• ६ जेठ २०८१, आइतबार

पालिकाको अन्तिम परिणाम आउने क्रम जारी

blog

निर्वाचित कृष्णप्रसाद ढकाल र रीताकुमारी चौधरी, दीनानाथ चौधरी र कल्पनाकुमारी चौधरी (बायाँबाट क्रमशः) । तस्बिर : माला कर्ण

जनकपुर, जेठ ४ गते । मधेस प्रदेशअन्तर्गत जिल्लाका स्थानीय तहको अन्तिम मत परिणाम आउन थालेको छ । अहिलेसम्ममा एक नगरपालिका र चार गाउँपालिकाको मत परिणाम सार्वजनिकभएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशका सप्तरी, धनुषा, सर्लाही, सिरहाका केही स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षका अन्तिम परिणाम घोषणा भएको छ । 

घोषणा भएको परिणामअनुसार नेपाली काँग्रेस तीन, नेकपा माओवादी केन्द्रले एक र नेकपा एमालेले तीन प्रमुख तथा तीन उपप्रमुखमा नेपाली काँग्रेस, एक उपाध्यक्षमा नेकपा माओवादी केन्द्र, एक उपाध्यक्षमा एमाले र एक उपाध्यक्षमा जसपाले जित हासिल गरेका छन् । नेपाली काँग्रेसले एक नगरपालिका प्रमुख, दुई गाउँपालिका अध्यक्ष, एक उपप्रमुख, दुई उपाध्यक्ष जितेको छ भने एमालेले एक अध्यक्ष, नेकपा माओवादी केन्द्रले एक अध्यक्ष र एक उपाध्यक्ष जितेको छ ।

काँग्रेस र एमाले विजयी

कल्याणपुर र बोदेबर्साइन समाचारदाताका अनुसार सप्तरीको एक नगरपालिका र एक गाउँपालिकाको मतगणना सम्पन्नभएको छ । जिल्लाको सप्तकोसी नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ भने अग्निसाइर कृष्णासवरण गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली काँग्रेस विजयीभएका छन् । 

सप्तकोसी नगरपालिका प्रमुखमा कृष्णप्रसाद ढकाल र उपप्रमुखमा रीताकुमारी चौधरी निर्वाचित हुनुभएको छ । ढकालले चार हजार ४५९ मत ल्याउनुभएको छ भने उपप्रमुखमा चौधरीले तीन हजार ९५८ मत ल्याई विजयी हुनुभएको छ । ढकालले निर्वतमान नगरप्रमुख एमालेका उम्मेदवार उत्तमकुमार शर्मालाई पराजित गरी निर्वाचित हुनुभएको हो । 

त्यस्तै अग्निसाइर कृष्णासवरण गाउँपालिका अध्यक्षमा नेकपा एमालेका दिनानाथ चौधरी विजयी हुनुभएको छ । उपाध्यक्षमा नेपाली काँग्रेसकी कल्पनाकुमारी चौधरी निर्वाचित हुनुभएको छ । सो गाउँपालिकामा कुल १२ हजार ४२५ खसेको मतमा चौधरीले चार हजार ८७४ मत ल्याउनुभएको छ । 

उहाँले निवर्तमान गाउँपालिका अध्यक्ष परशुराम चौधरीलाई पराजित गर्दै विजय हासिल गर्नुभएको छ । परशुरामले तीन हजार ८८८ मत ल्याउनुभएको छ । काँग्रेसका परशुराम चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा तीन हजार ३९५ मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

गाउँपालिकाका उपाध्यक्षमा भने काँग्रेसका कल्पनाकुमारी चौधरीले चार हजार २१६ मत ल्याएर जित हासिल गर्नुभएको छ । गाउँपालिका अध्यक्षसहित एमालेबाट वडा नम्बर १ मा सबजुल खलिफा र ५ मा सबदुल मियाँ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । काँग्रेसबाट वडा नम्बर ३ मा गोपालप्रसाद चौधरी थारू, ४ मा तेजनारायण यादव र ६ मा अशोककुमार आचार्य वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर २ मा भने नेकपा (माओवादी केन्द्र)का पशुपतिप्रसाद चौधरी वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

धनौजीमा काँग्रेस 

जनकपुरधाम समाचारदाताका अनुसार धनुषाको धनौजी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राजकुमार साह निर्वाचित हुनुभएको छ । गाउँपालिका उपाध्यक्षमा पनि काँग्रेसकै उम्मेदवार रावतीदेवी मण्डल विजयी हुनुभएको छ । उहाँ दुई हजार ४३० मत प्राप्त गरी विजयी हुनुभएको हो । नवनिर्वाचित उपाध्यक्ष मण्डल २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत निर्वाचित हुनुभएको थियो । 

सो गाउँपालिका जम्मा पाँच वडामध्ये तीन वडामा नेपाली काँग्रेस प्यानलसहित विजयीभएको छ भने दुई वडामा लोसपा प्यानल विजयी भएको छ । यसअघि पनि धनौजीमा काँग्रेसकै अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका थिए । 

