काठमाडौं, वैशाख २ गते । गीतकार एकनारायण भण्डारीको शब्दमा नयाँ गीत सार्वजनिक भएको छ । भण्डारीले नयाँ वर्ष २०७९ को अवसर पारेर ‘प्लिज नभन है हुन्न’ बोलको गीत सार्वजनिक गर्नुभएको हो । गायक युवराज मगर र गायिका टीका प्रसाईंको स्वरमा रहेको उक्त गीतको भिडियोमा पल शाह र शुभेक्षा मगर भारतीले अभिनय एवं नृत्य गर्नुभएको छ । गायक युवराजकै संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गर्नुभएको हो ।डान्सिङ विटको गीतलाई गायक युवराज स्वयंमले निर्देशन गर्नुभएको छ । भिडियोमा गाउँको युवा र सहरकी युवतीबीचको कथालाई प्रस्तुत गरिएको छ । मोर्डनपन र मौलिकपन दुवै पक्षलाई गीत र भिडियोमा प्रस्तुत गरिएको गायक एवं निर्देशक युवराजले जानकारी दिनुभयो ।ज्ञानेन्द्र शर्माको छायाँकन, सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गर्नुभएको हो । गायक युवराजकै युट्युब च्यालमार्फत यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।
हर्षोल्लासका साथ मनाए सुथःसिया जात्रातस्बिर: कविता थापाभक्तपुर, वैशाख २ गते । बिस्का जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् ।बिहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो । थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ ।यो जात्रा आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । बिहीबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीको खट ल्याएर यो जात्रा मनाइएको छ । जात्रामा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायत जनप्रतिनिधिको पनि सहभागिता रहेको छ । यो जात्रालाई भव्य र सभ्यरुपमा मध्यपुरका बासिन्दाले मनाउँदै आएको बताउँदै नगर प्रमुख श्रेष्ठले जात्राले यहाँका संस्कृति र धार्मिक परम्परालाई हर्षोल्लासका साथ मनाएर उदाहरण दिएको बताउनुभयो ।थिमिमा ३२ खट सहभागी रथ बोकेर गराई परम्परागतरूपमा मनाउँदै आएको सो जात्रा अहिले थिमि क्षेत्रमा २३, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक, दक्षिण बाराही र निकोसेरालगायतमा छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइने गरेको उहाँले जानकारी दिनुभयो ।यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सुथः सिया जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो । बालकुमारीबाट परम्परागतरुपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिन्छ । परम्पराअनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन भनेर लायकू प्रवेशद्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गण बाटो छेकेर बस्ने परम्परा रहेको छ । अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरी क्रमैसँग सुँगा द्यो, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ भने बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ ।
