इश्वरचन्द्र झाकाठमाडौँ, वैशाख ३ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ सँग सम्बन्धित मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ । आयोगले बदलिँदो परिवेशबमोजिम समयसापेक्ष प्रविधिमा आधारित मतदाता शिक्षा सञ्चालनलाई प्राथमिकतामा राखेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भन्नुभयो, “समयसापेक्ष प्रविधिमा आधारित रहेर सबै मतदातामा निर्वाचन शिक्षा पुुग्ने गरी कार्यक्रम सञ्चालन हुने छन् ।” मतदानका लागि अब एक महिना पनि बाँकी नहुँदा मतदाता शिक्षा भने सञ्चालन हुन सकेको छैन । अडियो–भिडियो सामग्री रेडियो, टीभी,अनलाइन र सामाजिक सञ्जालमा राखेर मतदातालाई शिक्षित बनाउने कार्य प्राथमिकतामा राखिने आयोगले जनाएको छ । त्यस अतिरिक्त जिल्लाको कुनै एक स्थानीय तहमा नमुना मतदान गरिनेछ । नमुना मतदानको दृश्य छायाङ्कन गरी विभिन्न सञ्चार माध्यमबाट प्रसारण गरिने उहाँले जानकारी दिनुभयो । आयोगले समाजका प्रतिष्ठित व्यक्तित्व र चर्चित अनुहारबाट मतदानका लागि प्रेरित गर्न प्रचारप्रसार गर्ने छ । मतदाता शिक्षामा विगतभन्दा ५० प्रतिशतभन्दा बढीले बजेट कटौती गरिएको छ । अघिल्लो चुनावमा मतदाता शिक्षामा करिब ८० करोड रुपियाँ खर्च गरिएकोमा यस वर्ष आयोगले २४ करोड रुपियाँ खर्च हुने प्रस्ताव गरेको छ । यसअघि स्थानीय तहमा कार्यरत महिला स्वयंसेवीद्वारा घरदैलो कार्यक्रममार्फत मतदाता शिक्षा सञ्चालन गरिएको थियो । सहायक प्रवक्ता अर्यालले उक्त कार्यक्रमको स्थानमा स्वयंसेवक राखेर मतदान केन्द्रको प्रवेश स्थलमा मतदाता शिक्षा सञ्चालन गर्ने विधि तय भएको बताउनुभयो । देशभरि २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । “सबै मतदान केन्द्रमा दुई÷दुई जना स्वयंसेवक राखेर मतदान विधिबारे मतदातालाई शिक्षित गरिनेछ,” उहाँले भन्नुभयो । स्वयंसेवक भने स्थानीय तहले नै व्यवस्थापन गर्ने गरी तयारी गरिएको छ । बदर मत बढाउने सम्भावनामतपत्र छापिसकेपछि दलहरूबीच हुने तालमेलले समेत बदर मत बढ्ने गरेको छ । पछिल्लो स्थानीय चुनावमा काठमाडौँ उपमहानगरपालिकामा उपप्रमुखका लागि भएको मतदानमा मात्रै करिब ३५ हजारभन्दा बढी मत बदर भएको थियो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको तालमेलले उम्मेदवार नै नरहेको नेकपा (एमाले)को चुनाव चिह्नमा उल्लेख्य मत परेको थियो । उम्मेदवार नै नरहेको चुनाव चिह्नमा मतदान हुँदा बदर मतको सङ्ख्या बढ्न पुग्यो । सहायक प्रवक्ता अर्यालले आयोगले जतिसुकै प्रयास गरे पनि पछिल्लो चुनाव जस्तो बदर मत रोक्न नसकिने दाबी गर्नुभयो । उहाँले मतपत्र छापिइसकेपछि उम्मेदवारले चुनाव चिह्न पाउने भएकाले बदर मतको सङ्ख्या बढेको तर्क गर्नुभयो । उक्त सिकाइपछि आयोगले स्थानीय निर्वाचन, २०७९ मा महानगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै छाप्ने जनाएको छ । उम्मेदवारको अन्तिम नामावली वैशाख १७ गतेपछि मात्रै प्रकाशन हुनेछ । उक्त अवधिसम्म महानगरपालिकाबाहेकका सबै स्थानीय तहको मतपत्र छापिइसक्नेछ । “दलहरूले तालमेल गरेपछि मतदाताले उम्मेदवार नै नरहेका चुनाव चिह्नमा समेत मतदान गर्दा रहेछन्,” भन्दै सहायक प्रवक्ता अर्यालले यस्ता विषयमा दलले नै मतदातालाई जागरण गर्नुपर्ने सुझाव दिनुभयो । आयोगलाई स्थानीय तहका हरेक वडामा समयमै मतपत्र पठाउनुपर्ने दबाब हुन्छ । उक्त दबाबले गर्दा आयोगले उम्मेदवारी पर्नुभन्दा करिब महिना दिनअघि नै अनुमानका भरमा मतपत्र छाप्दै आएको छ; जसले गर्दा विगतमा पनि बदर मत बढेको थियो ।
नेत्र सुवेदी ‘प्रयास’ व्यक्ति वा सामान एक स्थानबाट अर्को स्थानमा पुग्ने वा पु¥याउने विषयसँग सार्वजनिक यातायात सम्बन्धित छ । यातायात क्षेत्रलाई विकास र प्रगतिको संवाहकका रूपमा पनि लिइन्छ । अन्य क्षेत्रजस्तै यातायात सम्बद्ध विषय पनि मानवीय सभ्यता र विकासमा आएको फेरबदलसँगै फेरिँदै आएको छ र फेरिनुपर्दछ । यातायात आफैँमा सामाजिक व्यवसाय हो अर्थात् यो सेवा व्यापारको विषय हो । गरिब वा धनी, बालक युवा वा वृद्ध जोसुकैका लागि पनि यातायात आवश्यक पर्दछ । एक स्थानबाट अर्को स्थानमा शिक्षा, स्वास्थ्य, रोजगारी तथा पर्यटकीय उद्देश्यका लागि जाने क्रम तत्काल घट्ने सम्भावना देखिँदैन । तसर्थ यातायातको सुविधा र सेवालाई थप सुदृढ बनाउने विषय सार्वजनिक सरोकारको महìवपूर्ण विषय बन्न पुगेको छ । कार्यजिम्मेवारी र सुधार एजेन्डायातायातको क्षेत्रमा व्यवस्थापकीय सुधारको पहल सङ्घीय विभाग र साबिकमा विभागअन्तर्गत रहेका यातायात व्यवस्था कार्यालयबाट पनि हुँदै आएका थिए । साबिकमा पूरै काम ढड्डा वा कागजमा हुने गरेकोमा सूचना प्रविधि प्रणाली अवलम्बन गर्ने प्रयासस्वरूप नै हाल केही प्रणाली विकास भई सञ्चालनमा रहेका छन् । कार्यचाप बढ्दै जाँदा कामलाई विषय क्षेत्रमा बाँडी कार्यालय थप भएकै छन् । यति हुँदा पनि अभिलेख प्रणालीलाई डिजिटल मोडमा लैजान नसक्नु र अनुमतिपत्र परीक्षा एवं नतिजा प्रकाशनमा रहे भएका केही खराबीका कारण समग्र यातायात व्यवस्थापन क्षेत्रलाई हेर्ने दृष्टिकोण भने सकारात्मक देखिँदैन । विगतमा भएको गल्तीकमजोरीकै कारण अहिले कार्यरत कर्मचारीहरू समेत कारबाहीमा पर्ने जोखिम छ । यसखाले परिवेशमा सूचना प्रविधि प्रणालीलाई थप व्यवस्थित गर्ने, अभिलेख कागजातलाई डिजिटाइज गर्ने र संलग्न जनशक्तिलाई इमानदार भएर काम गर्ने वातावरण बनाइनुपर्दछ । नीतिगत तहमा निरन्तरको संवाद, कार्यगत तहसमेतमा समस्या समाधानको पहल तथा कार्यसम्पादनसँग प्रोत्साहनलाई जोड्ने काम सँगसँगै अघि बढाइनुपर्दछ । कतिपय विषयहरूमा सङ्घीय विभागले सातै प्रदेशका यातायात हेर्ने