• १३ साउन २०८१, आइतबार

सामाजिक सुरक्षा योजनामा चार म्यानपावर कम्पनी

blog

काठमाडौँ, चैत २४ गते ।  योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा चारवटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी आबद्ध भएका छन् । 

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने र विदेशमा स्वरोजगारलाई आबद्ध गराउन थालेलगत्तै श्रमिक पठाउने प्रक्रिया काम गर्ने निजी संस्थाका कर्मचारीलाई योजनामा आबद्ध हुन निर्देशन दिएपछि चारवटा म्यानपावर कम्पनी कोषको योजनामा आबद्ध भएका हुुन् । विभागले गत साता मात्रै वैदेशिक रोजगारीको भर्ना प्रक्रियासँग जोडिएका एक हजार २७६ निजी संस्थामा कार्यरत कर्मचारीलाई कोषको योजनामा आबद्ध गर्न निर्देशन दिइएको थियो । 

विभागले सूचनामार्फत विदेश जाने श्रमिकको छनोट, भर्ना, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, बिमा तथा बैङ्कलगायतको सेवा दिइरहेका निजी संस्थामा कार्यरत कर्मचारीलाई कोषको योजनामा आबद्ध गराउन निर्देशन दिएको छ । 

विभागका महानिर्देशक उमाकान्त आचार्यले वैदेशिक रोजगारीको प्रक्रियामा काम गरिरहेका सबै संस्था वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत काम गर्ने संस्थाका कर्मचारीलाई कोषमा योजनामा जोड्न सूचना गरिएको बताउनुुभयो । 

वैदेशिक रोजगारीको प्रक्रियामा काम गर्ने संस्थालाई कोषको योजनामा आबद्ध गर्न सकेमा यस क्षेत्रका बेथिति र अनियमिततामा धेरै कमी आउने उहाँले विश्वास व्यक्त गर्नुुभयो । विभागका अनुसार यसअघि म्यानपावर कम्पनीमा अनुगमन गर्दा विभागमा नाम दर्ता गराएका कर्मचारीको नामभन्दा फरक नाम भएका व्यक्तिले म्यानपावरको कार्यालयमा काम गरिरहेको भेटिएको छ । 

कतिपय म्यानपावर कार्यालयमा काम गर्न राखिएका कर्मचारी र विभागमा दर्ता गराइएका कर्मचारी नाम थर फरक राख्ने गरेका कारण कारबाही गर्ने बेलामा कानुनी समस्या आउने गरेको छ । विभागका महानिर्देशक आचार्यले म्यानपावरमा कार्यरत कर्मचारीलाई कोषको योजनामा आबद्ध गरियो भने वैदेशिक रोजगारीमा नाम थर फरक राखेर गर्ने ठगी हट्ने बताउनुभयो । त्यसो त चालु आर्थिक वर्षमा व्यक्तिगत ठगीका घटना दोब्बर वृद्धि भएको विभागको मुद्दा तथा अनुसन्धान शाखाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । हाल विभाग तथा बोर्डमा दर्ता भई वैदेशिक रोजगार जाने प्रक्रियाका काम गर्ने संस्थागत वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी ८७८ वटा, अभिमुखीकरण तथा तालिम दिने संस्था १४३ वटा, विदेश जानेको स्वास्थ्य परीक्षण गर्ने संस्था २२२ वटा, बैङ्क १८ वटा र बिमा कम्पनी १५ वटा गरी कुल एक हजार २७६ वटा रहेका छन् । 

सामाजिक सुरक्षा योजनामा सामेल भएपछि निजी संस्थामा काम गर्ने वास्तविक कर्मचारी पहिचान हुने र काम प्रक्रियागत रूपमा सञ्चालन हुने विभागको अनुमान छ । विभागले सार्वजनिक गरेको सूचनामा कोषमा विभिन्न क्षेत्रमा कार्यरत श्रमिक आबद्ध भइरहेको सन्दर्भमा वैदेशिक रोजगार चक्रमा संलग्न हुने संस्थाका कर्मचारीलाई समेत आबद्ध गराउन भनिएको छ ।