गोकर्ण दयाल बैतडी, वैशाख २ गते । पहाडको चिसो बताससँगै बग्ने निर्मल पानी सम्झेर तराई झर्नेदेखि रोजगारीका लागि परदेश जाने सबैले अञ्जुलीमा पहाडको चिसो पानी पिउने कुराको वर्णन गरेर गाईएको गीतको स्मरण सबैले गर्नुहुन्छ । गीतमा वर्णन गरेजस्तै पहाडका कन्दराबाट दूधजस्तै बग्ने पानीका मुल सुक्न थालेका छन् । डाडाँमाथि जथाभावी डोजरले सडक खन्दा वस्तीमा खानेपानीको हाहाकार हुन थालेको छ । पर्यावरणीय अध्ययन नगरी अन्दाधुन्ध डोजरले बाटो निर्माण गर्दा दूधजस्तै कञ्चन बग्ने बैतडीका १० वटा पानीका मुहान सुकेका छन् । डोजरले डाँडाकाँडा चिर्दा थुप्रिएको माटोले बैतडीका विभिन्न स्थानीय तहमा रहेका खानेपानीका मुहान समेत पुरिएका छन् । बैतडीमा नेताका डोजरले जथाभावी सडक निर्माण गर्दा पानीका मुहान सङ्कटमा परेको नागरिक समाज बैतडीका गणेश ठकुराठीले बताउनुभयो । “चुनाव जितेपछि नेताले आफ्नै डोजर किनेका छन्”, ठकुराठीले भन्नुभयो, “पर्यावरणीय अध्ययन नगरी सडक निर्माण गर्दा पानीका मुहान सुक्न थालेका छन् ।” पानीका मुहान सुकेपछि डिभिजन खानेपानी कार्यालय बैतडीले बैतडीका विभिन्न स्थानीय तहमा खोलाबाट १३ वटा लिफ््ट प्रविधिका खानेपानी योजना निर्माण गरिरहेको जानकारी दिएको छ । लिफ्ट प्रविधिबाट अहिले बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौं, पाटन नगरपालिकाको गैराखान, मेलौली नगरपालिकाको मेलौली, सिगास गाउँपालिका–३, को लगन र दोगडाकेदार गरी १३ वटा लिफ्ट प्रविधिका खानोनी योजना निर्माण भइरहेको खानेपानी तथा सररफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताउनुभयो । डोजरकै कारणले दशरथ चन्द नगरपालिका –२, देहिमाण्डौंमा खानेपानीका मुहान सुकेका छन् । माटोले पुरिएको खोलाको मुहान देखााउँदै स्थानीय पूर्णबहादुर बोहराले भन्नुभयो– “दुई तीन वर्षअघि कलकल बग्ने भट्टाड खोलाको पानी अहिले सुकेको छ । माछा भेटिने यो खोला अहिले सुख्खा बगरमा परिणत भएको छ । खोलामा भर्खरै निर्माण भएका सडकको रातोमाटो जम्मा भएको छ ।”जथाभावी डोजर चलाएर सडक खन्दा जमिन हल्लिएको र सडकको माटोले खोलाहरु पुरिएको स्थानीयको भनाई छ । गाउँमा खानेपानीको हाहाकार भएपछि खोलाबाट लिफ््ट गरेर पानी तान्ने योजना निर्माण गर्नुपरेको देहिमाण्डौंवासीले बताएका छन् । जथाभावी डोजर चल्दा मेलौली नगरपालिकामा पनि आसपासका खानेपानीमा मुहान सुकेका छन् । पछिल्लो समय पानीका मुहान सुकेपछि पानीको चर्को समस्या झेल्नुपरेको स्थानीयवासीले पीडा सुनाएका छन् । पानीको हाहाकार भएपछि बजारबाट निकै टाढाको जंगलबाट घोडामा पानी बोकेर होटल सञ्चालन गर्नु परिरहेको मेलौली नगरपालिकास्थित बिजु होटलका सञ्चालक विजयसिंह नायकले पीडा सुनाउनुभयो । मेलौली नगरपालिका र बजार क्षेत्रमा पानी आपूर्ति गर्न सुर्नया नदी किनारबाट पानी तान्न तीन करोडको साना सहरी खानेपानी योजना निर्माण हुन लागेको डिभिजन खानेपानी कार्यालय बैतडीले जनाएको छ । डोजरका कारण बैतडीका दुई महत्वपूर्ण संरक्षित वनका रुपमा रहेका सिगास संरक्षित वन र ग्वाल्लेक संरक्षित वन मासिन थालेपछि पानीका मुहान संकटमा परेका छन् । बैतडी सदरमुकामका लागि खानेपानीको आपूर्ति हुँदैआएको ग्वाल्लेक संरक्षित वनबाट आउने पानी घटेको साना सहरी खानेपानीका अध्यक्ष धर्मानन्द पाण्डेयले बताउनुभयो । ग्वाल्लेक संरक्षित वनमा दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाले दुबैतिरबाट डोजर चलाएर सडक खन्न थालेपछि ग्वाल्लेक संरक्षित वन संकटमा परेको छ ।
