नगेन्द्र सापकोटा काठमाडौँ, वैशाख २ गते । अरू बेला असारमा पानी पर्दै गर्दा बन्ने बाटा र ढलजस्ता निर्माणकार्य यस वर्ष फागुन, चैतमै भए । चालू आर्थिक वर्ष २०७८÷०७९ सकिन अझै तीन महिना बाँकी छँदै त्यस्ता केही आयोजना बन्द पनि भइसके । आर्थिक वर्ष समाप्त हुन लाग्दा हतार गरेर काम गरिने र त्यस्ता कामको गुणस्तर कमजोर हुनेहुँदा त्यसलाई असारे विकास भन्ने गरिन्थ्यो । अरू बेला भर्खर–भर्खर सुरु हुने काम यस वर्ष भने वैशाख नलाग्दै त्यस्ता केही आयोजना सकिएका हुन् । सामान्यतः असारमा हुने विकास निर्माणकार्य चैतमै सकिएका हुन् । यो वर्ष स्थानीय तह निर्वाचन हुने भएकाले सबै स्थानीय तहको सरकारबाट हुने चालू आवका विकासका योजना ०७८ चैत मसान्तभित्रै सकिए । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घका अनुसार ७५३ वटै स्थानीय तहले गत असारमा गाउँ र नगर सभाले विनियोजन गरेका अधिकांश योजना चैतभित्रै सम्पन्न गरेको जनाएका छन् ।गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका उपाध्यक्ष एवं झापाको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले सबै पालिकाले विकासका योजना चैत मसान्तभित्रै सम्पन्न गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष स्थानीय तह निर्वाचन हुने भएकाले हामी जनप्रतिनिधिले पनि आफूहरूले सुरु गरेका योजना आफ्नै कार्यकालमा सक्न योजनाको नियमित अनुगमन र ताकेता गरेका छौँ । ठेकेदारले पनि निर्वाचन आचारसंहिता लागेपछि योजना सुरु गर्न र भुक्तानी लिन समस्या हुने डरले काम चैतभित्रै सम्पन्न भएका हुन् ।” उहाँका अनुसार विगतका वर्षहरूमा पुस, माघदेखि मात्र सुरु गरिने कतिपय योजना यस वर्ष भदौ, असोजदेखि नै थालिएका थिए । पालिकाभित्रका प्राविधिक प्रमुख, योजना शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायतकाको टोली गठन गरी उपभोक्ता समिति र ठेकेदारसँग नियमति रूपमा समन्वय सहजीकरण गर्ने काम गरिएको थियो । स्थानीय तहले विकासका योजनाअन्तर्गत, खानेपानी, ढल निकास, सडक निर्माण तथा स्तरोन्नति, सामुदायिक भवन, पुल निर्माण, सार्वजनिक जमिन संरक्षण गरी पार्क निर्माण, स्थानीय पाटीपौवा, मठमन्दिर, कला र सम्पदा संरक्षण, पुनर्निर्माण र नवनिर्माण गरेका छन् । त्यस्तै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकका हक–अधिकारबारे सचेतना कार्यक्रम सञ्चालन गरेका थिए । सहरी क्षेत्रमा कौसीखेतीका लागि मल, उन्नत बीउ, प्लास्टिकका बकेट र गमला वितरणका लागि कौसीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेका काफ्लेले बताउनुभयो । नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले स्थानीय तहका जनप्रतिनिधिले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी विकासका योजना चैतभित्रै सम्पन्न गरेको बताउनुभयो । केही–केही पालिकाका विकासका योजनाका सानातिना काम भने बाँकी छन् । तर, अधिकांश पालिकाले विनियोजन गरेको विकासका आयोजना सम्पन्न गरिसकेका छन् । उहाँका अनुसार कतिपय पालिकामा भने बजेट अभावमा यसअघिका अधुरा योजना भने अहिले पनि अधुरै छन् । सङ्घ र प्रदेश सरकारसँग समन्वय गरेर गर्नुपर्ने योजना भने अहिले पनि कार्यान्वयकै चरणमा छन् ।
