म्याग्दी, चैत २४ गते । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई वितरण गरिने पाठ्यपुस्तक जिल्लामा पुगेको छ ।
पुस्तक व्यवसायीहरूले शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्र्याएर विद्यालयहरूलाई वितरण गर्न थालेका हुन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ म्याग्दीका अध्यक्ष नारायण शर्माले पोखरास्थित जनक शिक्षा सामग्री केन्द्रबाट आवश्यक पुस्तक खरिद गरी बेनी ल्याइसकेको जानकारी दिनुभयो ।
“विगत १० वर्षदेखि म्याग्दीका पुस्तक व्यवसायीहरूले बेनीमा सामूहिक रूपमा बिक्री कक्ष स्थापना गरेर विद्यालयमा पुस्तक पु¥याउन गरेको अभ्यासलाई यसपालि पनि निरन्तरता दिएका छाँै,” उहाँले भन्नुभयो, “नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुनुअघि नै यही महिनाभित्र सबै विद्यालयमा पुस्तक पु¥याउने लक्ष्यसहित बिक्री कक्ष सञ्चालन गरेका छौँ ।”
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका विद्यालयहरूलाई प्राथमिकता दिएर जिल्ला शिक्षा विकास तथा समन्वय इकाइको तथ्याङ्कअनुसार पुस्तक प्याकिङ गरेर पालिकाको केन्द्रमा रहेका पुस्तक पसलसम्म ढुवानीको व्यवस्था मिलाएको पनि शर्माले बताउनुभयो । आजदेखि पुस्तक विद्यालयमा पठाउन सुरु गर्ने उहाँले बताउनुभयो ।
महासङ्घमा आबद्ध २८ जना पुस्तक व्यवसायीहरूले संयुक्त रूपमा बिक्री कक्ष सञ्चालन गरेका हुन् । महासङ्घमा आबद्ध नभएका पुस्तक व्यवसायी भीमबहादुर श्रेष्ठले पनि माग अनुसारका पुस्तक भित्र्याएर वितरण गर्न थालिसकेको बताउनुभयो ।
म्याग्दीका सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्म १७ हजार ३३६ सेट पुस्तक आवश्यक पर्छ । निजी विद्यालयहरूमा करिब छ हजार विद्यार्थी छन् । बालकक्षामा एक हजार ९०६, कक्षा १ मा एक हजार ४६४, कक्षा २ मा एक हजार ३४५, कक्षा ३ को एक हजार ४०२ र कक्षा ४ को एक हजार ४६६ जना विद्यार्थीलाई लक्षित गरेर पुस्तक ल्याएको महासंघका सचिव धु्रवराज सुवेदीले बताउनुभयो ।
कक्षा ५ मा एक हजार ५२७, कक्षा छ मा एक हजार ६१०, कक्षा ७ मा एक हजार ६०१, कक्षा ८ मा एक हजार ७०६, कक्षा ९ मा एक हजार ७३२ र कक्षा १० मा एक हजार ४९७ विद्यार्थी रहेका छन् । उक्त सङ्ख्याका विद्यार्थीका लागि यस वर्ष १३ हजार २४५ थान पुस्तक म्याग्दी आइपुगेका छन्।
गत वर्षको मौज्दात रहेको पुस्तक पनि रहेकाले अभाव नहुने सचिव सुवेदीले बताउनुभयो । रासस