जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर, त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर । प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता, छल्किन्छ ममता मेरो भावगङ्गा जता तता ।।
दैलेखमा जन्मिनुभएका फोटो पत्रकार भरतबन्धु थापा कुनै बेला भक्तपुरको वासु उच्च मावि गणितका शिक्षक हुनुहुन्थ्यो तर २०५० सालमा जब उहाँको हातमा क्यामरा प¥यो त्यसपछि उहाँको जीवन नै बदलियो । फोटो पत्रकारिताको धेरै नै रुचि राख्नुहुने उहाँले क्यामरालाई छाड्न सक्नुभएन र शिक्षक पेसा छाड्नुभयो । उहाँको तस्बिरप्रतिको लगाबका कारण उहाँ ७७ वटै जिल्ला घुमिसक्नुभएको छ । उहाँ जिल्ला घुम्नुहुन्छ र त्यहाँका कला, संस्कृति, इतिहास, दृश्य, प्राकृतिक सुन्दरता, वाइल्ड लाइफसम्मका दृश्यलाई आफ्नो क्यामरामा कैद गर्नुहुन्छ । यो पेसाले नेपाल चिन्ने र चिनाउने मौका बढी पाइने थापा बताउनुहुन्छ ।
चलचित्र ‘तेरी बातों में ऐसा उल्झा जिया’ प्रेमकथामा आधारित भए पनि यसभित्र एआई प्रविधिलाई अनौठो शैलीमा देखाइएको छ । चलचित्रले रोबोट र मानिसबिचको भावनात्मक सम्बन्धलाई चित्रण गर्छ । अमित जोशी र आराधना शाहले निर्देशन गर्नुभएको चलचित्रमा लामो समयको अन्तरालपछि कलाकार शाहिद कपुर मायाप्रेम र हास्यप्रधान भूमिकामा देखिनुभएको छ भने कृति सेनन एआई रोबोटको भूमिकामा हुनुहुन्छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले बजेट अभावका कारण प्रतिष्ठानले सोचे जस्तो काम गर्न नसकेको बताउनुभएको छ ।नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको एकवर्षे कार्यप्रगति सार्वजनिक गर्ने क्रममा उहाँले बजेट अभावले गर्दा सिर्जनात्मक र रचनात्मक काम गर्न नसकिएको बताउनुभयो । चालु आर्थिक वर्षको अवस्थालाई हेरेर आगामी वर्षका लागि १८ करोडभन्दा बढीको कार्ययोजना पेस गरिएको र आवश्यक बजेट विनियोजन भए सङ्गीत र नाट्य प्रज्ञा–प्रतिष्ठानलाई चलायमान बनाउन सकिने उहाँको भनाइ छ ।
नेपाल जातीय, भाषिक तथा सांस्कृतिक विविधता मुलुक भएकाले विभिन्न समुदायका आआफ्नै कला, संस्कृति, मूल्यमान्यता र जीवनशैली छन् । जीवनयापनका क्रममा सबै जातजाति तथा समुदायका सामाजिक सङ्घर्ष र पीडाको आफ्नै कथा पनि छन् । तीमध्ये तामाङ समुदायले भोगेका पीडा र गरेका सङ्घर्षको कथा मासिन्या नाटकमा समेट्न खोजिएको छ । कवि राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतले विगत केही समयदेखि आआफ्नो समुदायले भोगेका अन्याय, पीडा र अपमानलाई कवितामार्फत प्रस्तुत गर्दै आउनुभएको थियो । यस पटक भने उहाँहरूले ‘मासिन्या’ नाटकमार्फत आफ्नो समुदायको कथा सुनाउने जमर्काे गर्नुभयो । मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘मासिन्या’ मा तामाङ समुदायको जीवन, संस्कृति, भाषा र शक्तिका कारण उनीहरूले भोगेका उत्पीडनका व्यथा समेट्न खोजिएको छ । नाटकको शीर्षकले राणाकालीन सामाजिक विभेदलाई स्पष्ट झल्काएको छ ।