काठमाडौं, वैशाख २ गते । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटमा नेता प्रकाण्डले स्थानीय तह निर्वाचनमा सहभागी हुन आफूहरू सकारात्मक रहेको बताउनुभएको थियो ।निर्वाचनमा सहभागिताका लागि नेकपाले विभिन्न आरोपमा जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाइ गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राखिरहेको जानकारी गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले दिनुभयो । यही विषयमा पटक–पटक भएका वार्ता सकारात्मक रहेकाले सहमतिको अन्तिम चरणमा पुगेको दुवै पक्षले बताएका छन् । सरकारले कानुन बमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया आरम्भ गरेपछि वार्ता सरकारात्मक बनेर सहमतिको नजिक पुगेको हो । वार्तामा गृहमन्त्री खाणले कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताउनुभको थियो ।
काठमाडौं, वैशाख २ गते । नेपाल सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा राउत नेतृत्वको संगठनसँग वि.सं. २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते भएका सहमति कार्यान्वयनबारे छलफल भएको हो । वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीको नेतृत्व अध्यक्ष राउतले गर्नुभएको थियो । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री खाणसहित महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे र सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी हुनुहुन्थ्यो । त्यस्तै, जनमत पार्टीका तर्फबाट अध्यक्ष राउतसहित उपाध्यक्षत्रय बसन्त कुशवाह, दिपक साह र नरेन्द्र साह तथा महासचिव चन्दन सिंह सहभागी हुनुहुन्थ्यो । वर्तामा जनमत पार्टीले आफूहरू स्थानीय तह निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगमा दल दर्ता गराएको र त्यसअघि आफूहरूसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग गरेको थियो । विभिन्न आरोपमा थुनामा पार्टीका नेता कार्यकतालाई रिहा गर्नुपर्ने, अभिव्यक्ति, स्वतन्त्रता र नागरिक हकको सम्मान हुनुपर्ने माग पार्टीले राखेको थियो । त्यस्तै, जनमत पार्टीले आफूहरूले गरेको कृषि आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकता रिहा र कृषिसम्बन्धी आफूहरूका माग प्रस्तुत गर्दै पूरा गर्न आग्रह गरेको थियो । मधेस आन्दोलनका क्रममा भएको सहमति कार्यान्वयन हुनुपर्ने माग पार्टीको थियो । सरकारका तर्फबाट गृहमन्त्री खाणले मुलधारको राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचनमा जाने तयारी गर्नु स्वागतयोग्य काम भएको बताउनुभयो । उहाँले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताउनुभयो । वार्ताका क्रममा जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त गरेको दललाई मात्र दलको चुनाव चिन्हबाट निर्वाचन लड्न पाउने व्यवस्था हटाउन माग गरिएको थियो । गृहमन्त्री खाणले सबै राजनीतिक दलले आफ्नो दलको चुनाव चिन्ह पाउने व्यवस्था गर्न निर्वाचन आयोगलाई आग्रह गरेको र त्यसै अनुरुप आयोगले निर्णय गरिसकेको जानकारी दिनुभयो । अदालतमा रहेका बन्दी रिहा गर्न पनि पहल गर्ने गृहमन्त्री खाणले बताउनुभयो । त्यस्तै संविधान संशोधन गर्न गठबन्धन सरकार सकारात्मक रहेको उहाँले बताउनुभयो । गृहमन्त्री खाणले जनमत पार्टीले राखेका कृषिसम्बन्धी मुद्दामा योजना आयोग र अर्थमन्त्रालयसँग छलफल गरेर आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न पहल गर्ने बताउनुभयो । जनमत पार्टीका अध्यक्ष राउतले किसान आन्दोलनका माग कुनै न कुनै रूपमा सम्बोधन होस् भन्ने आफूहरूको माग रहेको बताउनुभयो ।
