• ८ मंसिर २०८१, शनिबार

जागरण कालमा नेपाली नाटक

blog

काठमाडौँ, जेठ २४ गते । नाटक मञ्चनमा दर्शकको भूमिका महत्वपूर्ण हुन्छ । समुदाय र कलाकारबिच अन्तर्क्रिया नभएसम्म नाटक मञ्चनले कुनै अर्थ राख्दैन । डबली, सडक नाटकदेखि रङ्गमञ्चसम्म आइपुग्दा नेपाली नाटकले फड्को मारेको पाइन्छ । पछिल्ला केही वर्षयता नेपाली रङ्गमञ्चले मञ्चनका क्षेत्रमा द्रुत गति अघि बढाएको छ ।

नाट्यकर्मी अशेष मल्लका अनुसार अहिले रङ्गमञ्च धेरै फराकिलो तवरले अघि बढेको छ । पछिल्लो पाँच/सात वर्षयता रङ्गमञ्चमा रुचि देखाउनेको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले रङ्गमञ्चबाट धेरै कुराको आशा गर्न सकिन्छ । नेपाली रङ्गमञ्चका लागि यो एक प्रकारको जागरण काल हो । अहिले जति पनि नेपाली नाटक देशबाहिर महोत्सवमा जान्छन्, ती नाटकमा केही पनि कमी छैन तर एउटै कुरा के छ भने रङ्गमञ्चमा हामीले अझै पनि आफ्नो कुरा भन्न सकेका छैनौँ । 

उहाँले भन्नुभयो, “लोक संस्कृतिमा हामी यति धनी छौँ कि त्यसलाई हामीले नाटकमा अझै ल्याउन सकेका छैनौँ ।” उहाँका अनुसार अहिले भर्खर त नेपाली रङ्गमञ्च उठ्न उठ्न थालेको छ । जसले गर्दा बाहिरी जिल्लामा पनि यसको प्रभाव देखिन थालेको छ । राज्यले पनि खासै साथ दिएको छैन । उहाँले भन्नुभयो, “यस्तो हुँदाहुँदै 

पनि आफ्नो निजी खर्चमा नाटकलाई यहाँसम्म ल्याउनु भनेको सानो कुरा होइन । नेपाल मात्र यस्तो देश हो रङ्गमञ्चका लागि न स्कुल छ र पाठ्यक्रममा नै यसलाई समावेश गरिएको छ ।”

उहाँका अनुसार सबै जिल्लामा त होइन, केही केही ठाउँमा रङ्गमञ्चको जागरण आवश्यक छ । गत महिना नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले जुम्लाको कसंम नाटकघरमा प्रशिक्षण कार्यशाला तथा तथा नाटक निर्माण गरेको थियो । 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले प्रतिष्ठानले सडक नाटकभन्दा सांस्कृतिक तथा अन्य नाटकमा जोड दिने बताउनुभयो । उहाँका अनुसार झापामा पनि नाटक कार्यशाला र मञ्चन गरिएको थियो । उहाँले कार्यशालामा सिक्ने काम मात्र हुने भएकाले नाटक निर्माण गरिएमा दर्शकले हेर्न पाउने बताउनुभयो । उहाँका अनुसार यी गतिविधि वार्षिक कार्यक्रमबमोजिम भएका थिए । आउँदो वर्ष फेरि पनि रङ्गमञ्चसम्बन्धी कार्यशाला सञ्चालन गरिने छ । जुम्लामा ४० जना अट्ने एउटा सानो कोठामा कार्यशालासँगै नाटक मञ्चन गरिएको छ । नाटक नाट्य प्रतिष्ठानले गरोस् या अन्य कुनै संस्थाले नाटक कहिले पनि सित्तैमा देखाउनु हुँदैन भन्ने धारणा कुलपति शर्माको छ । जुम्लामा नाटक मञ्चन गर्ने कलाकारलाई दर्शक आफैँले केही पैसा उठाएर दिएका थिए । त्यसैले नाटक सित्तैमा देखाउनु हुन्न भन्ने पक्षमा आफू रहेको उहाँको भनाइ छ । 

मण्डला थिएटर, गुरुकुल, कौसी थिएटर, शिल्पी थिएटर, कुञ्ज थिएटर अहिले काठमाडौँमा चलेका थिएटर हुन् । काठमाडौँबाहिर सीमित मात्रामा मात्र थिएटर सञ्चालनमा छन् । पोखराको पोखरा थिएटर, झापाको परिवर्तन थिएटर, दमकको कदम थिएटर अहिले नाम चलेका थिएटर हुन् । झापाको परिवर्तन थिएटरका संयोजक काबु नेपाल नाट्य प्रतिष्ठानले नाटकका लागि यस पटक केही बजेट छुट्याइदिएकाले काम गर्न जोश जाँगर आएको बताउनुभयो । अहिले पनि रङ्गमञ्चमा खासै सुधार नभएको उहाँको गुनासो छ । काठमाडौँमा त नाटकबाट लगानी उठाउन सकिन्छ तर काठमाडौँबाहिरका थिएटरमा धेरै गाह्रो छ । नाटक मञ्चन गरेर लगानी उठ्न नै हम्मे हम्मे हुन्छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तनले पोखराकै प्रतिष्ठानबाट सहयोग हुन्छ, केन्द्रको प्रतिष्ठानबाट खासै सहयोग नभएको बताउनुभयो । केन्द्रबाट हरिहर शर्माका बेलामा केही सहयोग भएको तर अहिले त झन् प्रदेशबाट नै सहयोग भइहाल्छ नि भनेर पनि खासै मतलब नगरेको हो कि ? अहिले दर्शकको पनि नाटकघरमा चाप बढेको उहाँ स्विकार्नुहुन्छ ।