काठमाडौं, चैत २८ गते । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय निर्वाचनमा तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न सबै नेता तथा कार्यकर्तालाई अपिल गरेका हुन् । गठबन्धनको बैठकपछि काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्तरुपमा अपिल जारी गर्दै सो अपिल गर्नुभएको हो । उहाँहरुले स्थानीय तह चुनावमा उत्साहजनक सहभागितासहित सफल पार्न र पाँच दलीय गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिई विजयी गराउन पनि अपिलमार्फत आग्रह गर्नुभएको छ । ‘लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रता पूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध छन् । हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं त्यसका लागि देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न पाँचदलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौं ।,’ पाँच दलका नेताद्वारा जारी अपिलमा भनिएको छ, ‘नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ । समावेशिता, गणतन्त्र र स्थायित्वको दिशामा मुलुक अगाडि बढेको छ । तर पनि परिवर्तनलाई आत्मसात् गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरु यो परिवर्तनको विरुद्ध अझै पनि षड्यन्त्र गरिरहेका छन् भन्ने कुराको उदाहरण देशको संविधानको उल्लङ्घन गर्दै संसदमाथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अङ्गहरुमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ । यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुस्प्रयास हो ।’ बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, गणेशबहादुर गुरूङ, पूर्ण खड्का, गगन थापा, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरूङ, वर्षामान पुन, नेकपा (एकीकृत समाजवादी)बाट झलनाथ खनाल, डा. विजय पौडेल र प्रकाश ज्वला, जसपाबाट डा. अशोक राइ, रेनु यादव र राष्टिय जनमार्चाबाट हिमाल पुरी, दुर्गा पौडेलले उपस्थिति थियो । अर्को बैठक भोलि (मङ्गलबार) अपराह्न ४ बजे सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
वासुदेव शर्माजाजरकोट, बैशाख १ गते । जाजरकोटको एक सहकारी संस्थाले उन्नत जातका भैसी वितरण गरेको छ । कर्णाली प्रदेश सरकारको बार्षिक स्वीकृत कार्यक्रमअनुसार नलगाड नगरपालिका ५ पन्चासे बहुउद्देश्यीय सहकारी संस्थामार्फत सहकारीमा आबद्ध दश जना किसानलाई दश वटा भैसी वितरण गरेको हो ।कर्णाली प्रदेश सरकारको चालु आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ब्लकमा दुग्ध प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्न कृषि तथा पशु पालन गर्दैआएका ब्यावासयिक किसानको आयआर्जन बृद्धि गरी आत्मनिर्भर बनाउन पन्चासे बहुउद्देश्यीय सहकारी संस्थाले एक लाख ५० हजार रुपियाँका दरले दश वटा दुहुना भैसी वितरण गरेको छ । पशुपालन ब्यबसायले आयआर्जनमा सुधार, आत्मनिर्भर बनाउन कर्णाली प्रदेश सरकारमार्फत पशु अस्पताल तथा पशु सेवा कार्यालयले प्रदान गरेको ब्लकमा दुग्ध प्रबद्र्धन कार्यक्रमको पन्ध्र लाख र सहकारी संस्थाको चार लाख ५० हजार रुपियाँ अनुदान सहयोगमा नेपालगन्जबाट खरिद गरी ६ वटा पाडासहितका दुहुना, चार वटा असारमा बच्चा दिने भैसी संस्थाले खरिद गरी बितरण गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख जरबहादुर भक्रीले बताउनुभयो ।आयआर्जनमा सुधार, आत्मनिर्भर बनाउने माध्याम सहकारी भएकाले पशुपालन पेशामा संलग्न, सहकारी संस्थामा आबद्ध किसानलाई व्यावासयिक उत्पादनमुखी आत्मनिर्भर बनाउन कर्णाली प्रदेश सरकारमार्फत प्राप्त बजेट पंन्चासे बहुउद्देश्यीय सहकारी संस्थालाई दिएको सो कार्यालयले जनाएको छ । संस्थाले भैसी खरिद गरी किसानलाई वितरण गरेको कार्यालय प्रमुख भक्रीले बताउनुभयो ।