पछिल्लो समय प्राकृतिक सुन्दरता भएका स्थानमा चलचित्र र म्युजिक भिडियोको छायाङ्कन गर्ने क्रम बढेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका सांस्कृतिक सम्पदा क्षेत्र वरिपरि छायाङ्कन गर्ने प्रवृत्तिलाई छाडेर चलचित्र निर्माता मुस्ताङलगायतका सगरमाथा, चितवन, बागलुङ, पोखरा, लुक्ला, नाम्चे, जोमसोम, नगरकोट र हिमाली उपत्यकाका स्थललाई चलचित्र छायाङ्कनको गन्तव्य छान्न थालेका छन् ।
सामाजिक सञ्जाल युट्युब अहिले म्युजिक भिडियोमा अभिनय गर्नेका लागि राम्रो आयआर्जनको स्रोत बनेको छ । यसले कलाकारलाई व्यस्त मात्र बनाएको छैन, म्युजिक भिडियोको निर्माण सङ्ख्यासमेत बढाउने काम गरेको छ । चलचित्र गतिविधि ठप्प भएसँगै बेरोजगार जस्तै भएका कलाकारले पछिल्ला दिनमा छोटो समयको सुटिङमा तयार भएको म्युजिक भिडियोबाट राम्रो आयआर्जन गर्न थालेका छन् ।
निःसन्तान हुनु पाप होइन तर हाम्रो समाजमा निःसन्तान दम्पतीलाई घोचपेच दिने चलन नयाँ भने होइन । यही सामाजिक घोचपेचलाई चलचित्रमा समेटिएको छ । चलचित्र ‘दयारानी’ ले सोही कथा समेट्ने प्रयास गरेको छ । निःसन्तान हुने दम्पतीमध्ये पुरुष आफूमा कुनै दोष छैन भन्ने मानसिकता बोकेर हिँडिरहेका हुन्छन् भने महिला सबै दोष आफूमाथि बोकिरहेकी हुन्छिन् । समाजले सन्तान नहुँदा महिलालाई नै दबाब दिन्छ । त्यस्तो अवस्थामा पुरुष चुपचाप बस्छ तर महिलाले चौतर्फी दबाब झेल्नु पर्छ ।
आफ्नो जमानामा निरन्तर पुरस्कारको सूचीमा पर्नुहुने सङ्गीतकार शम्भुजित बाँस्कोटा अहिले दिइने पुरस्कार लिन सोधखोज गर्नुहुन्छ । संस्थाको उद्देश्य, आफूलाई पुरस्कार दिनुपर्ने औचित्यलगायतका कुरामा जानकारी लिएर मात्र पुरस्कार थाप्न जाने गरेको बताउनुहुन्छ । पछिल्लो दिनमा नयाँ नयाँ संस्था खोल्ने अनि समाजका विभिन्न व्यक्तिलाई पुरस्कारका लागि मात्र बोलाउने होडबाजी चलेपछि उहाँले जुनसुकै संस्थाले पुरस्कार थाप्न बोलाउँदा नजाने गरेको बताउनुभयो । उहाँले गोरखापत्रसँग भन्नुभयो, “यस्तो प्रवृत्ति देखिएपछि मैले अवार्ड नलिने घोषणा नै गरिदिएको छु ।”
चलचित्र लेख्ने काम जो कोहीले गर्न सक्दैनन् । त्यसैले पनि चलचित्रको सम्पूर्ण संरचना कथामा नै अड्किएको हुन्छ । चलचित्रमा पात्रले बोल्ने तथा हरेक क्रियाकलाप चलचित्रमा स्क्रिप्टले नै बुनेको हुन्छ । चलचित्र कथाले चल्ने हो । हलमा दर्शकलाई आकर्षित गर्न कलाकार अवश्य चाहिन्छ तर चलचित्रलाई टिकाइराख्न कथा नै मजबुत हुनु पर्छ ।
साठीको दशकतिर नेपाली चलचित्रमा पुरानो प्रविधिमा सेल्युलाइड क्यामरामार्फत नेगेटिभमा चलचित्र खिचिन्थे । त्यतिखेर चलचित्रको बजार सानो थियो । चलचित्र पनि कम निर्माण हुन्थे । समय परिवर्तनसँगै चलचित्रको बजार विस्तार भएको छ । पछिल्ला दिनमा डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार पनि विस्तार हुन थालेको छ । पहिले सेल्युलाइड प्रविधिमा चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा भित्र मात्र प्रदर्शन गरिन्थ्यो । प्रिन्ट तयार गर्न निर्माताको खर्च हुने भएकाले एकसाथ नेपालभर प्रदर्शन सम्भव थिएन । अहिले प्रविधिले गर्दा त्यो अवस्थाको अन्त्य भएको छ । चलचित्रमा प्रविधिले राम्रो फड्को मारेको छ ।