मन्त्रालयसँग संवाद, सहकार्य र सहजीकरण गर्नु आवश्यक छ भने प्रदेशअन्तर्गत रहेका कार्यालयको कार्यसम्पादन वातावरण सुधार गर्न प्रदेशस्थित मन्त्रालयहरू पनि कार्ययोजनासहित जुट्नुपर्दछ । एकले अर्कोलाई औँल्याउने, अधिकार हस्तान्तरण गर्न नखोज्ने, प्राप्त अधिकारको व्यवस्थित उपयोग गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नसक्ने अवस्था रहिरह्यो भने समय बित्दै जान्छ तर समस्या ज्युँका त्युँ रहन्छ अर्थात् सेवाग्राहीले दुःख पाइरहन्छन् । सर्वसाधारण व्यक्तिले सेवा लिन आउँदा जे जस्तो वातावरणबाट आफ्नो काम गरेर घर फर्कन पाउँछ सोबाट नै सार्वजनिक निकायको सुशासनको चित्रण हुने हुँदा सेवा प्राप्तिको कोणबाट सुधारलाई केन्द्रित गर्नुपर्दछ । उपयुक्त पूर्वाधार निर्माणसडक पूर्वाधारअन्तर्गत सडक वा मोटरबाटोका अलावा पैदलयात्री हिँड्ने सडकपेटी, साइकलका लागि छुट्टै लेन, नालीको व्यवस्था हुनुपर्दछ । सुरक्षित र व्यवस्थित आवतजावतका लागि आवश्यकताअनुसार बसपार्क, हाइवे पार्क, पार्किङस्थल, आकाशे पुल, अन्डरपास, क्रस पुल र सुरुङ मार्ग पनि निर्माण गरिनुपर्दछ । उपयुक्त विकल्पको छनोटका लागि सम्भाव्यता भएका स्थानमा रेल यातायात, जल यातायात, रज्जुमार्ग, हवाई यातायातको पूर्वाधारमा समेत लगानी गर्नुपर्दछ । सडक यातायातकै कुरा गर्दा उपयुक्त दूरी र स्थानमा पुलको व्यवस्था, चेकजाँचका लागि आधुनिक तथा स्वचालित सडक प्रयोगको शुल्क उठाउने गेटहरू एवं स्थान र दुरी जनाउने डिस्प्ले बोर्डहरू पनि आवश्यक पर्दछ । त्यस्तै शीघ्र उपचार व्यवस्थाका लागि मुख्य सडक आसपास ट्रमा सेन्टरहरू पनि सञ्चालन गरिनुपर्दछ । विद्युतीय सवारीका लागि चार्जिङ स्टेसनहरू र प्रदूषण परीक्षणको सुविधासमेत ठाउँ ठाउँमा उपलब्ध हुँदा सरल हुने देखिन्छ । सवारी साधनको चयनहामी कहाँ प्रयोगमा रहेका कतिपय सवारी साधनहरू प्रयोगमा रहेको वर्षको हिसाबले र आकारका हिसाबले प्रतिस्थापन गर्नुपर्ने अवस्थामा पुगेका छन् । सीमित सङ्ख्यामा बाहेक भाडामा गुड्ने साना आकारका सवारी साधनहरू हटाई धेरै सिट क्षमता भएका सवारी साधनको प्रयोग बढाउनुपर्ने देखिन्छ । भारतकै मुख्य सहरमा युरो छ को गुणस्तरका सवारी मात्र प्रयोगमा आइरहेको सन्दर्भमा हामीकहाँ जुनसुकै साधनहरू आयात भैरहनु युक्तिसङ्गत होइन । त्यस्तै कुन सडकमा के कस्तो सवारी साधनहरू कति सङ्ख्यामा सञ्चालनमा ल्याउने र कति वर्षपछि पुरानोलाई नयाँ साधनले प्रतिस्थापन गर्नुपर्ने भन्ने सम्बन्धमा नीतिगत स्पष्टता आवश्यक छ ।