कृषि पशुपालन व्यवसाय गर्दैआएका सरकारी रोजगारी नभएका नलगाड ५ का गणेशप्रसाद गौतमले भैसी पाउदाँ ज्यादै खुसी लागेको बताउनुभयो । भैसीको दुधबाट आत्मनिर्भर, आयआर्जनमा सुधार आउने उहाँले बताउनुभयो । नेपाल सरकारको तीन खम्बे नीतिलाई आत्मसाथ गर्दै आजको बचत, भोलीको आधार सहकारी नै भएकाले किसानलाई आधुनिकमैत्री प्रविधि उपकरण, मौसमी, बेमैसमी तरकारीका विउ विजन फलफुलका विरुवा बितरण गर्दैआएको प्रवन्धक किशोर रावलले बताउनुभयो । २०६५ सालमा २५ जनाले झोलाबाट शुरु गरेको सहकारी संस्थामा हाल सात सय ६४ जना शेयर सदस्य रहेका छन् ।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिता क्षेत्रमा लागेर आ-आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्याउने वरिष्ठ पत्रकार तथा पत्रकारलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा गोरखापत्रका पत्रकार प्रकृति अधिकारी प्रवल जनसेवाश्री पदवीबाट विभूषित हुनुभएको छ। यसैगरी, राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता मोहम्मद सदरुल र सह–समाचारदाता भीष्मराज ओझा प्रबल जनसेवाश्री विभूषणबाट तथा फोटो पत्रकार रोशन सापकोटा प्रवल जनसेवाश्री विभूषणबाट सम्मानित हुनुभएको हो।यसैगरी, नेपाल टेलिभिजनका चार पत्रकार/सञ्चारकर्मीले प्रबल जनसेवाश्री पदक सम्मानित हुनुभएको छ। राष्ट्रपतिले टेलिभिजनबाट नीता सापकोटा, गोविन्द धिताल, शालिक सुवेदी र अनिता विन्दुलाई प्रबल जनसेवाश्री पदकबाट विभूषित गर्नुभएको छ। सामारोहमा पत्रकार बद्री सिग्देल, अजयबाबु शिवाकोटीलगायतका विभूषित हुनुभएको छ। संविधान दिवसका अवसरमा सुप्रबल जनसेवाश्री मानपदवी पाउने गरी तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतीक पन्त र हरिबहादुर थापाको नाम घोषणा गरिएको थियो। यसैगरी, कीर्तिमय राष्ट्रद्वीप पाउनु हुने पत्रकारमा ओम शर्मा, गुणराज लुइँटेल र महेश्वर दाहाल हुनुहुन्छ। यस्तै, प्रवल जनसेवाश्री पाउने पत्रकार÷सञ्चारकर्मी÷कार्टुनिष्टमा ऋषि धमला, नेत्रकुमार के.सी., मुकुन्द दाहाल, दिलभूषण दाहाल, समा थापा, विश्वमणि पोखरेल, कविर राणा, रविन सायमी, रवी मिश्र, डा. बालकृष्ण चापागाई, माधव ढुंगानाको पनि नाम सार्वजनिक भएको थियो। यसैगरी, जनसेवाश्री पाउने पत्रकार÷फोटोपत्रकार/सञ्चारकर्मीमा भरतबन्धु थापा, भुवन शर्मा, दीपक खरेल, गिरिजाप्रसाद अधिकारी, प्रभातकुमार झा, नारायण अमृत, चन्द्रशेखर कार्की, किसन राई, खगेन्द्र अधिकारी, सुनील महर्जन, विष्णु खड्का, रेखा भुसाल, बृजकुमार यादव, आंकाक्षा शाह, नरेन्द्रकुमार साउद, लीला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान, डम्बरबहादुर अधिकारी र दीपेन्द्र श्रेष्ठको नाम पनि घोषणा गरिएको थियो। के कति पत्रकारले पदक लिनुभयो भन्ने यकिन तथ्याङ्क आइसकेको छैन।
काठमाडौँ, वैशाख १ गते । रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको पुरुष एकलको फाइनलमा प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१–१७, २१–१० ले हराउनुभयो उपाधिसँगै प्रिन्सले एक लाख १५ रुपियाँ र उपविजेता नवीनले ५५ हजार रुपियाँ प्राप्त गर्नुभयो । दिपेश धामी र प्रफुल महर्जन तेस्रो हुनुभयो । दुवै जनाले समान १५ हजार रुपियाँ हात पार्नुभयो । महिलातर्फ च्याम्पिया क्शिलाले आर्मीकै अनुमाया राईलाई २१–१२, २१–१८ ले पाखा लगाउनुभयो । उहाँले एक लाख १५ हजार र अनुमायाले ५५ हजार रुपियाँ प्राप्त गर्नुभयो । तेस्रो बन्न सफल पार्थना देउवा र जेशिका गुरुङले जनही १५ हजार प्राप्त गर्नुभयो । पुरुष डबल्समा रिभाइभका प्रिन्स र आर्मीका नवीन विजयी हुनुभयो । फाइनलमा प्रिन्स र नवीनको जोडीले आर्मीका पविन लिङथेब र सुरोज महर्जनको जोडीलाई १८–२१, २१–९, २१(१८ ले हराउनुभयो । यस स्पर्धाको विजेता, उपविजेता र तेस्रोले क्रमशः ५०, २५ र १० हजार रुपियाँ प्राप्त गर्नुभयो । पुरुष यू–१५ एकलमा सिल्क ग्रुपका कविर केसीले एनआरएनका साहिल चन्दलाई २१–१९, २१–१७ को सेटमा हराएर उपाधि जित्नुभयो । महिला यू–१५ मा आर्मीकी रोज पाण्डे, पुरुष यू–१९ मा आर्मीका सन्तोष पनेरु र महिला यू–१९ मा आर्मीकी पार्थना देउवा पहिलो हुनुभयो । प्रतियोगिताको विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलगायतले पुरस्कार प्रदान गर्नुभयो ।
