• ६ मंसिर २०८२, शनिबार

ताप्लेजुङमा थपिए एक हजार ८५६ नयाँ मतदाता

blog

जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावली दर्ता गराइँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर ६ गते ।
ताप्लेजुङमा करिव दुई हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार पछिल्लोपटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्ममा उक्त मतदाता थपिएका हुन् ।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नेगरी मिति तोकेपछि गत असोज दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको हो । मतदाता नामावली दर्ताका लागि सुरुमा कात्तिक मसान्तसम्म र पछि मङ्सिर ५ गते शुक्रबारसम्म पाँच दिन म्याद थप गरिएको थियो । उक्त अवधिमा ताप्लेजुङमा कुल एक हजार ८५६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी एवम् कम्प्युटर अप्रेटर बान्दवराज दुलाल (विपिन) का अनुसार नयाँ दर्ता भएका मतदातामध्ये एक हजार २५ पुरुष र ८३१ जना महिला रहेका छन् । यसअघिको निर्वाचनपछि र नयाँ दर्ता भएकोसमेत ताप्लेजुङमा मतदाताको सङ्ख्या कुल ९५ हजार ८९ पुगेको दुलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल मतदाता सङ्ख्यामध्ये ५१ हजार १०० पुरुष र ४३ हजार ९८९ जना महिला रहेका छन् । पछिल्लो मतदाता नामावलीमा नाम दर्ता भएकाहरुमध्ये आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य मतदाताको विवरण छुटाउनलाई भने केही समय लाग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यता नयाँ नामावली दर्ता गर्नेमा करिव ९५ प्रतिशत किशोर (जेनजी) उमेर समूहका रहेका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार विगतको तुलनामा यसपटक मतदाता नामावली दर्ता गर्नमा युवा पुस्ताको उत्साह देखिएको थियो । ताप्लेजुङमा यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८२ हजार २८५ मतदाताले मतदान गरेका थिए ।