• ५ मंसिर २०८२, शुक्रबार

पृथ्वीराजमार्ग मुग्लिन-पोखरा सडक स्तरोउन्नती : कालोपत्रसँगै यात्रा सहज

blog

तनहुँको बेलचौतारामा निर्माण सम्पन्न भएको सडक । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर ५ गते । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत पोखरा–जामुने (पश्चिम) खण्डमा तीव्र गतिमा भइरहेको कालोपत्र कार्यसँगै यात्रा सहज र सुरक्षित बन्दै गएको छ ।

३८ किलोमिटर लामो यस खण्डमध्ये ३७ किलोमिटर एकतर्फी कालोपत्र सम्पन्न भइसकेपछि दैनिक यात्रु, व्यापारी तथा एम्बुलेन्स आवागमन सहज भएको स्थानीयले बताएका छन् । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले भन्नुभयो,  “धेरै भागमा कालोपत्र सकिएकोले यात्रा धेरै सहज भएको छ । ”

इञ्जिनियर सहनशीला कायस्थका अनुसार विस्तार कार्यले तीव्र गति लिएको छ । उहाँका अनुसार समग्र भौतिक प्रगति ५९.८९ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको छ । हालसम्म २९.६१ किमि चार लेन र ७.७९ किमि दुई लेन कालोपत्रे कार्य पूरा भएको छ । जसमध्ये १८.८ किमि दुई लेन सडकमा दोस्रो तह (अल्फाट) कालोपत्र सम्पन्न भएको छ । सर्भिस लेनको ३.०४ किमि कालोपत्र र चालु आर्थिक वर्षमै १४ किमि कालोपत्रे कार्य पूरा भएको छ । यस अवधिमा २ वटा कल्भर्ट निर्माण भएका छन् भने कूल १०५ कल्भर्ट सम्पन्न भइसकेका छन् ।

पश्चिम खण्डअन्तर्गत लक्ष्यबमोजिम १२ मध्ये ११ पुल निर्माण सकिएका छन् । पोखराको सेती नदीमा निर्माणाधीन पुलमा ५१।६१ प्रतिशत भौतिक प्रगति भएको इञ्जिनियर टोलीले जनाएको छ। सो पुलमा आवश्यक ४ वटा पाइलक्याप र १२० वटा पाइल निर्माण भइसकेका छन् ।