काठमाडौं, वैशाख २ गते । सरकारले संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (युएसएआईडी)ले दिने ७९ अर्ब ७१ करोड अनुदान सहायता स्वीकार गरेको छ । चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभएको हो ।उहाँले अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआईडीबाट प्राप्त हुने छ सय ५९ मिलियन (करिब ७९ अर्ब ७१ करोड) अनुदान स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभएको हो ।त्यस्तै, बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब) बराबरको सहुलियत ऋण साहयता स्वीकार गर्ने निर्णय गरेको छ ।यसैगरी, सशस्त्र प्रहरी बलको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई नियुक्ति गर्ने र राष्ट्रिय आवास कम्पनी लिमिडेटको अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।
काठमाडौं, वैशाख २ गते । नेकपा (माओवादी केन्द्र) को शुक्रबार कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी समिति सदस्यहरुको बैठकमा निर्वाचन सम्बन्धमा विशेष छलफल भएको छ । माओवादी केन्द्रका नेता लीलामणि पौडेलले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने सैद्धान्तिक निर्णय भइसकेको अवस्थामा अब यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्नेबारे बैठकमा छलफल भएको जानकारी दिनुभयो । उहाँले आजको बैठकबाट ठोस निर्णयभन्दा पनि तलको रिपोर्टिङ लिने र गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताउनुभयो । यसअघि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायत गठबन्धन दलका शीर्ष नेताहरुबीच चुनावमा गठबन्धनका दलरुबीच मात्रै तालमेल गर्ने निर्णय भएको थियो । शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको बैठकमा ती विषयमा करिब दुई घण्टा छलफल भएको थियो ।
हरि कोइराला उर्लाबारी, वैशाख २ गते । मोरङको पथरीशनिश्चरे नगरपालिकामा १५ देखि १५ वर्ष उमेर समूहका बालबालिलाई टाइफाइडविरुद्ध खोप लगाइने भएको छ । यही वैशाख ११ देखि १८ गतेसम्म टाइफाइडविरुद्धको खोप लगाइने कार्यक्रम तय भएको नगर खोप समन्वय समितिले जनाएको छ । नगर खोप समन्वय समितिको बैठकले ५६ वटा खोप केन्द्र तय गरी टाइफाइडविरुद्धको खोप लगाउने निर्णय गरेको छ । एलर्जी, एचआइभी–एड्स, ज्वरोका विरामी र कोरोनासहितका अन्य खोप नलगाएका १४ महिना मुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन नमिल्ने स्वास्थ्य प्राविधिकले जनाएको छ ।
विजयकुमार साह ढल्केवर, वैशाख २ गते । मिथिला क्षेत्रमा शुक्रबार परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशिर्वाद लिएर जुडशीतल पर्व मनाइँदै छ ।नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन बिहीबार ‘सतुवाइन’ र आज दोस्रो दिन आज ‘जुडशीतल’मनाइएको हो । यो पर्वमा श्रेष्ठजनले शीतलजल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशिर्वाद दिने प्रचलन छ ।नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यसपर्वको मुख्य विशेषतामा आ–आफ्ना अग्रजबाट आशिर्वाद प्राप्त गर्नुका साथै चुलोको पूजा र वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हालेर सिँचाई पनि गर्ने गरिन्छ । सो अवसरमा शुक्रबार विहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर टाउकोमा राखि वर्षभरि ‘मगज ठण्डा रहोस्’ भनेर आशिष दिने चलन छ । यस पर्वको अर्को मुख्य विशेषतामा चुलोको पूजा गर्नु हो । चुलोको लिपपोत गरेर पूजा गरिन्छ । त्यसपछि, घरका चुलोमा राति खाना पकाइँदैन । दिनमै पकाइएका भोजन नै रातिमा खाने परम्परा रहेको छ । वर्षमा एक दिन चुलोको पूजा पनि गरिन्छ । सो अवसरमा घरका देउताका साथै चुलो र चौंखटको पूजा गरी खाना, दही र चिनी प्रसादका रुपमा चढाउने गरिन्छ । प्रसादका रुपमा चढाइएका खानाको परिकार नयाँ माटाको भाँडोमा एक दिनअगावै पवित्रताका साथ पकाएर राखिएको हुन्छ ।
