• ३२ जेठ २०८१, शुक्रबार

चलचित्र समीक्षा

बर्बादी बन्यो ‘फर्की फर्की’

blog

काठमाडौँ, जेठ १४ गते । विज्ञापन हेरेर चलचित्र ‘फर्की फर्की’ बाट दर्शकले जे आशा गरेका थिए, खासमा त्यो होइन रहेछ । चलचित्रको कथा के हो र कथा कहाँ जाँदै छ भन्नेमै दर्शक अलमलिन्छन् । चलचित्र प्रेमकथा, ‘टाइम ट्राभल’, ‘टाइम लुप’ अथवा हाँस्य के हो त ? दर्शक यही तीन कुराको सोचाइले वाक्कदिक्क बन्छन् ।  

चलचित्र म्याडी (अनमोल केसी), उनको साथी सुभाष (रवि काफ्ले), सायरा (जसिता गुरुङ) र सुजी (समृद्धि अर्याल) वरपर घुमेको छ । म्याडी सम्बन्धप्रति इमानदार छैन । एउटा इन्स्योरेन्स कम्पनीको म्यानेजर छ तर क्लब जानु, युवतीलाई फ्लर्ट गर्नु, मनमौजी बाँच्नु उसको परिचय हो । यसमा सधैँ उनलाई साथ दिने साथी छन्, सुभाष । बिस्तारै सायरासँगको प्रेममा पर्छन् उनी तर जीवनमा गरिरहने गल्ती र बितेको समयमा फर्किरहने आदतका कारण म्याडी र उनका सम्बन्ध कहाँ पुग्छन् र कहाँबाट सुरु हुन्छन् ? चलचित्र यी चार पात्रमा देखिने उतारचढावमा नै रुमलिएको छ । 

२०७९ फागुनमा प्रदर्शन भएको चलचित्र ‘छड्के २.०’ फ्लप भएपछि चकलेटी कलाकार अनमोल केसीले अब उप्रान्त सोचविचार गरेर मात्र चलचित्रमा अभिनय गर्छु भनेर दर्शकलाई वाचा गरेका थिए । हुन त यो क्षेत्रमा कलाकारले दर्शकलाई यस्ता वाचा गर्नु कुनै नौलो कुरा होइन तर पनि युवा पुस्ता त्यो पनि महिला फ्यानले धेरै रुचाएका कलाकार अनमोलले यस्तो वाचा गर्नु चानचुने होइन । चलचित्र ‘फर्की फर्की’ मार्फत अनमोल आफ्नो वाचा केही मात्रामा पूरा गर्न सफल भएका छन् । अझ पनि अभिनयमा उनले धेरै कुरामा सुधार गर्नुपर्ने देखिन्छ । चलचित्र हेरिसकेपछि दर्शकले अनमोल आफ्नो वाचा पूरा नगरेको महसुस गर्छन् । किनकि अझै पनि अनमोल आफ्नो पुरानो शैलीको अभिनयको ह्याङबाट बाहिर निक्लन सकेका छैनन् । जेरी, ड्रिम्स, गाजलु जस्ता चलचित्रमा उनले प्रेमिल शैलीको जुन अभिनय गरेका छन् । जुन ‘फर्की फर्की’ मा पनि दोहोरिएको छ । चलचित्रको अर्को रमाइलो तर पचाउन नसकिने पक्ष नायक तथा नायिकाको परिचय साउथ इन्डियन चलचित्रको शैलीमा देखाउनु पनि हो । बलिउडमा रजनीकान्तलाई मेगास्टार भने झँै यहाँ अनमोललाई मेगास्टार भन्न खोजिएको हो ? कस्ता कलाकारलाई मेगास्टार भन्ने यो पनि एउटा गम्भीर कुरा हो । 

चलचित्रका निर्देशक सुयोग गुरुङले चलचित्र ‘टाइम ट्राभल’ र ‘टाइम लुप’ को कथा हो भनेका छन् । गुरुङले सन् १९९३ को अमेरिकी रोम्यान्टिक कमेडी ‘ग्राउन्डहग डे’ को कथाबाट आफू प्रेरित भएको सङ्केत गरेका छन् तर दर्शकले यसलाई कसरी हेर्छन् त ? के हो यसको अर्थ । चलचित्रभित्र यसको भरपुर प्रयोग गरिएको छ तर यसको प्रभाव चलचित्रका पात्र म्याडीमाथि पर्नासाथ हलमा दर्शकले ठुलो आवाज निकालेर हाँसेको र एउटै दृश्य किन बारम्बार देखाउँछस् ओए भनेर चिच्याएको मात्र सुनिन्छ । यस्ता कुरामा निर्देशक गुरुङ चुकेका छन् । त्यस्तै चलचित्रको अर्को कमजोरी सुजीको मृत्यु हुन्छ, उनको लास उज्यालोको समयमा राखिएको देखाइएको छ । बेलुकी लास जलिरहेको हुन्छ । लास बिहानै जलाउन सकिन्थ्यो नि, होइन र ? एउटा लास जलाउन बिहानदेखि बेलुकीसम्म त अवश्य लाग्दैन होला । यसले निर्देशक गुरुङले चलचित्रलाई चाहिनेभन्दा बढी लम्ब्याउन खोजेका हुन् कि भन्ने बुझिन्छ । 

अभिनयको कुरा गर्नुपर्दा सुवासको भूमिकामा रवि काफ्लेको काम प्रशंसनीय छ । उनलाई म्याडीको मिल्ने साथीको भूमिका सुहाएको छ । नायिका जसिता गुरुङको अभिनयमा खासै नयाँ कुरा पाइँदैन । दर्शकले जसिताको अभिनयबाट जति आशा गरेका थिए त्यो एकदमै कम छ । सुजीको भूमिकामा देखिएकी समृद्धि अर्यालको काम चलचित्रमा छिनमा देखिने र छिनमा हराउनेका निम्ति मात्र राखिएको हो कि भान हुन्छ । समग्रमा चलचित्र टाइमपास या भनौँ समय कटाउन मुस्किल भएर बसेकाका लागि एकदमै उपयुक्त छ भन्दा फरक पर्दैन ।