बलिउडमा भारतीय वायुसेनाका कथामा आधारित रहेर धेरै चलचित्र बनिसकेका छन् । ठुलो पर्दामा लडाकु विमानको लडाइँ हेर्नु आफैँमा एक रमाइलो क्षण पनि हो । सायद यही कारणले पनि दर्शकले विशेष गरी यस्ता चलचित्र मन पराउने गरेका छन् । त्यसमाथि चलचित्रमा नाम चलेका कलाकारको अभिनय हुने हो भने सुनमा सुगन्ध हुन्छ । चलचित्र ‘फाइटर’ पनि यही श्रेणीमा परेको चलचित्र हो । बलिउडमा यसअघि गत वर्ष मात्र प्रदर्शन भएको कङ्गना रनौतको अभिनीत चलचित्र ‘तेजस’ मा पनि भारतीय वायुसेनाको यस्तै कलाकौशल देखाइएको थियो । अर्को महिना प्रदर्शन हुने तेलगु नायक वरुण तेजको चलचित्र ‘अपरेसन भ्यालेन्टाइन’ र दसैँमा प्रदर्शनमा आउने अक्षय कुमारको ‘स्काई फोर्स’ पनि भारतीय वायुसेनाको मिसनमा आधारित कथा रहेको छ ।
दर्शकलाई सकारात्मक सन्देश प्रवाह गर्न बजारमा थुप्रै चलचित्र आउने गरेका हुन्छन् । कति चलचित्र कथावस्तुका कारण धेरैले हेर्न रुचाउँछन् भने कतिपय चलचित्र गीत, सङ्गीत तथा छायाङ्कन गरिएको स्थलले पनि दर्शकको आँखामा पर्ने गरेका हुन्छन् । पछिल्ला दिनमा चलचित्र ‘हनुमान’ ले पनि चर्चा बटुलिरहेको छ । यसले चर्चा बटुल्नुको कारण चलचित्रको कथा, संवाद र सङ्गीत हो ।
एक समय ख्याति कमाएका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई दर्शकले चलचित्रमा पहिले जसरी नदेखेको धेरै वर्ष भइसक्यो । पुराना पुस्ताका नायक भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, रमित ढुङ्गानालगायतका चलेका अभिनेतालाई द्वन्द्व सिकाइसक्नुभएको उहाँ अचेल फार्म हाउस (पाउलोनिया)को व्यवसायमा व्यस्त हुनुहुन्छ । अहिले चलचित्र जस्तै आफ्नै व्यवसाय गरेर पनि बाँच्न गाह्रो भएको द्वन्द्व निर्देशक खड्की गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “सबै समयको कुरा हो । अहिले नयाँ आएकाले राम्रो नै गरिरहेका छन् । हाम्रो पनि फेरि एक पटक समय अवश्य आउला नि ।” अहिले चलेका दयाहाङ राई जस्तो कलाकारका लागि एक्सन चलचित्र थोरै आर्ट धेरै भएकाले पनि द्वन्द्वात्मक चलचित्र कम देखिएको खड्गी बताउनुहुन्छ । फेरि चलचित्रमा काम गरे पनि अहिले कमाइ खासै नहुने उहाँको अनुभव छ ।
कुनै बेला ‘खोला पारि निरमाया’, ‘पानको पात’ जस्ता लोकदोहोरीले नेपाली साङ्गीतिक फाँटमा हलचल नै ल्याएको थियो । त्यतिखेर बमबहादुर कार्की र उहाँका सहयोगीले गाउँले दोहोरीलाई सहर भित्र्याउने काम गर्नुभएको थियो । त्यसलगत्तै आएको प्रेमराजा महतको ‘सिमसिमे पानीमा’ ले लोकदोहोरीमा अर्को तरङ्ग ल्यायो । गाउँबस्तीमा सीमित लोक तथा लोकदोहोरीका भाका, लयलाई सहर बजारमार्फत देशभर फैलाउने काममा त्यसअघिका कुमार बस्नेत, पाण्डव सुनुवार, राम थापा, लोकबहादुर क्षेत्री, सावित्री शाह, आदिको उल्लेख्य भूमिका थियो । त्यसैले अहिले पनि सङ्गीतले मान्छेको जीवनशैली परिवर्तन गर्न सक्छ भन्ने चलन हटेको छैन ।