चन्द्र पन्दाक
ताप्लेजुङ, पुस ६ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित शान्ति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
हर्कमान दिलमाया शङ्खर स्मृति प्रतिष्ठानले उक्त विद्यालयमा अध्ययनरत उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
प्रतिष्ठानले पाँचौ स्मृति दिवसको अवसरमा शनिबार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । प्रतिष्ठानका संरक्षक गङ्गाराम शङ्खरका अनुसार उक्त विद्यालयमा अध्ययनरत जेहेन्दार तथा उत्कृष्ट विद्यार्थी अर्थात प्रत्येक कक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
शान्ति आधारभूत विद्यालयमा प्रतिष्ठानले स्थापना गरेको एक लाख रुपियाँको अक्षयकोषको ब्याजबाट जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको शङ्खरले बताउनुभयो । उहाँका अनुसार फुङ्लिङ नगरपालिका–२ का वडाध्यक्ष मोहन न्यौपाने, विद्यालयका प्रधानाध्यापक खगेन्द्रकुमार कार्की लगायतको उपस्थितिमा आयोजित कार्यक्रमबिच शैक्षिक सामग्री वितरण गरिएको छ ।
प्रतिष्ठानका संरक्षक शङ्खरका पिता (बाबु) स्वर्गीय हर्कबहादुर शङ्खर, आमा दिलमाया र श्रीमती दिलमाया शङ्खरको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा अक्षयकोष स्थापना गरेपछि ब्याज रकमले प्रत्येक वर्ष सो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कापी, कलम, झोला लगायतका शैक्षिक सामग्री वितरण गर्दै आएको प्रतिष्ठानले जनाएको छ ।