वासिङ्टन, वैशाख २ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन् ।बुधबार, अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न एक उच्चस्तरीय अधिकारीलाई कीभ पठाउने बिचार गरिरहेको छ । उक्त उच्चस्तरीय टोलीमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको छ । ‘होइन, हामीले राष्ट्रपतिलाई युक्रेन पठाउँदैनौं, साकीले सो कुरा बताएको पोलिटिको ह्वाइट हाउस संवाददाता यूजीन डेनियलले उद्धृत गर्दै उल्लेख गरेका छन् । थुप्रै विदेशी नेता र उच्च अधिकारीहरूले हालै युक्रेन भ्रमण गरिरहेका छन् र रुसी सैन्य कारबाहीको विरुद्धमा युक्रेनको पक्षमा समर्थन व्यक्त गरेका छन् ।
काठमाडौं, वैशाख २ गते । हामी सबैले सुन्दै आएको शब्द हो, एलर्जी । सामान्यतः छालामा आउने समस्यालाई हामीले एलर्जीका रुपमा बुझ्छौं । यो जुनसुकै उमेरसमूहका मानिसलाई पनि हुने गर्छ । अध्ययनका अनुसार जीवनमा एक पटक जो कोही व्यक्तिलाई पनि एलर्जी हुने हुन्छ । सामान्य रुपमा लिइने एलर्जीलाई हेलचेक्राई गरियो भने ज्यान पनि लिन सक्ने चिकित्सक बताउँछन् । एलर्जी विभिन्न कारणले हुने चिकित्सक बताउँछन् । मानिसको छाला अनुसार एलर्जी पनि फरक फरक हुने चिकित्सक बताउँछन् । वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा सन्जुबाबु श्रेष्ठका अनुसार खाना, धुलो, फुलको कण, बनस्पतिको पात र किराको टोकाईलगायतबाट एलर्जी हुन्छ । एलर्जी शरीरको जुनसुकै भागमा हुने भएपनि खुला भागमा बढी एलर्जी देखिने डा श्रेष्ठ बताउनुहुन्छ । छालाको एलर्जी के हो ? “कुनै पनि चिजको सम्पर्कमा आउनेबित्तिकै शरीरमा उल्टो असर देखिने अवस्था नै एलर्जी हो,” उहाँ भन्नुहुन्छ, “एलर्जी तब हुने गर्छ, जब शरीरले कुनै कुराप्रति तत्काल प्रतिक्रिया जनाउँछ । शरीरमा एलर्जी पैदा गर्ने पद्धार्थलाई एलर्जन भन्ने गरिन्छ, जुन शरीरभन्दा बाहिरका बस्तुबाट बन्छ ।” एलर्जी हुनुको मुख्य कारण चिकित्सकका अनुसार विभिन्न किसिमको धातु, वनस्पति, दूध वा रसायनका कारण पनि मानिसलाई एलर्जी हुने गर्दछ । किन हुन्छ एलर्जी ? चिकित्सकका अनुसार छालामा एलर्जी भयो भने चिलाएर डाबर आउने, नाकमा भयो भने हाछ्यूँ आउने, श्वास नलीमा भए खोकी र दम हुने, छालामा भए चिलाएर डाबर आउने र आँखामा एलर्जी भए आँसु आउने हुन्छ । कहिलेकाँही खानेकुरा, कीराको टोकाइ, कुनै धातुको प्रयोगले एलर्जी हुने गर्दछ । छालाको एलर्जी रगतको जाँच गरे पनि पत्ता लगाउन सकिन्छ । कुनै बेला एलर्जीक टेस्ट गरे पनि के कारणले गर्दा एलर्जी भएको भन्ने पहिचान हुने चिकित्सक श्रेष्ठ बताउनुहुन्छ । उपचार सुरुमा एलर्जी हुनुको कारण पत्ता लगाउनुपर्छ । त्यसपछि मात्रै एलर्जीको उपचारमा सहज हुने चिकित्सक बताउँछन् ।
