• १३ साउन २०८१, आइतबार

सहकारी महासम्मेलन सम्पन्न

सहकारीको पुँजीलाई उत्पादन र बजारीकरणमा लगानी गरिने

blog

काठमाडौँ, चैत २६ गते । सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणसहित विभिन्न प्रतिबद्धता व्यक्त गर्दै सहकारी महासम्मेलन शनिबार सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा बिहीबारदेखि चलेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

घोषणापत्रमा सहकारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने उल्लेख गर्दै वातावरणमैत्री कृषि उत्पादनमा वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सार्वजनिक निजी र सहकारी साझेदारी मोडेललाई अगाडि बढाइने उल्लेख छ । नवीन सोच र सिर्जनात्मकताका आधारमा सहकारीमार्फत कृषि पर्यटन, जलस्रोत, स्वास्थ्य, शिक्षा, उद्योगलगायतका क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिबद्धता महासम्मेलनले गरेको छ ।

यस्तै विशिष्टीकृत सहकारी सङ्घमार्फत बृहत् र विशिष्ट उत्पादनको विकास, कृषि र पशुजन्य क्षेत्रको प्रवद्र्धन एवं ठूला कृषि फार्मको स्थापना, कृषिजन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति शृङ्खला विकास गरी सहकारीको ब्रान्ड प्रवद्र्धन गर्ने जारी घोषणापत्रमा उल्लेख छ ।

सदस्यको बचतको सुरक्षाका लागि सहकारी क्षेत्रमा विश्वास अभिवृद्धि गर्न राष्ट्रव्यापी रूपमा जागरण अभियान सञ्चालन गर्न, सहकारी क्षेत्रको दिगोपनका लागि कानुनले परिकल्पना गरेका प्रवद्र्धनात्मक व्यवस्था कार्यान्वयनका लागि आवश्यक पहलकदमी गर्न र अर्थतन्त्रमा देखा परेका समस्याका कारण सहकारी क्षेत्रमा सिर्जना भएको तरलता सङ्कुचनको समस्या समाधानार्थ तीनै तहका सरकारका तर्फबाट सम्बोधन गर्न सामूहिक रूपमा बहस पैरवीका लागि पहल गरिने घोषणापत्रमा उल्लेख छ ।

साथै सहकारीको स्वस्थ एवं प्रतिस्प्रर्धात्मक क्षमता अभिवृद्धिका लागि एकीकरणलाई अभियानका रूपमा सञ्चालन गर्नुका साथै नवप्रविधिलाई आत्मसात् गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न महासम्मेलनले प्रतिबद्धता जनाएको छ । 

सरकार मातहत रहेका कोषहरू सहकारी बैङ्कमार्फत सहुलियतपूर्ण रूपमा लगानी गर्न तथा उच्चतम प्रविधि अपनाउन सामूहिक पहलकदमी गर्ने घोषणापत्रमा उल्लेख छ ।

अर्थतन्त्र जोगाउने सहकारी

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र अप्ठ्यारो परेका बेला त्यसलाई जोगाउने काम सहकारीले गरेको बताउनुुभएको छ ।

सहकारी महासम्मेलनको समापनमा बोल्दै अध्यक्ष ओलीले सहकारी सञ्चालन गर्न नजान्दा पनि समस्या आएको भन्दै भन्नुभयो, “अहिले सहकारी जति बदनाम भएको छ, अब बदनाम हुन नपाओस् । कृषि क्षेत्रमा बढी जनसङ्ख्या आश्रित भए पनि जमिनको अभाव भएकाले परम्परागत खेती गर्दा कृषि उत्पादनमा मुलुक आत्मनिर्भर हुन नसकेको हो ।”

सहकारी विभागका रजिस्ट्रार नवराज घिमिरेले सहकारीको ऋण तिर्न पर्दैन भन्दै अफवाह फैलाउनेलाई कानुनी कठघरामा ल्याइने बताउनुुभयो । सहकारी ऐन नियममा भएका व्यवस्थालाई कार्यान्वयन गरी सहकारीलाई व्यवस्थित गर्न विभाग तयार रहेको प्रतिबद्धता उहाँले जनाउनुभयो ।

सहकारी खतराको डिलमा नपरेको भन्दै विश्वासलाई डगमगाउन नदिनका लागि सहकारी अभियन्तालाई सचेत भएर लाग्न उहाँको आग्रह थियो । सहकारी ऐन नियम परिवर्तन गरेर भए पनि संस्थागत संरचना निर्माण पहल गर्र्ने घिमिरेले बताउनुभयो ।