ओलीलाई राष्ट्रिय राजनीतिमा पुनस्र्थापित हुन भने महाधिवेशनमा प्रकट दुई धार र असन्तुष्ट नेताकार्यकर्ता पङ्क्तिलाई एकमतोमा ल्याउनुपर्ने तथा आगामी संसदीय निर्वाचनमा पार्टीशक्ति क्षय नभएको पुष्टि गर्नुपर्ने चुनौती छ ।
काठमाडौँ, पुस ६ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ महाधिवेशनले लोकतान्त्रिक पद्धति अवलम्बन गरेर नयाँ नेतृत्व पाइसकेको छ । तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित केपी शर्मा ओली जेनजी आन्दोलनपछि पनि पुनः एमालेको नेतृत्वमा आवश्यक रहेको पुष्टि यो महाधिवेशनले गरेको छ ।
देशभरका करिब ७५ प्रतिशत प्रतिनिधिले ओलीलाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेसँगै विघटित प्रतिनिधि सभामा दोस्रो ठुलो दल एमालेले अरू राजनीतिक दललाई पनि नेतृत्व रक्षाको सन्देश दिएको अधिवक्ता एवं राजनीतिक विश्लेषक प्रदीप सापकोटा बताउनुहुन्छ । पार्टी जीवनमा प्रतिनिधिले पुनः जिम्मेवारी सुम्पिएका ओलीलाई राष्ट्रिय राजनीतिमा पुनस्र्थापित हुन भने महाधिवेशनमा प्रकट दुई धार र असन्तुष्ट नेताकार्यकर्ता पङ्क्तिलाई एकमतोमा ल्याउनुपर्ने तथा आगामी संसदीय निर्वाचनमा पार्टी शक्ति क्षय नभएको पुष्टि गर्नुपर्ने चुनौती छ ।
जेनजी आन्दोलनपछिको विकसित घटना क्रमसँगै सरकारले प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेर त्यसको गृहकार्य गरिरहेको र आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटना, परिघटनाबिच चुनौतीको चाङमा एमालेको नेतृत्व रहेको सापकोटाले उल्लेख गर्नुभयो । त्यसका लागि सबै नेताकार्यकर्तालाई उचित जिम्मेवारी दिने ऐतिहसिक जिम्मेवारी एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको काँधमा आएको छ ।
ओली पुनः नेतृत्वमा आएसँगै पार्टीलाई कता लैजाने हुन् र राष्ट्रिय राजनीति के हुने हो भन्ने कौतुहल सिर्जना हुनु स्वाभाविक हुने समाजशास्त्री विदुर तिमल्सिना बताउनुहुन्छ । लामो समय सत्ता नेतृत्व गर्नुभएका ओलीप्रति पार्टीबाहिर विरोधीहरूको स्वर उच्च भएकाले त्यसको प्रतिवादका लागि पनि पार्टीभित्रको आन्तरिक सङ्गठन बलियो बनाउनुपर्ने आवश्यकता रहेको तिमल्सिना ठान्नुहुन्छ । त्यसका लागि पार्टीभित्रका पराजित नेताहरूलाई उचित जिम्मेवारी प्रदान गर्नु आवश्यक रहेको उहाँको सुझाव छ ।
ओली पार्टीभित्रको जनमतको नेता बने पनि समग्र मुलुकको नेता प्रमाणित हुन धेरै चुनौतीलाई सामना गर्नुपर्ने देखिन्छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्रप्रति ओलीले चुनाव गराएर आफू अनुमोदित हुँदा पार्टीबाहिर ओलीका लागि चुनौतीका पर्खाल नै छन् । जेनजी आन्दोलनपछि राष्ट्रिय राजनीतिमा आएको फेरबदलले एमाले र त्यसको नेतृत्वमाथि निरन्तर प्रहार भइरहेको छ । भदौ २३ र २४ गतेको घटनापछि सबैभन्दा बढी निसानामा एमाले परेको छ । त्यसको प्रतिकार गर्न एमालेमा एकता नै सबैभन्दा ठुलो विषय हो । पुराना दलहरू काम लाग्दैनन् भन्ने भाष्य चिर्न पनि एमालेले योजना बनाउन आवश्यक देखिन्छ ।
वर्तमान सरकारले गठन गरेको जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगले ओलीलाई बयानमा बोलाउने भनिरहेको छ । ओलीले त्यो आयोगलाई बयान दिन अस्वीकार गरिरहनुभएको छ । आयोगले ओलीलाई धरपकड गरे एमाले नेताकार्यकर्ताले प्रतिकार गर्न खोजे परिस्थिति असामान्य बन्ने अवस्था पनि आउन सक्ने भएकाले एमालेले त्यस विषयबाट हुन सक्ने क्षतिको मूल्याङ्कन गर्न ढिला गर्न नहुने विश्लेषक तिमल्सिना बताउनुहुन्छ ।
