• ११ जेठ २०८१, शुक्रबार

पाल्पाको बगनासकालीमा एमालेबाट चिदी विजयी

blog

रेखीराम राना

पाल्पा, जेठ ४ गते । पाल्पाको बगनासकाली गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । पालिकाकी निवर्तमान उपाध्यक्ष सरस्वती चिदी ६ हजार ४ सय ६६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सुनीता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरेर उपविजेता हुनुभयो । 

यस्तै उपाध्यक्षमा एमालेकै हरि पाठक ५ हजार ८ सय ७३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल)ले ४ हजार ७ सय ७८ मत मात्रै ल्याउनुभयो । पाल्पाको दश वटा पालिकामध्ये जिल्लामा चिदी मात्रै एक्ली महिला गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

नौ वटा वडा रहेको पालिकामा ६ वटामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् भने ३ वटामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । दुई नगरपालिकासहित १० स्थानीय तह रहेको पाल्पामा बुधबार बिहानसम्म ९ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

जिल्लाको रम्भा गाउँपालिकामा भने मतगणना शुरु हुन सकेको छैन । फर्जी मतपत्र भेटिएपछि भएको विवादका कारण यस पालिकामा बुधबार बिहानसम्म पनि मतगणना सुरु हुन नसकेको हो ।