कौडेनामा काँग्रेस र माओवादी 

यसैगरी सर्लाही समाचारदाताका अनुसार जिल्लाको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली काँग्रेस विजयीभएको छ । अध्यक्षमा काँग्रेसका रूपेशकुमार र उपाध्यक्षमा काँग्रेसकै नगिना देवी विजयी हुनुभएको छ । अध्यक्षमा निर्वाचित रूपेश कुमारले पाँच हजार २८१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसकी नगिना देवी चार हजार ९६३ मतसहित विजयी हुनुभएको छ । 

कौडेना गाउँपालिकाका सातवटा वडामध्ये वडा नम्बर १, २, ४ र ५ मा नेपाली काँग्रेस, वडा नम्बर ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टी, वडा नम्बर ६ मा माओवादी केन्द्र र वडा नम्बर ३ मा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । 

यस्तै सर्लाहीको बलरा नगरपालिकाका प्रमुखमा नेकपा माओवादी केन्द्रका रामाशङ्करप्रसाद कुशवाहा चार हजार ६४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपप्रमुखमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी हुनुभएको छ । उप्रमुखमा माओवादीकी कोशिला देवी चार हजार ३५१ मत ल्याएर विजयी हुनुभएको छ । ११ वटा वडा रहेको बलरा नगरपालिकामा नेपाली काँग्रेसले छ, माओवादी केन्द्रले तीन, नेकपा एमालेले एक र लोसपाले एक वडामा विजय प्राप्त गरेका छन् । 

भगवानपुर र विष्णुपुरमा एमाले 

सिराहा समाचारदाताका अनुसार सिराहाको भगवान्पुर र विष्णुपुर गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार उग्रनारायण यादव र सत्यनारायण यादव निर्वाचित हुनुभएको छ । उहाँहरूले निवर्तमान गाउँपालिका अध्यक्ष रहनुभएका बेचनप्रसाद यादव र जागेश्वर यादवलाई पराजित गर्नुभएको हो । 

भगवान्पुर गाउँपालिका एमालेका उग्रनारायण यादवले चार हजार ३०२ मत प्राप्त गर्नुभएको थियो । भगवान्पुर गाउँपालिकाका उपाध्यक्षमा एमालेका रेखाकुमारी यादव तीन हजार ९६० मत प्राप्त गरी निर्वाचित हुनुभएको भगवानपुर गाउँपालिकाका निर्वाचन अधिकृत विकासकुमार रजकले जानकारी दिनुभएको छ ।

यसैगरी विष्णुपुर गाउँपालिकाका अध्यक्षमा एमालेका सत्यनारायण यादवले निकटतम प्रतिद्वन्द्वीलाई ४१ मतले पछाडि पार्दै निर्वाचित हुनुभएको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले दुई हजार १५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका जागेश्वर यादवले दुई हजार ११७ मत प्राप्त गर्नुभएको छ ।विष्णुपुर गाउँपालिकाका उपाध्यक्षमा भने जसपाकी गीताकुमारी सिंह दुई हजार २७२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । 

मटिहानीमा एमालेका दुई वडाध्यक्ष 

महोत्तरीको मटिहानी नगरपालिकामा नेकपा एमालेका दुई वडाध्यक्ष विजयी हुनुभएको छ । सो नगरपालिका–२ मा नेकपा एमालेका मोहम्मद रयुफ र वडा ३ मा नेकपा एमालेका नाजिकर मिया विजयी हुनुभएको छ । 

त्यस्तै पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता गिरिराजमणि पोखरेलको किल्ला रहेको वडामा नेपाल कम्युनिस्ट पार्टी एमालेले कब्जा जमाएको छ । बर्दिबास नगरपालिका–३ मा नेकपा एमालेका विराट विष्टले विजय प्राप्त गर्नुभएको छ ।  

त्यसैगरी वीरगञ्ज समाचारदाताका अनुसार पर्साको पर्सागढी नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवारी दिएका नवलकिशोरप्रसाद कलवार वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । 

पूर्वडीआईजी रमेश खरेलको नेतृत्वमा गठित नेपाल सुशासन पार्टीका तर्फबाट पर्साको पोखरिया नगरपालिका–९ वडाध्यक्षमा नौसाद आलम विजयी हुनुभएको छ । नेपाली काँग्रेस पार्टीले आफूलाई टिकट नदिएपछि जनता समाजवादी पार्टीमा प्रवेश गरेर वडाध्यक्षमा उम्मेदवारी दिनुभएका उहाँले नेपाली काँग्रेसका उम्मेदवारलाई हराउँदै विजयी हुनुभएको छ । वीरगञ्ज महानगरपालिका–१ को वडाध्यक्ष जसपाका मनोज राउत कुर्मी विजयी हुनुभएको छ ।

यस्तै कल्याणपुर समाचारदाताका अनुसार स्थानीय तह निर्वाचनको हालसम्मको मत परिणामअनुसार सप्तरीमा ७१ वटा वडाका परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार नेपाली काँग्रेस १५ वटा वडामा, नेकपा एमाले १६ वटा वडामा, नेकपा माओवादी केन्द्र सातवटा वडामा, नेकपा एकीकृत समाजवादी नौवटा वडामा, जनता समाजवादी पार्टी १६ वटामा र लोकतान्त्रिक समाजवादी र जनमत पार्टी चार/चारवटा वडामा जित हासिल गरेको छ ।

Author

मधेस प्रदेश ब्युरो