शेरबहादुर सार्की
बाजुरा, चैत २७ गते । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णाली पारीको स्वामिकार्तिक खापर गाउँपालिमा फेरीकै भरमा सवारी साधन चल्ने गरेका छन् । स्वामिकार्तिक खापर गाउँपालिका र जगनाथको बिचमा पर्ने कर्णाली नदीमा पक्की पुल नभएको कारण यहाँका सवारी साधन फेरीकै भरमा चल्ने गरेका हुन् ।
स्वामिकार्तिक खापर गाउँपालिका –२ का स्थानीय विरभाने विकले भन्नुभयो, “हामीले कर्णाली नदीमा झोलुङ्गे साहारले वारपार गर्नुपर्छ । यहाँ एक झोलुङ्गे पुल मात्र छ । पक्की पुल छैन् । पक्की पुल नहुँदा यहाँ चल्ने गरेका सवारी साधान कर्णाली नदीमा राखेको फेरीकै भरमा चल्ने गरेका छन् ।”
उहाँले भन्नभुयो, “ कर्णाली नदीमा पक्की पुलको माग गरेको भए पनि हाम्रो त्यो माग अहिलेसम्म पूरा भएको छैन् ।” फेरीकै भरमा हिउँदको महिना हामीले यातायातको सुविधा लिने गरेको भए पनि वर्खाको समय फेरी कर्णाली नदीमा रोकिने गरेकोले त्यतिबेला यहाँका स्थानीयलाई पनि पुरानै अवस्था हुने गरेको बिकले बताउनुभयो ।
स्वामिकार्तिक खापर गाउँपालिका कर्णाली नदी पारीको पालिका हो । यहाँको जगनाथ गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाको बिचमा कर्णाली नदी छ । कर्णाली नदीमा लामो समयदेखि पक्की पुल नहुँदा यहाँको स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानीय वर्खाको समय यातायताको सुविधाबाट वञ्चित हुनेगरेका छन् ।
उसो त स्वामिकार्तिक खापर गाउँपालिका सबै वडामा पछिल्लो समय सडक सञ्जालको पहुँचमा रहेका छन् । त्यो सडकमा हिउँदको महिना गाडी चल्ने गर्छन् । वर्खाको समयमा गाडी पीलिचौरमा रोकिने गरेका छन् । वर्खाको समय कर्णाली नदीमा पानीको बहाव धेरै हुने भएकाले त्यो डरले फेरी बन्द हुन्छ । फेरी चल्न बन्द भएपछि गाडी बन्द हुने गरेको हुन् ।
स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले कर्णाली नदीमा पक्की पुल नहुँदा स्वामिकार्तिक खापर गाउँपालिकामा चल्ने सवारी साधान फेरीकै भरमा चलाउनुपरेको बताउनुभयो । उहाँले भन्नभयो, “हामीले कर्णाली नदीमा पक्की पुल निर्माणका लागि धेरै ठाउँमा पहल गरेका छौं । त्यो प्रयास अहिले पनि जारी छ ।”
कर्णाली नदीमा पक्की पुल निर्माण हुने हो भने यहाँका गाउँबस्तीमा हिउँद वर्खाकै समयमा पनि गाडी सुचारु हुने रोकायाले बताउनभुयो ।