प्रतिनिधि सभा पुनः स्थापनाको पक्षमा सुरुदेखि नै एमालेले नेतृत्व गरेको छ । यो मुद्दामा कांग्रेसलाई साथ लिएर जानुपर्ने बाध्यता एमालेलाई रहँदै आएको छ । प्रतिनिधि सभा पुनः स्थापना नभए सरकारले तयारी गरेको निर्वाचनमा एमाले सहभागी हुनै पर्ने तिमल्सिना सुझाउनुहुन्छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जिम्मा लिनुपर्ने नैतिक दबाब पनि ओलीमाथि परेको छ । महाधिवेशनको लाकतान्त्रिक प्रव्रिmयाबाट नेतृत्वमा आएका कारण सबैलाई मिलाएर चुनावमा जाने वातावरण तयार गर्नुपर्ने दायित्व पनि उहाँकै काँधमा छ । अध्यक्षमा पराजित ईश्वर पोखरेल, महासचिवमा पराजित सुरेन्द्र पाण्डेलगायतको जिम्मेवारीको विषय छ । प्यानल बनाएरै निर्वाचन भएकाले केन्द्रमा जिम्मेवारी बाँडफाँट नमिले जिल्ला तहमा पनि यसको असर देखिने भएकाले सङ्घीय संसद्को आगामी निर्वाचनसमेत प्रभावित हुन सक्छ ।
यसो त निर्वाचित भएलगत्तै र केन्द्रीय कमिटीको पहिलो बैठकलाई अध्यक्ष ओलीले पार्टीको ११ औँ महाधिवेशन भव्यता र हरेक कोणबाट सफल भएको दाबी गर्दै पार्टीभित्र अब कुनै गुट नरहेको बताउनुभएको छ । “हाम्रो एक आवाज हुनु पर्दछ, दोस्रो विधान महाधिवेशनले पास गरेको नीति अनुसार अगाडि बढ्ने छौँ । बेतालमा बेसुरमा होइन, हामी तालमा अगाडि बढ्ने छौँ”, अध्यक्ष ओलीले उल्लेख गर्नुभएको छ । पार्टी अनुशासनमा दृढ रहन आह्वान गर्नुभएका अध्यक्ष ओलीले पार्टी एक ढिक्का भएर अगाडि बढ्ने बताउनुभएको छ । एमालेमा नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा पार्टीले स्वीकार गरेको प्रक्रिया हो, यसैले हार र जित स्वाभाविक हो । पराजित उम्मेदवारहरूले पनि परिणामलाई सोही रूपमा स्वीकार गरेका छन् । अध्यक्ष पदमा पराजित ईश्वर पोखरेलले विजयी नयाँ नेतृत्वलाई बधाई दिँदै आफू हारे पनि पार्टीको अभियानमा रहिरहने प्रतिबद्धता जनाउनुभएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महाधिवेशनबाट निर्वाचित केपी शर्मा ओली नेतृत्वको कमिटीलाई बधाई दिँदै प्रतिस्पर्धाबाट नेतृत्व चयनले जनताको बहुदलीय जनवादलाई जीवन्त बनाएको भन्दै एकताको सन्देश दिनुभएको छ ।
महासचिव शङ्कर पोखरेल एमालेमा सक्षम नेतृत्व चयन भएको दाबी गर्नुहुन्छ । “नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशन पार्टीको गौरव वृद्धि गर्ने ऐतिहासिक महाधिवेशनका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ । महाधिवेशनका सन्देशहरूलाई अब पार्टी पङ्क्तिले आमजनताबिच पु¥याउनु पर्छ । विधान महाधिवेशनबाट पारित नीतिका आधारमा अघि बढ्न सक्षम नेतृत्व चयन गरिएको छ,” उहाँको भनाइ छ ।
महासचिव पोखरेलले सबै नेतालाई आवश्यकता अनुसारको जिम्मेवारी प्रदान गर्ने बताउँदै एमालेमा एकता रहेको दाबी गर्नुहुन्छ । महासचिवमा पराजित सुरेन्द्र पाण्डेले पनि पार्टी जीवनमा सक्रिय बन्ने उद्घोष गर्नुभएको छ । विगतमा माओवादी धारबाट आएका वा एमाले छाडेर अर्को पार्टीमा लागी पुनः ‘घर फर्केका’ हरूलाई पनि महाधिवेशन प्रतिनिधिहरूले विजयी बनाएर एमालेको ‘ठुलो छाती’ सँगै एकताको स्पष्ट सन्देश दिएको देखिन्छ ।