• १९ असार २०८१, बुधबार

गृहमन्त्रीसँग चिनियाँ राजदूतको भेट

प्रधानमन्त्री देउवालाई चीनका राष्ट्रपतिबाट बधाई

blog

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्नुहुँदै । तस्बीर : गृह मन्त्रालय

काठमाडौं, जेठ ४ गते। गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको थियो ।

भेटमा राजदूत यान्छीले स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गर्नुभएको थियो ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले आफ्ना जनप्रतिनिधि जनताले आफैँ छान्ने प्रक्रिया राम्रो भएको भन्दै यो कार्य सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवालाई बधाइ दिनुभएको जानकारी पनि गृहमन्त्रीलाई गराउनुभयो ।

राजदूतले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनका दिन आफू निर्वाचन भइरहेका विभिन्न स्थानमा अवलोकनका लागि गएको र त्यहाँ जनता उत्साहित भएर निर्वाचनमा भाग लिइरहेको देख्दा खुसी लागेको बताउनुभयो ।


केही समयअघि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएको बेलामा सुरक्षा प्रबन्ध राम्रो गरेकोमा गृहमन्त्रीमार्फत सुरक्षा निकायलाई राजदूत याञ्छीले धन्यवाद दिनुभयो ।

भेटमा गृहमन्त्री खाणले स्थानीय सरकार निर्माण गर्ने कार्य सम्पन्न गरेर सरकार अब बजेट निर्माणको प्रक्रियामा लागेको राजदूत यान्छीलाई बताउनुभयो ।

चीनले शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि शान्ति, स्थिरता, विकास र समृद्धिमा सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गर्नुभयो ।

भेटमा राजदूत यान्छीले ३० मे बाट काठमाडौंबाट चीनको कुनमिङमा सिधा उडान गर्ने तयारी भएको जानकारी गराउनुभयो । काठमाडौंदेखि कुमनिङ र कुमनिङदेखि काठमाडौं उडान हुने जानकारी राजदूत यान्छीले गृहमन्त्री खाणलाई गराउनुभएको छ । राजदूत यान्छीले आफ्नो विकासको मोडेल आफैँ तय गर्ने बताउँदै त्यसमा चीनको सद्भाव रहेको बताउनुभयो ।