• ८ असार २०८१, शनिबार

‘बोक्सीको घर’ गन्तव्य भुलेको कथा

blog

काठमाडौँ, वैशाख १८ गते । नेपाली समाजमा ‘बोक्सी’ को विश्वासले ग्रामीण समाजमा जरा गाडेको छ । यसै विषयवस्तुमा चलचित्र ‘बोक्सीको घर’ निर्माण गरिएको छ । रङ्गकर्मी सुलक्षण भारती निर्देशित ‘बोक्सीको घर’ नाटकलाई चलचित्र रूपान्तरण गरिएको हो । पुरुषप्रधान समाजले ‘बोक्सी’ का नाममा महिलामाथि गरिएको दमनको कथालाई चलचित्रमा पस्कन खोजिएको छ । 

चलचित्रमा बालविवाह, बालविधुवा र बोक्सीको कथा पस्कने प्रयास गरिएको छ । बालविधुवालाई ‘बोक्सी’ करार गर्दै पितृसत्तात्मक समाजले महिलालाई घर निकालेर कथाका हिसाबले सामाजिक चित्रण गर्न सफल देखिन्छ । 

जुनकिरी जसको बाल्यकालमा विवाह हुन्छ । उनलाई विवाह के हो र विवाह भएपछि के हुन्छ भन्ने ज्ञान छैन । आफ्नो श्रीमान्को पहिचानसमेत हुँदैन । श्रीमान्लाई उनी ‘जुङ्गे दाइ’ भनेर बोलाउने गर्छिन् । उनलाई रातो लुगा र सिन्दूर–पोतेका बारेमा थाहा छैन तर पनि परिवारको जोडबलले उनी विवाह गर्न बाध्य हुन्छिन् । राम्रो पढाइ गरिरहेको समय जुनकिरीको विवाह हुन्छ । जसले गर्दा उनले पढाइसमेत छाड्छिन् । आफ्नो मन पर्ने साथी रवि, ममतामयी आमाको प्रेम, साथीसँग बिताएका अनेकन् पल उनी बिर्सन बाध्य हुन्छिन् । जब उनी जीवनलाई बुझ्ने हुन्छिन्, उनीभित्र अनेकन् बाधा अडचन थोपरिन्छन् । श्रीमान् गुमाएपछि उनको जीवन रातो रङबाट सेतोमा परिणत हुन्छ । रातोबाट सेतो रङसम्म उनी कसरी आइन् र उनको जीवनमा के कस्ता परिवर्तन आए । उनलाई किन बोक्सीको आरोप लगाइयो । ‘बोक्सीको घर’ ले यिनै कथाका पाटा खोज्ने र खोल्ने प्रयास गरेको छ ।

काभ्रे जिल्लाका पहाडी बस्तीमा छायाङ्कन गरिएको चलचित्र मध्यान्तरसम्म निकै रोचक छ । बाल कलाकार सुपला सापकोटा जो जुनकिरीको भूमिकामा देखिएकी छिन् । उनी विद्यालयकी अब्बल छात्रा, सहपाठीकी प्रिय साथी, घरकी आज्ञाकारी छोरी बनेर दर्शकसँग पनि नजिकको सम्बन्ध बनाइसकेकी हुन्छिन् । अर्कोतिर गाउँको तल्लो भेगमा रहेको पिपलको बोटमा बोक्सीको आरोप लागेकी महिलाको चरित्रमा प्रस्तुत भएकी केकी अधिकारीको विभिन्न गतिविधिले दर्शकको मनमा डर पैदा गराइरहेको हुन्छ । त्यही व्रmममा पत्रकारकै भूमिकामा प्रस्तुत भएकी स्वेच्छा राउत उक्त गाउँमा बोक्सीकै बारेमा खोजमूलक रिपोर्टङ गर्न आइपुग्छिन् । पत्रकारले बोक्सीको आरोप लगाएकी महिला उनीहरू झैँ सामान्य मानिस नै हुन् भन्ने बुझाउन खोज्छिन् तर उनको कुरा बुझ्न कोही तयार छैनन् । उल्टै गाउँलेले उनैलाई गाउँकै बोक्सी बनाउन तम्तयार हुन्छन् ।

शीर्ष पात्रमा देखिएकी केकी अधिकारीको अभिनय प्रशंसायोग्य नै छ । अधिकांश समय केकी सेतो र रातो पहिरनमा देखिएकी छिन् । अन्य चलचित्रभन्दा ‘बोक्सीको घर’ मा केकीको अभिनय पृथक् स्वाद भेटिन्छ । तथापि केकीका केही संवादले दर्शकले दिग्भ्रमितसमेत पार्ने खालको छ ।

बोक्सीको रूप धारण गर्ने क्रममा उनले आफ्नो हाउभाउमा निकै मेहनत गरेको देखिन्छ । बोक्सीको चरित्रमाथि उनले न्याय गरेकै मान्नु पर्छ । सुपला सापकोटाको कलाकारिताको प्रशंसा गर्नै पर्छ । बालकलाकारका रूपमा उनको सम्भावना राम्रै देखिन्छ । पत्रकार स्वेच्छा राउत अनुसन्धान गर्नका लागि गाउँमा पुगेकी हुन्छिन् । त्यो अनुसन्धान गर्दैगर्दा चलचित्रको कथा टुङ्गिएको छ । जसले कथालाई पूर्णता दिएको मान्न सकिन्न । चलचित्रको लेखनीमा केही मात्रामा भए पनि अस्पष्टता दर्साउँछ । बोक्सी प्रथाविरुद्धमा चलचित्रले सन्देश दिएको भए चलचित्रको कथामाथि न्याय हुने थियो । निर्देशक भारतीले चलचित्रको विषयवस्तुमा गहिराइसम्म पुग्ने प्रयास अलि कम गरेका हुन् कि जस्तो कथाले दर्शाउँछ ।  

समाजमा जोकोही महिलालाई ‘बोक्सी’ को आरोप लगाइँदैन । समाजका निमुखा र गरिबीको अवस्थामा रहेकालाई प्रायः यस्तो आरोप लगाउने गरिएको पाइन्छ । बोक्सीको आरोप किन लगाइन्छ ? बलात्कारमा परेकी पीडितलाई बोक्सीको आरोप लगाइने हो या मानसिक तनाव दिएर घरबाट परिवारले निकालेपछि बोक्सीको आरोप लगाइन्छ ? परिवारभित्र आफ्नो कर्तुत लुकाउन बोक्सीको आरोप लगाउने गरिन्छ या छोराको मृत्यु भएपछि बुहारीमाथि परिवारले नै बोक्सीको आरोप लगाउने हो ? निर्देशकले यी कुराको जवाफ चलचित्रमा दिन छुट्याएका हुन् किन ?