गोरखापत्र समाचारदाता
ललितपुर, पुस ६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा राष्ट्रिय र राजनीतिक सहमति भए कम लागतमै ई–भोटिङ व्यवस्था गर्न सकिने विचार व्यक्त गर्नुभएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले शनिबार ललितपुरमा आयोजना गरेको ‘क्यान बिटुबी समिट, २०२५’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले सूचना प्रविधिको माध्यमबाट कम खर्चमै मतदान गर्ने व्यवस्था मिलाउन दबाब दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
सञ्चारमन्त्री खरेलले भन्नुभयो, “सूचना प्रविधिको युगमा पनि अर्बौं रकम खर्च गरेर मतपत्र छापेर मतदान गराएर नाम्लो लगाएर दुई दिन बोकेर ल्याउनुपर्ने बाध्यता छ, सूचना प्रविधिको माध्यमबाट कम खर्चमै मतदान गर्ने व्यवस्था मिलाउन दबाब दिनुपर्ने अवस्था छ ।” मन्त्री खरेलले डिजिटल रूपान्तरणको युगमा सरकार प्रविधिमैत्री भएर अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको भावना अनुसार सरकारले सुशासन कायम र फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने गरी सबैखाले तयारी गरिएको जानकारी दिनुभयो ।
सञ्चारमन्त्री खरेलले भन्नुभयो, “पहिला पहिला मेरो गाउँमा बाटो चाहियो भनेर माग हुन्थ्यो तर अहिले डिजिटल मार्गका लागि माग बढ्दो अवस्था छ, मन्त्रालयमा फाइलको चाङ लागिरहेको छ । यस अवधिमा सूचना प्रविधिको क्षेत्रमा नीतिगत व्यवस्था र संरचनागत सुधारमा मेहनतसाथ काम गर्ने छौँ ।”
उहाँले आगामी निर्वाचनमा राम्रो मान्छेलाई राजनीतिमा ल्याउन क्यान महासङ्घले पनि ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उद्यम गरिरहेका देशभरका प्रतिनिधिबिच व्यावसायिक रणनीति बनाउन, व्यवसायसम्बन्धी जिज्ञासा मेट्न, सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यापार वृद्धि गरी देशको अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यले समिट आयोजना गरिएको क्यान महासङ्घले जनाएको छ ।
‘नेपाल डिजिटल मार्गमा अघि बढ्दै’
यसैगरी मन्त्री खरेलले नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेको बताउनुभएको छ ।
द स्टार्टअप नेटवर्क नेपाल र इन्डिया नेपाल सेन्टरको संयुक्त आयोजनामा शनिबार ललितपुरमा आयोजित ‘स्टार्टअप समिट–२०२५’ लाई सम्बोधन गर्नुहुँदै मन्त्री खरेलले सरकार गठन भएको तीन महिनाभित्रै सरकारले एआई नीति पारित गरेको जानकारी गराउँदै डिजिटल नेपालको नीतिगत व्यवस्थाका लागि तयारी गरिरहेका छौँ भन्नुभयो ।
सञ्चारमन्त्री खरेलले भन्नुभयो, “सूचना प्रविधिको विकासका साथै डिजिटल नेपाल निर्माणका लागि युवा पुस्तासँगै अगाडि बढ्नु पर्छ । नवप्रवर्तन, स्टार्टअप, उद्यमशीलता र सूचना प्रविधिको क्षेत्रमा सरकारसँग मिलेर कसरी काम गर्न चाहानुहुन्छ, प्रस्ताव लिएर आउनूस्, सहकार्यमा काम गर्न, अवसरको सिर्जना गर्न हामी तत्पर छौँ, म पनि युवा मन्त्री हुँ, अबको तीन महिनामा तपाईंहरूको अपेक्षा अनुसार काम गर्छु ।”
मन्त्री खरेलले सूचना प्रविधि, एआई र डिजिटल मार्गमा सरकारले ध्यान दिएर काम गर्न चाहेको बताउँदै युवाको आवश्यकता नीतिगत रूपमै समेट्ने व्यवस्था गरिने विश्वास व्यक्त गर्नुभयो । “राज्यले जेनजी आन्दोलनलाई जनआन्दोलनका रूपमा स्वीकार गरेको छ, नेपालमा जेनजीहरूको राजनीतिक चेतना धेरै विकास भइसकेको छ तसर्थ हामी परिवर्तन गर्न सक्छौँ”, उहाँले भन्नुभयो ।
मन्त्री खरेलले फागुन २१ गते हुने निर्वाचनमा सूचना प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्न पाए उचित हुने भए पनि सबै राजनीतिक दलबिच सहमति हुन नसक्दा सम्भव हुन नसकेको बताउनुभयो । उहाँले फागुन २१ को निर्वाचन सही नेतृत्व चयन गर्ने अत्यन्तै उपयुक्त अवसर हो भन्दै राम्रो नेता तयार गरेर पठाउन आग्रह गर्नुभयो ।“अब युवा नेतृत्व आउनु पर्छ, युवाले काम गर्ने हो, राजनीतिक परिवर्तनका लागि समय आउँदै छ, हामी आशावादी हुनै पर्छ,” उहाँले भन्नुभयो ।
नेपालका लागि भारतीय पूर्वराजदूत एवं इन्डिया नेपाल सेन्टरका अध्यक्ष मञ्जीवसिंह पुरीले प्रविधिले संसारलाई परिवर्तन गरिरहेको बताउँदै परिवर्तित समय अनुकूल काम गर्नका लागि युवा दिमागलाई सही सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्टार्टअप मात्रै नभएर साना व्यवसायहरू पनि भविष्यको बलियो आर्थिक हिस्सा बनिरहेको बताउनुभयो ।