• २७ चैत २०८२, शुक्रबार

विश्वविद्यालमा पुनरसंरचना हुँदैछ : उपकुलपति अर्याल

blog

घोडाघोडी बहुमुखी क्याम्पसको भवन उद्घाटन कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै त्रिविका उपकुलपति प्राडा. दीपक अर्याल । तस्बिरः चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), चैत २७ गते । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. दीपक अर्यालले विश्वविद्यालय अहिले पुनरसंरचनामा गइरहकोको बताउनुभएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा-१, सुखडस्थित घोडाघोडी बहुमुखी क्याम्पसको भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विश्वविद्यालय अन्तर्गतका क्याम्पसबाट नै धेरै कामकाज हुनेगरी व्यवस्था मिलाइएको बताउनुभयो ।

“भर्खर हामीले गण्डकी प्रदेशलाई छुट्टै त्रिभुवन विश्वविद्यालयको सबै क्याम्पस र त्यहा रहेका सबै कार्यक्रमहरु त्यही सक्नेगरी लगभग निर्णय गरिसकेका छौं, प्रक्रिया अगाडि बढिरहेको छ, त्यही प्रक्रिया सुदूरपश्चिममा पनि लागु हुने छ ।” उहाँले भन्नुभयो, “क्याम्पसहरूले आफ्नो परीक्षा केन्द्र आफै तोक्ने, आफ्नो रिजल्ट आफै गर्ने, परीक्षाको कपी परीक्षण गर्ने कार्यको सुरुवात गरिसकेका छौं ।”

उहाँले केही समयपछि देशमा रहेका सबै विश्वविद्यालय एकै ठाउँमा आउन सक्ने उल्लेख गर्दै एउटै काम र उद्देश्यका लागि यो र त्यो भनी विश्वविद्यालय छुटिन नहुने बताउनुभयो । घोडाघोडी बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउने सवालमा सुदूरपश्चिम विश्वविद्यालयमा गए पनि, त्रिभुवन विश्वविद्यालयमा गए पनि केही फरक नपर्ने उहाँको भनाइ छ । 

त्रिविले नयाँ कार्यक्रम सम्वन्धन दिन कन्जुस्याई गरेको क्याम्पसको गुनासोप्रति उहाँले सम्वन्धन माग भएका क्याम्पसको केही दिनभित्र अनुगमन गरिने बताउनुभयोे । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा.देवराज अधिकारीले गुणस्तर प्रत्यायन प्रमाणपत्र (क्युएए) प्राप्त स्थापित क्याम्पसलाई त्रिविले नयाँ कार्यक्रम दिनुपर्ने बताउनुभयो ।  

अध्यक्ष अधिकारीले समय सान्दर्भिक राम्रा कार्यक्रमले विद्यार्थीको आकर्षण बढ्न सक्ने उल्लेख गर्दै नयाँ कार्यक्रमले स्थापित क्याम्पसलाई अगाडि बढाउन सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “क्याम्पसलाई सम्वन्धन दिने विश्विविद्यालय हो । त्रिविले सम्बन्धन दिने कुरामा हैसियत हेरेर सहज किसिमले दिनुपर्छ ।”

उक्त कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. हेमराज पन्त, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. धुब्रकुमार गौतमले समेत मन्तव्य राख्नुभएकोे थियो । विश्वविद्यालय अनुदान अयोगको सहयोगमा नवनिर्मित शैक्षिक भवन र परीक्षा हलको अध्यक्ष अधिकारी र उपकुलपति अर्यालले रिबन काटेर समुद्घाटन गर्नुभयो । कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले क्याम्पसको समग्र शैक्षिक अवस्था र त्रिभुवन विश्वविद्यालयले गर्ने व्यवहारका विषयमा जानकारी गराउनुभयो । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्युरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समयमै शैक्षिक भवन निर्माण सम्पन्न गर्ने निर्माण कम्पनिका सञ्चालक दीपक पनाडीलाई नगद पचास हजार रुपियाँ र दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरिएको छ ।