पछिल्लो समय युवा अवस्थामा उच्च रक्तचापको समस्या बढी देखिको एक अध्ययनले देखाएको छ । नेपालमा सन् २०१९ मा गरिएको स्टेप सर्भेमा कुल जनसङ्ख्याको २४.४ प्रतिशत अर्थात् ४७ लाख नेपालीमा उच्च रक्तचापको समस्या भएको देखाएको थियो । जसमा, १५ देखि २४ वर्षका झण्डै १० प्रतिशत युवामा उच्च रक्तचापको समस्या देखिएको उक्त अध्ययनले देखाएको हो ।
सिन्धुली जिल्लामा बुधबार थप फिक्कल गाउँपालिका र मरिण गाउँपालिकाको अन्तिम मतगणना परिणाम आएको छ । फिक्कल गाँउपालिकामा सत्तारुढ गठबन्धन (नेपाली काँग्रस र नेकपा माओवादी केन्द्र)का उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार पार्वती सुनुवार गाउँपालिकामा अध्यक्षमा निर्वाचित बन्नु भएको छ । त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि नेकपा एमालेकै राजु बराल जित्नुभएको छ ।
पाल्पाको बगनासकाली गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । पालिकाकी निवर्तमान उपाध्यक्ष सरस्वती चिदी ६ हजार ४ सय ६६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरेर उपविजेता हुनुभयो ।
स्थानीय तह निर्वाचनको जारी मतगणनामा बुटवलका प्रमुख पदका उम्मेदवार काँग्रेस नेता खेलराज पाण्डेयले मतान्तरलाई फराकिलो बनाउँदै अघि बढ्नुभएको छ ।
अमरराज नहर्कीतनहुँ, जेठ ४ गते । तनहुँमा एक ९९ वर्षीय वृषसिंह गुरुङले स्टेचरमा आएर पुनः मतदान गर्नुभएको छ । व्यास नगरपालिकाको नगर प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीबाट कुटपिट भएपछि रोकिएको मतदान केन्द्रमा बुधबार पुनः मतदान गर्नुभएको हो । व्यास नगरपालिका वडा नं. ८ को २ वटा मतदान केन्द्रमा बुधबार पुनः मतदान गरिएको थियो । निर्वाचन आयोगको शनिबार भएको निर्णयानुसार शुक्रबार भएको मतदानलाई रद्ध गरी पुनः मतदान गर्नु भनी निर्देशन भई आएकाले बुधबार पुनः मतदान भएको हो । वडा नम्बर ८ को रिस्तीस्थित पुरानो गाविस भवन फेदी क र ख केन्द्रमा पुनः मतदान भइरहेको छ । यसअघि वैशाख ३० गते पनि गुरुङले मतदान गर्नुभएको थियो । बुधबार गुरुङले दोस्रो पटक मतदान गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाका अनुसार विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म पुनः मतदान हुँदैछ ।
दुल्लु नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका भरतप्रसाद रिजाल निर्वाचित हुनुभएको छ रिजालले एमालेका रुद्धबहादुर शाहीलाई एक सय ३३ मतान्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । मेयरमा निर्वाचित रिजालले सात हजार ७२५ मत पाउँदा एमालेका शाहीले सात हजार ५९२ मत प्राप्त गर्नुभएको छ ।
रुपन्देहीको शुद्धोदन गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार विष्णुप्रसाद बस्याल विजयी हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा एमालेकी शान्तादेवी ज्ञवाली विजयी हुनुभएको छ । १६ स्थानीय तह रहेको रुपन्देहीमा मतगणना सकिएको यो दोस्रो पालिका हो ।
जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका हुन् । उहाँले दुई हजार चार सय तीन मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी रामदेवी खड्का विजयी भएकी छन् । खड्काले दुईहजार आठ सय ८ मत मत प्राप्त गरेकी छन् ।
डोटीका ९ वटै पालिकाहरुमो मत परिणाम सार्वजनिक भएको छ । दुई नगरपालिका र ७ वटा गाउँपालिका रहेको डोटी जिल्लामा नेपाली कांग्रेस सात वटा पालिकामा विजयी भएको हो । नेपाली कांग्रेसले दुई नगरपालिका र चार गाउँपालिकामा जित हासिल गर्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक एक पालिकामा मात्रै विजयी भएका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुखमा नेपाली कांँग्रेसका जीवन खत्री नौ हजार ५५० मतसहित विजयी हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा एमालेका रमेश बुढाथोकी ११ हजार १०७ मतसहित निर्वाचित हुनुभयो ।
अदानचुली गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्ष नेकपा माओवादी केन्द्रका कर्ण रोकाया निर्वाचित हुनुुभएको छ । उहाँहरु दुुवै गठबन्धन दलका तर्फबाट विजयी हुनुु भएको हो ।
ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की विजयी हुनुभएको छ ।
कालिमाटी गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ । गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका दानबहादुर केसी अध्यक्ष र सहनशिलता वली उपाध्यक्ष विजयी हुनुभएको छ । एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनलाई ६२० मतले पछि पार्दै एमालेका केसी निर्वाचित हुनुभएको हो ।
बागलुङको जैमिनी नगरपालिकामा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार जनमोर्चाका उम्मेदवार नरबहादुर थापा विजयी हुनुभएको छ । उपप्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्मा विजयी हुनुभएको छ ।
सिन्धुपाल्चोक, जेठ ४ गते । जुगल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का रेशम स्याङ्बो र नेपाली कांग्रेसका हिमाल श्रेष्ठ विजयी भएका छन् । उक्त गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भई नेकपा एमालेसँग निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो । एकिकृत समाजवादीका उम्मेदवार स्याङ्बोले पाँच हजार ५७२ मत ल्याउनु भएको छ भने उहाँको निकटतम प्रतिदन्द्धी एमालेका जयबहादुर लामाले चार हजार ४१५ मत ल्याउनु भएको छ ।गठबन्धनका उपाध्यक्ष उम्मेदवार हिमाल कुमार श्रेष्ठले चार हजार ७६८ मत ल्याई विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिदन्द्धी एमालेकी सुनिता थापा लामाले तीन हजार ७०७ मत ल्याई पराजित हुनु भएको छ ।