नारायण काफ्लेकाठमाडौँ, वैशाख २ गते । विगत दस वर्षको तुलनामा अदालतहरूको कार्यबोझ शतप्रतिशतसम्म वृद्धि भएको छ । नागरिकका आधारभूत विषयको प्रारम्भिक सुनुवाइ गर्ने जिल्ला अदालतको कार्यबोझ शतप्रतिशतले बढेको छ । सर्वोच्चको कार्यबोझ पनि दस वर्षको तुलनामा ७५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उच्च अदालतहरूको कार्यबोझ पनि ५७ प्रतिशतले बढेको छ । हालै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सर्वोच्चको कार्यबोझ कम गर्न उच्च र जिल्ला अदालतहरूको कार्यक्षेत्र वृद्धिको सुझाव दिए पनि सर्वोच्चको वार्षिक प्रतिवेदनले भने मातहतका अदालतको कार्यबोझ झनै बढेको देखाएको हो । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वोच्चले हालै राष्ट्रपतिसमक्ष पेस गरेको थियो । प्रतिवेदनले सर्वोच्चभन्दा जिल्ला अदालतको कार्यबोझ दस वर्षको तुलनात्मक अध्ययनमा बढी देखाएको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०६८/६९ को तुलनामा २०७७/७८ मा सर्वोच्चमा ७५.६४ प्रतिशतले कार्यबोझ बढेको छ । कार्यबोझ बढे पनि न्यायाधीश सङ्ख्यामा भने २०६८/६९ र २०७७/७८ मा खासै अन्तर परेको पाइन्न । दस वर्षअघि १८ न्यायाधीश रहेकोमा अहिले सर्वोच्चमा २१ न्यायाधीश कार्यरत हुनुहुन्छ । दस वर्षको अवधिमा सर्वोच्चमा जिम्मेवारी सरेका मुद्दाको अनुपात भने शतप्रतिशतभन्दा माथि छ । यस अवधिमा जिम्मेवारी सरेका मुद्दाको अनुपात ११८.४८ प्रतिशतले बढेको छ । सर्वोच्चमा रिटको कार्यबोझ पनि बढेको छ । दस वर्षको अवधिमा ७४ प्रतिशतले रिट कार्यबोझ बढेको छ । आर्थिक वर्ष २०६८/६९ मा १८ हजार ८८ रिट कायम रहेकामा २०७७÷७८ मा ३१ हजार ४७३ पुगेको छ । कार्यबोझ बढ्दा फस्र्योट अनुपात भने घटेको छ । २०.६७ प्रतिशतले फस्र्योट अनुपात घटेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सर्वोच्चसँगै उच्च अदालतमा पनि कार्यबोझ बढेको छ । दस वर्षको अवधिमा उच्च अदालतको कार्यबोझ ५७.३५ प्रतिशतले बढेको छ । दस वर्षअघि कुल मुद्दा सङ्ख्या ३५ हजार ८५४ कायम रहेकोमा अहिले ५६ हजार ४१७ पुगेका छन् । कार्यबोझसँगै उच्च अदालतको मुद्दा फस्र्योट अनुपात पनि बढेको छ । उच्चमा अघिल्लो दस वर्षको तुलनामा ३६.९१ प्रतिशतले फस्र्योट अनुपात बढेको प्रतिवेदनमा जनाइएको छ । उच्चमा जिम्मेवारी सरेका मुद्दाको अनुपात भने १०१ प्रतिशतले बढेको छ । जिल्ला अदालतहरूको कार्यबोझ भने शतप्रतिशतले बढेको छ । जिल्लाको कार्यबोझ १००.३५ प्रतिशतले बढेको छ । दस वर्षअघिको जम्मा लगत ९६ हजार ४२४ रहेकोमा अहिले एक लाख ९३ हजार १८४ कायम भएको छ । फस्र्योट अनुपात पनि यो अवधिमा बढेको छ । अनुपात ८२ प्रतिशतले बढेको छ । जिम्मेवारी सरेका मुद्दाको अनुपात पनि जिल्ला अदालतहरूमा उच्च छ । २०७७÷०७८ को वार्षिक प्रतिवेदनअनुसार जिम्मेवारी सरेका सङ्ख्याको अनुपात १२५.७२ प्रतिशतले बढेको छ ।
भेषराज बेल्बासेकाठमाडौँ, वैशाख २ गते । पछिल्लो समय तरलता समस्या चुलिँदै जाँदा बैङ्कहरूमा निक्षेप सङ्कलन र कर्जा प्रवाहको वृद्धिदरमा समेत सङ्कुचन आएको छ । बैङ्किङ प्रणालीमा तरलताको असर देखिँदा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन र कर्जा प्रवाहमा मात्रै नभई निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धिदरमा पनि असर देखिन थालेको छ । बैङ्क तथा वित्तीय संस्थाबाट फागुनमा निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर पनि ४.६० प्रतिशतले घटेको छ । २०७८ असार मसान्तसम्म १३९९ अर्ब तीन करोड रुपियाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई २०७८ फागुन मसान्तमा ११७१ अर्ब कायम हुने देखिएको छ । उक्त सञ्चिति करिब ६.