काठमाडौं, वैशाख १ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि नेपालको महत्त्वपूर्ण आर्थिक क्षेत्र भएको बताउनुभएको छ। बिहीबार लिखित रजिष्ट्रेशन पारित भएको एक सय वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो। उहाँले भूमि प्रशासन संवेदनशील र महत्त्वपूर्ण रहेकोसमेत उल्लेख गर्नुभयो। ‘नेपालमा कृषि उत्पादन र राजस्व परिचालन दुवै दृष्टिले भूमि महत्त्वपूर्ण आर्थिक क्षेत्र हो’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘आर्थिक क्षेत्रलाई नियमन र व्यवस्थापन गर्ने भूमि प्रशासन संवेदनशील र महत्त्वपूर्ण कार्य हो।’ नेपालका करिब दुई तिहाई परिवार भूमिमा आश्रित रहेको भन्दै उहाँले ग्रामीण क्षेत्रमा परिवारको जीविकोपार्जनको मुख्य आधार नै भूमि भएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले अहिले सरकारी र सार्वजनिक भूमि अतिक्रमण गर्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रणका लागि चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो।
काठमाडौँ, वैशाख १ गते । दोस्रो आरडब्लू समर स्लामको उपाधि नुवाकोटे टाइगरले जित्नुभएको छ । नुवाकोटको गुप्तेश्वरमा बिहीबार भएको डेविवेट भिडन्तमा डेभिडलाई पराजित गर्दै नुवाकोटे टाइगर च्याम्पिनय बन्नुभएको हो । डेभिड यसअघि वसन्तपुरमा भएको पहिलो हेरिटेज रिङ रेस्लिङका च्याम्पियन हुनुहुन्छ । जितसँगै नुवाकोटे टाइगरले ८५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । यसैगरी त्रिपल थ्रेडतर्फ साइन, चट्टान र किङरोवर्डबीचको खेलमा साइन च्याम्पियन बन्नुभएको छ । उहाँले ४५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । महिलातर्फको उपाधि टनुले जित्नुभयो । आकृतिलाई हराउनुभएकी उहाँले ४० हजार रुपियाँ पाउनुभयो । ट््याक टिम म्याचमा सिजे उड र योङ स्याडीललाई स्पाइडर म्यान र बाकाको जोडीले हराउनुभयो । स्पाइडर म्यान र बाकाको जोडीले ६० हजार रुपियाँ पुरस्कार पाउनुभयो । विजेतालाई शिवपूरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र नेपाल रिङ रेस्लिङ महासंघकी महासचिव सुवर्ण श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नुभयो । यसअघि पूर्व मन्त्री डा.प्रकाशरण महतले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
कर्णाली, वैशाख १ गते। मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको समृद्धि र विकासका लागि प्रदेश सरकार ६ ‘ब’ को अवधारणाअनुसार अघि बढेको बताउनुभएको छ। नयाँ वर्ष २०७९ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले कर्णालीको विकासका लागि छ ‘ब’ अर्थात् बाटो, विद्युत्, विचार, वन, बजार र व्यवस्थापन नै मुख्य आधार भएको बताउनुभएको हो।मुख्यमन्त्री शाहीले विसं २०७८ मा कोरोना भाइरस महामारीका कारण प्रदेशको विकासमा लक्ष्यअनुसार प्रगति हुन नसकेको उल्लेख गर्नुभयो। यद्यपि प्रदेश सरकारले स्थानीय तह र सङ्घीय सरकारसँग समन्वय गरेर महत्वपूर्ण कामको सुरुआत गरेको उहाँको भनाइ छ। सन्देशमा भनिएको छ, ‘सडक पूर्वाधारबिना कर्णालीमा विकास र समृद्धि सम्भव छैन, प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरको पूर्वाधार निर्माणसँगै कर्णाली करिडोरको स्तरोन्नतिमा पहल गरिरहेको छ। ‘चुल्होको सरकार’ स्थानीय तह, ‘देखिने सरकार’ प्रदेश सरकार र ‘सुनिने सरकार’ सङ्घीय सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वलाई कर्णाली प्रदेश सरकारले महत्व दिएको छ।’सन्देशमा मुख्यमन्त्री शाहीले नयाँ वर्षको शुभारम्भसँगै सबैले समयको महत्व बुझेर प्रदेशको विकासमा योगदान पुर्याउन पनि आग्रह गर्नुभएको छ।
