• २७ वैशाख २०८१, बिहिबार

फाइनान्स कम्पनीको नाफामा कमी

blog

काठमाडौँ, जेठ ४ गते । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा फाइनान्स कम्पनीको नाफा आर्जन झन्डै ४० प्रतिशतले खुम्चिएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १५ वटा फाइनान्स कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरणअनुसार अघिल्लो वर्षको सोही वर्षको तुलनामा नाफा खुम्चिएको हो ।

पछिल्लो समय मुलुकले झेलिरहेको तरलता समस्या, व्यापार घाटा र विदेशी विनिमय सञ्चितिको प्रतिविम्ब फाइनान्स कम्पनीका साथै वाणिज्य बैङ्क र विकास बैङ्कको नाफामा पनि देखिएको छ । बैङ्किङ क्षेत्रमा तरलता अभाव जारी रहँदा वित्त कम्पनीको नाफा वृद्धि कमजोर देखिएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा विकास बैङ्कको नाफा ८ दशमलव ८३ प्रतिशतले बढेको छ भने वाणिज्य बैङ्कको नाफा ०.५४ प्रतिशतले मात्रै बढेको छ तर फाइनान्स कम्पनीको नाफामा भने धेरै कमी आएको छ ।

सञ्चालनमा रहेका १७ मध्ये १५ वटा फाइनान्स कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा कुल ९३ करोड ९० लाख ७९ हजार रुपियाँ खुद नाफा आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८.७० प्रतिशतले कमी हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा फाइनान्स कम्पनीले एक अर्ब ५३ करोड १९ लाख २५ हजार रुपियाँ खुद नाफा आर्जन गरेका थिए । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा अधिकांश कम्पनीको नाफा खुम्चिएको हो । १५ वटा कम्पनीमध्ये तीनवटा कम्पनीको नाफा बढेको छ भने बाँकी सबै कम्पनीको नाफा खुम्चिएको छ ।

वित्तीय विवरण सार्वजनिक गरेका १५ फाइनान्स कम्पनीमध्ये जानकी फाइनान्स, नेपाल फाइनान्स र बेस्ट फाइनान्सबाहेक अरू सबै फाइनान्सको नाफा खुम्चिएको हो ।

फाइनान्स कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अधिकांश कम्पनीको खुद ब्याज आम्दानी बढे पनि सञ्चालन नाफामा गिरावट आएको छ भने खराब कर्जा बढेकाले खुद नाफा प्रभावित भएको छ । चरम तरलता अभावका कारण ब्याजदर बढेपछि लागत बढेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा बेस्ट फाइनान्स परेको छ भने मल्टिपर्पस फाइनान्सले भने सबैभन्दा कम नाफा आर्जन गरेको छ । मल्टिपर्पसले नौ महिनामा पाँच लाख रुपियाँ मात्रै नाफा आर्जन गरेको हो ।

कुल नाफाका आधारमा बेस्ट फाइनान्स अगाडि छ भने नाफा आर्जन गरेको प्रतिशतका आधारमा नेपाल फाइनान्स र जानकी फाइनान्स अगाडि छन् । नेपाल फाइनान्सले ८१६.१७ प्रतिशतले नाफा बढाएको छ भने जानकीले २५५.६७ प्रतिशतले बढाएको छ तर नाफा रकमका आधारमा भने यी दुई कम्पनी निकै पछाडि छन् । चैत मसान्तसम्ममा बेस्ट फाइनान्सको सेयरधनीलाई बाँड्न मिल्ने वितरणयोग्य नाफा सबैभन्दा धेरै देखिएको छ । कम्पनीको वितरणयोग्य नाफा २४ करोड रुपियाँ रहेको छ । मञ्जुश्रीको यस्तो नाफा ११ करोड रुपियाँ मात्रै छ ।

फाइनान्स कम्पनीमा आईसीएफसी फाइनान्स व्यवसाय विस्तारमा सबैभन्दा अगाडि देखिएको छ । यसको निक्षेप र कर्जा क्रमशः १६ अर्ब ४३ करोड र १३ अर्ब ८२ करोड रुपियाँ रहेको छ । आईसीएफसी फाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी सबैभन्दा धेरै छ भने खर्च बढी हुँदा खुद नाफामा सङ्कुचन आएको छ ।

यस्तै मल्टिपर्पस फाइनान्स भने निक्षेप र कर्जा दुवैमा सबैभन्दा पछाडि देखिएको छ, जसको निक्षेप ५९ करोड छ भने कर्जा ५६ करोड रुपियाँ रहेको छ ।बेस्ट फाइनान्सको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै २४ रुपियाँ ५६ पैसा देखिएको छ भने मल्टिपर्पस फाइनान्सको प्रतिसेयर आम्दानी सबैभन्दा कम १५ पैसा मात्रै रहेको छ ।

प्रतिसेयर नेटवर्थ भने गुडविल फाइनान्सको सबैभन्दा धेरै छ, जसको प्रतिसेयर नेटवर्थ २०२ रुपियाँ ३२ पैसा छ भने समृद्धि फाइनान्सको सबैभन्दा कम ७९ रुपियाँ ६४ पैसा छ । मञ्जुश्री फाइनान्सको चुक्ता पुँजी सबैभन्दा धेरै एक अर्ब ३५ करोड रुपियाँ रहेको छ ।

जगेडा कोषमा गुडविल फाइनान्स सबैभन्दा अगाडि रहेको छ । यसको जगेडामा ९६ करोड रुपियाँ रहेको छ । समृद्धि फाइनान्सको जगेडा कोष १६ करोड रुपियाँले घाटामा छ । यस्तै १५ वटा फाइनान्स कम्पनीको कुल चुक्ता पुँजी १३ अर्ब ३८ करोड रुपियाँ पुगेको छ, जसमा सबैभन्दा कम पुँजी मल्टिपर्पस फाइनान्सको रहेको छ ।


Author

भेषराज बेल्बासे