७ महिनाको मात्र वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहने देखिन्छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको १२.८० प्रतिशत रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो वृद्धि १७.४० प्रतिशत रहेको थियो ।चालू आर्थिक वर्ष २०७८÷७९ को चैतको अन्तिम सातामा वाणिज्य बैङ्कहरूमा तीन अर्ब रुपियाँ मात्र निक्षेप थपिएको छ भने सोही अवधिमा बैङ्कहरूको कर्जा प्रवाह पनि दुई अर्ब रुपियाँमा सीमित भएको छ ।नेपाल बैङ्कर्स एसोसिएसनका अनुसार चैत तेस्रो साता अर्थात् चैत १८ देखि २५ गतेसम्म वाणिज्य बैङ्कहरूमा तीन अर्ब रुपियाँ मात्र निक्षेप थपिएको थियो भने कर्जा प्रवाह दुई अर्ब रुपियाँ भएको थियो ।चैत पहिलो सातमा बैङ्कहरूको निक्षेप तथा कर्जा दुवै घटेको थियो । पहिलो सातामा निक्षेप पाँच अर्ब तथा कर्जा लगानीमा चार अर्बले गिरावट आएको थियो । दोस्रो साता बैङ्कहरूमा दुई अर्ब निक्षेप थपिएको थियो भने दुई अर्ब नै थप कर्जा प्रवाह गरेका थिए । त्यस्तै तेस्रो सातामा एक अर्ब निक्षेप उठाएर छ अर्ब कर्जा प्रवाह गरेका थिए ।चालू आर्थिक वर्षको चैत २५ गतेसम्म बैङ्कहरूले ४३ खर्ब ३४ अर्ब निक्षेप सङ्कलन गरेर ४१ खर्ब ७७ अर्ब कर्जा विस्तार गरेको एसोसिएसनले जनाएको छ । गत फागुन मसान्तसम्ममा बैङ्कहरूले ४३ खर्ब ३३ अर्ब निक्षेप उठाएर ४१ खर्ब ७२ अर्ब कर्जा विस्तार गरेका थिए । पछिल्लो केही महिनादेखि बैङ्कहरूको निक्षेप सङ्कलनमा कमी आउन थालेपछि कर्जा लगानीमा नियन्त्रण गर्दै आएका कारण कर्जा प्रवाह पनि घट्दो क्रममा रहेको छ ।
सुकृत नेपालकाठमाडौँ, वैशाख २ गते । वर्ष २०७८ मा नेपाली रङ्गमञ्चमा खासै चहलपहल हुन सकेन । कारण, कोरोनाको तेस्रो लहर । यसले नेपाली रङ्गमञ्चलाई अधिक नै असर ग¥यो । यसका कारण धेरै रङ्गकर्मी आर्थिक चपेटामा पनि परे । धमाधम नेपाली थिएटरहरूमा नाटक बन्द भए । यसबीच रङ्गकर्मीले भर्चुअल माध्यमबाट केही नाटक देखाउने काम नगरेका होइनन् तर प्रत्यक्ष नाटक देखाउँदा भेटिने ऊर्जा दर्शकहरूले सम्भवतः भर्चुअल प्रदर्शनमा पाउन सकेनन् । वर्षको सुरुमै बन्दजस्तै हुन पुगेको रङ्गमञ्च गत वर्षको मध्यतिर भने केही तङ्ग्रिन थाल्यो । मण्डला, कुञ्ज, कौसी, पुरानो घर, थिएटर मल, शैली, शिल्पीलगायतका मोफसल र राजधानीमा अवस्थित थिएटरहरूमा पूरै जोश र जाँगरका साथ नाटकहरू मञ्चन हुन थाले । अहिले त्यसैको निरन्तरता जारी छ । मण्डलामा यस वर्ष १६ जना विद्यार्थीले डेढवर्षे तालिमपछि अभिनय गरेको नाटक ‘जिजीविषा’, राजन खतिवडा निर्देशित ‘रोगन’, दयाहाङ राई निर्देशित ‘मीतज्यू’ र सोमनाथ खनाल निर्देशित नाटक ‘तीन ट्रान्जिट’ मञ्चन भयो । यस्तै २०७८ सालको उत्तराद्र्धमा कौसी थिएटरमा आकाङ्क्षा कार्की निर्देशित ‘एनिमल फर्म’ र ‘हरेक बबाल कुरा’, चन्द्रमान भैरव निर्देशित ‘पचली भैरव’ र आशान्त शर्मा निर्देशित ‘ढल्केको सालैजो’ मञ्चन भएको थियो । सबै नाटकले अपेक्षित दर्शक पाए । वर्ष २०७८ मा एक दशकअघि बन्द भएको गुरुकुल थिएटर फेरि सञ्चालनमा आयो । रङ्गकर्मी सुनील पोखरेलले नै यो थिएटर सञ्चालनमा ल्याएका हुन् ।