काठमाडौं, वैशाख १ गते । वर्ष २०७८ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कमी आउन सकेन । यस वर्ष पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण हुनुका साथै श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा खासै कमी आउन सकेको छैन । नेपाल पत्रकार महासङ्घमा अभिलेखीकरण भएअनुसार २०७८ सालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका ७४ घटना भएका छन् । पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुर्व्यवहार तथा धम्की, आक्रमण, पेशागत असुरक्षा र नीतिगत बन्देजका घटना भएका छन् । श्रमजीवी पत्रकार ऐनले दिएका सेवा, सुविधा कार्यान्वयनको पक्ष भने अघिल्लो वर्षमा पनि चुनौतीपूर्ण रह्यो । विसं २०७७ मा ५१७ पत्रकारको श्रम समस्या रहेकामा २०७८ मा २२१ श्रम समस्या आएको महासङ्घका अध्यक्ष विपुल पोखरेलले जानकारी दिनुभयो । विसं २०७७ मा समाधान हुन बाँकी श्रम समस्या र २०७८ का श्रम समस्यामध्ये झण्डै ३०० पत्रकारका समस्या समाधान भएका छन् । महासङ्घको कानुनी सहायता डेस्कमार्फत श्रम समस्या र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननविरुद्ध ३३ घटनाका बारेमा न्यायिक प्रक्रिया चलिरहेको छ । त्यसैगरी, २०७८ मा सङ्घ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुन बनाउने तथा संसदमा दर्ता गर्ने कार्य भएको छ । “संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन यी कानुनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थासमेतलाई चुनौती थपिदिएको छ”, अध्यक्ष पोखरेलले भन्नुभयो ।कोरोनाभाइरस सङ्क्रमणबाट अहिलेसम्म २६ सञ्चारकर्मीले ज्यान गुमाएको महासङ्घले जनाएको छ । त्यसमध्ये २०७८ सालमा १८ सञ्चारकर्मीले ज्यान गुमाएका थिए । कोरोनाभाइरस सङ्क्रमणको जोखिम कम गर्न पत्रकार महासङ्घको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन् । त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा सञ्चारमाध्यममा पारेको असर भने अहिले पनि कायमै छ । कोभिडको बहाना देखाएर पत्रकारलाई नियमित तलब नदिने, बेतलवी बिदामा राख्ने र जागिरबाट निष्काशन गर्ने कामले निरन्तरता पाएको छ । अध्यक्ष पोखरेलले नयाँ वर्ष २०७९ चुनावी वर्ष रहेकाले नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा तथा भौतिक सुरक्षा, सेल्फ सेन्सरसिपलगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । वैशाख पहिलो हप्तादेखि नै श्रम समस्या समाधानका लागि आवश्यक आन्दोलन, दवाव, कानुनी लडाइँलाई एकसाथ लैजानेगरी योजना बनाएको छ । महासङ्घले यो वर्ष हुने स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनका लागि निर्वाचन आयोगसँगकै साझेदारीमा सबै जिल्लामा महासङ्घले अनुगमन गरेर नागरिकको आफूले चाहेको राजनीतिक दल तथा उम्मेदवारलाई मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्ने काममा सघाउ पर्याउने योजना बनाएको छ । महासङ्घले निर्वाचनमा कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा निर्वाचन आयोग र अन्य सङ्घसंस्थासँग मिलेर विभिन्न जिल्लामा तालिम दिन थालेको छ । महासङ्घका महासचिव रोशन पुरीले भन्नुभयो, “तीन तहकै सरकारले ल्याएका, ल्याउने तयारी गरिरहेका कानुन पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक