• ८ असार २०८१, शनिबार

सङ्गीत साधना खस्कँदै

blog

काठमाडौँ, जेठ ३ गते । नेपाली लोकगीत तथा सङ्गीतको परम्परा निकै पुरानो छ । तथापि आधुनिक गीतसङ्गीत परम्परामा नेपालको लामो इतिहास छैन । नेपाली सङ्गीतको व्यावसायिक विकासमा सङ्गीत शिक्षाको महत्वपूर्ण भूमिका हुने भए पनि नेपालमा सङ्गीत शिक्षाले फड्को मार्न सकेको छैन ।

कुनै पनि गीत राम्रो हुनमा शब्द र स्वरको जति ठुलो भूमिका हुन्छ, त्यति नै महत्व सङ्गीतको हुन्छ । नेपाली सङ्गीतको विशेषता आफ्नै मौलिकता हो । नेपाली सङ्गीतमा लोकसङ्गीतको प्रभाव ज्यादा छ । पछिल्लो समयमा सङ्गीतको अध्ययनभन्दा पनि रहरैरहरमा सङ्गीत क्षेत्रमा आउने क्रम बढ्दो पाइन्छ । केही सङ्गीतकर्मीले व्यावसायिक रूपमा आफूलाई अघि बढाउन खोजेका पनि छन् । कोरोनापछि सङ्गीत सिकाइने विद्यालय बढे पनि सङ्गीत सिक्न आउने विद्यार्थीको सङ्ख्या कम हुँदै गएको सङ्गीत विद्यालय सञ्चालक बताउँछन् । 

सङ्गीत प्रशिक्षक चन्दनप्रसाद श्रेष्ठले कोरोनापछि सङ्गीत सिक्न आउनेको सङ्ख्या एकदमै कम भएको बताउनुभयो । यसमा राज्य पक्षले सांस्कृतिक क्षेत्रमा कुनै पनि काम गर्न नसकेको उहाँको गुनासो छ । उहाँका अनुसार जो जो जहाँ जहाँ राखिएको छ, सबै दलीय भागबन्डामा मात्र कायम गरिएको छ । साङ्गीतिक क्षेत्र पनि अहिले भर्ती केन्द्र जस्तो बनेको छ । सङ्गीत सबैभन्दा कठिन विधामध्ये एक रहेका उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “यो कठिन विधालाई राज्य पक्षले यति सजिलो तरिकाले लिएको छ कि सङ्गीत क्षेत्रलाई एकदमै दुर्लभ पाटोमा पर्छ । नेपालमा सङ्गीतको धरातल नै बन्न सकेको छैन ।” उहाँले भन्नुभयो, “अहिले सङ्गीत जसले झुट बोल्न सक्यो उसको चलाउने हिसाबकिताब बनेको छ ।” 

सबैले भारतीय र पश्चिमा सङ्गीतलाई मात्र पछ्याउन थालेको पाइन्छ । यो त मुर्कुटा जस्तो भएको छ । उहाँका अनुसार नयाँ पिँढीले आफ्नो अस्तित्व बचाउन कोसिस गरेको खण्डमा केही सम्भावना देखिन्छ । राज्यले पनि सङ्गीतमा छात्रवृत्ति जस्तो कुरा दिन सकेमा सङ्गीतमा सम्भावना अवश्य देखिन्छ । 

साङ्गीतिक क्षेत्रको बजार पहिलाको जस्तो विस्तार हुन सकेको छैन । त्यसमाथि नेपाली गीतसङ्गीतले अन्तर्राष्ट्रिय सङ्गीत बजारमा समेत प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । जसका लागि सबै नेपालीको साथ अपरिहार्य रहन्छ । कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयका सङ्गीत प्रशिक्षक रामचन्द्र अन्जानले अहिले केही मान्छेमा आर्थिक अवस्थाले गर्दासमेत सङ्गीत सिक्न सक्ने अवस्था नभएको बताउनुभयो । 

उहाँका अनुसार कुनै समय सङ्गीत सिक्ने नियमित पाँच सयदेखि छ सय जना विद्यार्थी हुने गर्थे तर अहिले त्यो अवस्था छैन । अहिले त्यो घटेर डेढ÷दुई सयमा झरेको छ । उहाँले कलानिधिमा धेरै विद्यार्थी बाहिरबाट सिक्न आउने गरेको र कतिपय सङ्गीत सिकेर पनि आर्थिक कारणले गर्दा आफ्नो प्रतिभालाई दबाएर राख्न बाध्य हुनु परेको बताउनुभयो । पहिला गीतार, भ्वायलिन सिक्न आउने एकदमै धेरै थिए । उहाँले अहिले बाँसुरी बजाउन सिक्न आउने एकदमै बढेको बताउनुभयो । 

मधुरिमा नेपालका संस्थापक प्रदीप बम्जनको भनाइ केही भिन्न छ । उहाँले अहिले पहिलाको जस्तो कक्षा सञ्चालनभन्दा अनलाइनबाट सङ्गीतको ज्ञान बाढिरहेको बताउनुभयो । अहिले स्पेसल कक्षा गर्न भनेर विद्यार्थी आउने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार पहिला सबै विधामा विद्यार्थी सङ्गीतको प्रशिक्षण लिन आउँथे । अहिले भोकलमा रुचि राख्ने धेरै छन् । कुनै समय सय/दुई सय विद्यार्थी सङ्गीत सिक्न आउने गर्थे । उहाँले अहिले पाँचदेखि १० जना समूहमा आउने गरेको बताउनुभयो । उहाँका अनुसार सङ्गीत बजार खस्किएकोभन्दा पनि यसलाई हामीले कसरी मिलाउँदै लाने भन्ने कुरा मुख्य हो ।