काठमाडौँ महानगरपालिकाको सहयोगमा एक वर्षका लागि थापागाउँस्थित कुञ्ज थिएटरमा ‘फेरि गुरुकुल’ सञ्चालनमा आएको हो । थिएटर सुरु भएसँगै सुनील पोखरेलको अनुवाद र निर्देशन रहेको नाटक ‘पुतलीको घर’को पहिलो मञ्चन गरिएको थियो । पुतलीको घरपछि गुरुकुलमा ‘ताराबाजी लै लै’ मञ्चन भयो । यसै वर्ष कुञ्ज थिएटरमै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भारतीय रङ्गकर्मी तथा प्रशिक्षक अमित बेनर्जीले सात दिन भ्वाइस एन्ड स्पिचको कार्यशाला दिएका थिए । कार्यशालामा देशका ३४ नाट्य संस्थासँग आबद्ध ३४ कलाकारको सहभागिता थियो । यस्तै सिनामङ्गलस्थित पुरानो घर थिएटरले यो वर्ष तीनवटा नाटक मञ्चन ग-यो । ‘म’, ‘लाटीको छोरो’ र ‘खत’ पुरानो घरमा यो वर्ष मञ्चन भएका नाटक हुन् । तीनवटै नाटकलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । सबै नाटकले औसत दर्शक बटुलेका थिए । वर्ष २०७८ मा थिएटर मल कीर्तिपुर रङ्गमञ्चले एउटा मात्र नाटक मञ्चन ग-यो । नाटक ‘शिरीषको फूल’ । नाटक अञ्जान प्रदीपले निर्देशन गरेका हुन् भने नाटकको परिकल्पना केदार श्रेष्ठले गरेका हुन् । नाटकले राम्रो दर्शक बटुलेको थियो । यही नाटक पोखराको पोखरा थिएटरमा पनि मञ्चन गरियो । कोरोना कहरले अर्को त्राहिमाम ल्याएन भने यस वर्ष दुई वर्ष लामो महामारीको साङ्लोबाट उम्किएर नेपाली थिएटरले आफ्नो लय समात्ने विश्वास लिन सकिन्छ । थिएटरमा मञ्चनको लामो अन्तरालपछि नयाँ नाटकको तिर्खामा दर्शकहरू पनि सम्भवतः प्रेक्षालयसम्म पुग्न आतुर छन् ।
गोरखापत्र समाचारदाताभक्तपुर, वैशाख २ गते । भक्तपुरस्थित भेलुखेलमा दुईहाते बिस्काः जात्राको लिङ्गो ठूलो प्रयासपछि बिहीबार मध्याह्न ठड्याइएको छ । लिङ्गो उठाउन लिङ्गोको फेदमा राखिने कैँची काठको टेको व्यवस्थापन नहुँदा बुधबार साँझ लिङ्गो उठाउन सकिएको थिएन ।लिङ्गो उठाइएपछि भक्तपुरमा खुसियाली छाएको छ । हिजै हुनुपर्ने भोजभतेर लिङ्गो उठाइएपछि सुरु भएको छ । गुठी संस्थान भक्तपुर शाखा प्रमुख खिमा वलीका अनुसार जात्रालाई व्यवस्थित गरिए पनि सधैँ यस्तै हुने गरेको यो जात्राको इतिहास छ । भक्तपुरको तालाकु वडा नं. २ स्थित पोट्री स्क्वायरमा बुधबार बिस्काः जात्राको लिङ्गो ठड्याइएको थियो । चैत मसान्तका दिन लिङ्गो ठड्याइएपछि उपत्यकाको नेवार बस्तीमा नयाँ वर्षको उल्लाससँगै जात्रा–पर्व सुरु हुने गर्छ । नेपाल रेडक्रस सोसाइटी नवदुर्गा समितिका सभापति तुल्सीनारायण दण्डेख्याका अनुसार भक्तपुर सहरबाहिरका जात्रालुले जात्रा बिथोलिरहेका थिए । घाइते भई उपचार गर्न आउने सबैजसो भक्तपुर भित्री सहरबाहिरका थिए । उनीहरूबाटै लिङ्गो निर्धारित समयमा उठाउन नसकिएको ठम्याइ छ । बिहीबार टोखा नगरपालिका–४ मा सपन तीर्थ मेला भर्न निकै मानिस टोखा आए । वडाध्यक्ष दीपकराज जोशीका अनुसार कुनै राजाका समयमा छोरीलाई कुष्ठरोग भएपछि सपनामा तीर्थस्थलमा स्नान गर्नू भनिएकाले सपना तीर्थ (सपन तीर्थ)मा दुनियाँदारले पनि मेला भरेर स्नान गर्ने प्रचलन रहेको कथन छ । ललितपुरको सुनाकोठीमा पनि नयाँ वर्षको दिन लिङ्गो ठड्याएर सिन्दुरे जात्रा भएको छ । सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव संरक्षण समितिका अध्यक्ष रामकृष्ण महर्जनले बिहानैदेखि जात्रामा आउनेले लिङ्गो ठड्याए । भक्तपुर दधिकोटस्थित चित्रपुरमा र चारखण्डीमा भैरव तथा गणेशको जात्रा सुरु भएको छ । काठमाडौँमा सेतो मत्स्येन्द्रनाथ रथयात्रालाई लगनटोलमा रहेकी उनकी आमाको मन्दिर परिक्रमा गराई बुधबारबाट मत्स्येन्द्रनाथ रथयात्रा समापन भएको छ ।