प्रत्याभूत गरेका अधिकारको पक्षमा हुनुपर्दछ, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम गरिनु हुन्न, त्यसो भएको खण्डमा आन्दोलनमा उत्रिन्छौँ ।” पत्रकारको भौतिक तथा पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक अधिकारको पक्षमा विगत वर्षमा जस्तै नेतृत्वदायी भूमिकामा रहेर आवाज बुलन्द पार्ने महासङ्घले प्रतिवद्धता व्यक्त गरेको छ । महासङ्घले महङ्गी, बजार मूल्य वृद्धि भइरहेको सन्दर्भमा श्रमजीवि पत्रकारको पारिश्रमिक ५० प्रतिशतले वृद्धि हुनुपर्ने माग गर्दै आएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले भने गत फागुनमा श्रमजीवी पत्रकारको पारिश्रमिक २५ प्रतिशतले वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ ।
काठमाडौं, वैशाख १ गते । निर्वाचन आयोगले ३९ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमार्फत ३९ जिल्लाका लागि आवश्यक पर्ने ७० लाख ३३ हजार थान मतपत्र छाप्ने काम सकिएको जानकारी दिनुभयो । अहिले दैनिक सरदर आठ लाख थान मतपत्र छाप्ने कार्य भइरहेको उहाँको भनाइ छ।त्यस्तै, आयोगले स्थानीय तह निर्वाचनप्रति संशय जनाउने अभिव्यक्ति नदिनका लागि राजनीतिक दलका नेतालाई आग्रह गरेको छ । 'निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्ति राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएको प्रति आयोगको ध्यानाकर्षण भएको छ’, आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, 'निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिनु हुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ ।'यसैगरी, उहाँले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिबारे जानकारी दिन बिहीबारदेखि नै ‘स्थानीय तह निर्वाचन इ-बुलेटिन’ प्रकाशन सुरु गर्न लगेको पनि जानकारी दिनुभयो ।
काठमाडौं, वैशाख १ गते । पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ सय ६२ जनामा एन्टीजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो ।यसैगरी, एक हजार आठ जनाको एन्टीजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको छ । कुल ३३ सय ४२ परीक्षणमा चार जना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ४४ जनाले कोरोना जितेका छन् ।यसैगरी, हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४७९ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६१ हजार २७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १ गते । स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेकाबेला निर्वाचनका सम्वन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन निर्वाचन आयोगले ध्यानाकर्षण गराएको छ । आयोगले विहीबार नियमित पत्रकार भेटघाट मार्फत् सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको हो । ”राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट निर्वाचनका विषयमा संशय हुनेखालका अभिव्यक्ति नदिनु हुन सरोकारवाला सवैलाई आयोग आग्रह गर्दछ“ पत्रकार भेटघाटपछि आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको बताउनुभयो । उहाँकाअनुसार दैनिक सरदर ८ लाख थान मतपत्र छपाई भइरहेको छ ।सोहीअनुसार स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण अनुमतिका लागि गत चैत १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको प्रवक्ता शर्माले बताउनुभयो । ती संस्थाबाट प्रस्तावित पर्यवेक्षकको संख्या २० हजार ४६७ रहेको उहाँले जानकारी दिनुभयो ।