लाइन निकालिएको छ । सबस्टेसनबाट ११ केभीका गौरादह, महारानी, बैगुनधुरा र गौरीगञ्ज फिडर निकालिएको छ भने थप एउटा जगेडामा राखिएको छ । 

सबस्टेसनलाई आइतबार विद्युत् आपूर्ति दिई सञ्चालनमा  ल्याइएको छ । पहिलो चरणमा महारानी फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी फिडर क्रमशः सञ्चालनमा ल्याइनेछ । हाल गौरादह, जुरोपानी, महारानी, गौरीगञ्जलगायतका क्षेत्रमा पाडाजुगी (दमक) १३२ केभी सबस्टेसनबाट ११ केभी वितरण लाइनमार्फत विद्युत् आपूर्ति दिइएको थियो । ११ केभी वितरण लाइन ज्यादै लामो हुँदा त्यस क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतका समस्या थियो । जुरोपानी सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि उपभोक्ताले अहिले बेहोरिरहेको समस्या समाधान भई विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय भएको छ । त्यस क्षेत्रका कृषकले विद्युतीय मोटरबाट पानी तानी खेतमा सिँचाइ गर्दै आएका छन् । पहिले २८० भोल्ट लाइन आउने गरेकोमा नयाँ सबस्टेसनबाट आपूर्ति दिन थालेपछि चार सय भोल्ट लाइन प्रवाह भई त्यस क्षेत्रमा कुटानी–पिसानी मिलका उपकरण, पानी तान्ने पम्पलगायतले राम्रोसँग काम गर्न थालेको परीक्षण, सञ्चालन र चार्जिङमा संलग्न आयोजनाका सहायक इन्जिनियर दुर्गादत्त सुवेदीले बताउनुभयो ।