जसमध्ये पुरुष ११ हजार ६९४, महिला ८ हजार ४८२ र अन्य २९१ जना रहेको उहाँले बताउनुभयो । सो निवेदनउपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमतिसम्वन्धी निर्णय गर्ने प्रवक्ता पौडेलले बताउनुभयो । आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन आजैदेखि हरेक दिन ‘स्थानीय तह निर्वाचन इ–बुलेटिन’ प्रकाशन शुरु गरेको बताएको छ ।बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुने पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो । यसबाट आयोगका आधिकारिक सूचना सम्बन्धित सबैमा पुग्ने विश्वास आयोगले लिएको छ । सोहीअनुसार आचारसंहिता उल्लंघनका विषयलाई आयोगले नोटिस गरिरहेको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो । आचारसंहिता कार्यान्वयन गर्न पनि उहाँले सबैमा आग्रह गर्नुभयो । निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण’ कार्यक्रम जनकपुर, हेटौडा, बुटवल र धनगढीमा बैशाख २ गते गर्ने आयोगले निर्णय गरेको छ । प्रशिक्षणपछि सोही स्थानबाट निर्वाचन अधिकृतहरूलाई नियुक्तिपत्र र आवश्यक सामग्री उपलब्ध गराइने प्रवक्ता पौडेलले बताउनुभयो । यसअघि आयोगले प्रशिक्षण कार्यक्रम विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा सम्पन्न गरिसकेको छ । त्यस्तै चैत २९ गते प्रदेश १ को विराटनगर, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा मिडिया अभिमुखीकरण कार्यक्रम पनि आयोगले सम्पन्न गरेको छ ।
काठमाडौं, वैशाख १ गते। बिहीबार नयाँ वर्ष २०७९ लाई स्वागत गरिएको छ। नयाँ वर्षको अवसरमा विभिन्न ठाउँमा गएर रमाउनेको भीडभाड देखिन्छ। देशभर सबै नेपालीले आपसी सद्भाव, प्रेम र शुभकामना साटासाट गर्दै नयाँ वर्षलाई उत्सवका साथ मनाइरहेका छन्।नयाँ वर्षमा नजिकका साथीभाइसँगै बसेर मीठोमसिनो खाने, राम्रो लगाएर रमाइलो गर्ने गरिन्छ। आफन्तजनसँग घुम्न जाने, रमाइलो गर्ने विशेष दिनको रुपमा लिइन्छ। अन्य क्षेत्रमा जस्तै नयाँ वर्षको अवसरमा राजधानीको भृकुटीमण्डमासमेत भीडभाड थियो। तस्बिरः मनोजरत्न शाही र केशब गुरुङ
काठमाडौं, वैशाख १ गते । गायिका मिलन नेवार र गायक प्रकाश सिङको स्वर रहेको यूके लण्डनमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ। मकाउमा रहेका गायक सिङले नयाँ वर्षको अवसर पारेर ल्याएको गीतका शब्द राजु आर डीका हुन्। गायक स्वयमकै संगीत रहेको गीतको भिडियोमा मोडल गीता ढुंगाना र अभिषेक श्रेष्ठको अभिनय रहेको छ। पहिलो भेटमा नजर जुधाएर ख्याल ठट्टामा नै प्रेममा परेको कुरालाई निर्देशक विक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन्।लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन रहेको छ। गायक सिङले यसअघि नै आधा दर्जन भिडियो ल्याइसक्नु भएको छ। अमेरिकामा रहेका महेश जोशी, मकाउमा रहेका अ्मर लिङ्देन, अडियो नेपालका बुद्ध सयमी र काठमडौँका सन्तोष बिश्वोकर्माको हयोगमा भिडियो निर्माण भएको गायक सिङले बताए।
काठमाडौँ, वैशाख १ गते । एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबारदेखि बन्द प्रशिक्षण सुरु गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल टोलीको प्रशिक्षण दशरथ रंगशालामा गराउने जानकारी दिएको हो । टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २५ जना खेलाडी बोलाउनुभएको छ । एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया रहेका छन् । नेपालका लागि यो तुलनात्मक रुपमा कठिन समूह हो । छनोट खेल कुवेतमा जुन ८ देखि १४ तारिखसम्म हुनेछ । समूहको शीर्ष टोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछ । प्रशिक्षणमा बोलाइएका खेलाडी : किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ र विशाल राई ।