यातायात सेवा व्यवस्थापननेपालको संविधानले गरेको व्यवस्थाअनुसार यातायात व्यवस्थापनको कार्य प्रदेश तहमा राखेको देखिन्छ । प्रदेशको एकल अधिकार सूचीमा सवारी साधन कर, प्रदेश लोकमार्ग र यातायातलाई समेटेको हुँदा प्रदेशले प्रमुख भूमिका खेल्नुपर्ने विषय सहजै अनुमान लगाउन सकिन्छ । हुन त सवारी साधन अनुमतिको विषयलाई तीन वटै तहको साझा अधिकार सूचीमा राखिएको र स्थानीय तहको अधिकार सूचीमा स्थानीय सडक, ग्रामीण सडक र कृषि सडकको विषय परेबाट यातायात पूर्वाधार र व्यवस्थापनको विषयले सबै तहको अग्रसरताको र सहकार्यको माग पनि गर्दछ । यातायात सेवा व्यवस्थापनको कुरा गर्दा यातायात व्यवस्था कार्यालयहरू प्रदेशअन्तर्गत सञ्चालन भइरहेको तथा साबिकमा केन्द्रीय सरकारले विकसित गरेका प्रणालीहरू हाल सङ्घीय तहमा क्रियाशील यातायात व्यवस्था विभागको मातहतमा रहेको सन्दर्भमा सङ्घ र प्रदेशबीच झनै नजिकको र कार्यात्मक समन्वय र समझदारी आवश्यक पर्ने देखिन्छ । प्रदेशले लिने अग्रसरतामा समेत सङ्घीय तहले सहजीकरण गरिनु उपयुक्त हुन्छ ताकि यातायात व्यवस्थापनको मूल म्यान्डेट रहेको प्रदेश तहका संरचनाहरू नै भावी दिनमा यस कार्यका लागि सक्षम र सशक्त हुन सकून् । यात्रुको दायित्व यातायात क्षेत्रमा सुधारका लागि यातायातका साधनहरू प्रयोग गर्ने व्यक्ति वा यात्रुको समेत भूमिका हुने गर्दछ । कानुन पालना गरी सवारी दर्ता, नवीकरणलगायतका प्रशासनिक काम लिने, परीक्षा उत्तीर्ण गरेर मात्र लाइसेन्स लिने, समयमै नवीकरण गर्ने, सवारीसम्बन्धी कागजात सुरक्षित रूपमा राख्नेजस्ता व्यवहारले मात्र यातायात व्यवस्थापनलाई सुदृढ गर्न सहयोगी हुने देखिन्छ । यसबाहेक सवारी साधनमा चढ्ने र ओर्लने कार्य सवारी रोक्नका लागि तोकिएको स्थानमा मात्र गर्ने, सवारी साधानबाट जथाभावी फोहोर सडकमा नफाल्ने, कमजोर शारीरिक अवस्था भएका व्यक्तिलाई सिटमा बस्न प्राथमिकता दिनेजस्तो संस्कारलाई बढाएर लैजानुपर्नेछ जसमा यात्रुकै मुख्य भूमिका रहन्छ । सूचना प्रविधिको प्रयोगनेपालमा सवारी साधन दर्ता प्रक्रिया प्रारम्भ भएयताका दर्ता, इजाजतपत्र तथा यीसँग सम्बद्ध सबैखाले सवारी साधनका मुख्य कागजातहरू डिजिटाइज गरी आधुनिक खालको सफ्टवेयर प्रणालीमा जोड्नु आवश्यक छ भने सार्वजनिक सवारी साधनमा बुझाउनुपर्ने भाडासमेत विद्युतीय माध्यमबाट बुझाउने र ट्रायल सेन्टरहरूलाई पनि क्यामरा वा सेन्सरजडित स्वचालित प्रणालीमा लैजाने पहल हुनु जरुरी छ । यी कामहरू एकै पटक सम्भव नहोलान् तर नमुनाका रूपमा सञ्चालन गरी सफल प्रयोगपश्चात् विस्तार गर्न सकिन्छ । हामी सूचना प्रविधिको प्रयोगको नाममा एकपछि अर्को सफ्टवेयर थपौँला तर यदि हाम्रा तथ्याङ्कहरू सुरक्षित भएनन्, गोपनीयता रहेन र मनपरि ढङ्गले सम्पादन भए भने त्यसको अर्थ रहँदैन । तसर्थ भएका प्रणालीहरूको सुदृढीकरण तथा सही प्रयोगका साथै पछिल्लो पुस्ताको प्रणाली अवलम्बन गर्दा राखिने विवरण सजिलै हेर्न मिल्ने र प्रणालीको प्रयोग बिना झन्झट गर्न मिल्ने हुनुपर्दछ । अनलाइन भुक्तानीका लागि समेत यस्तै किसिमको अन्तरआबद्धता सहितको प्रणाली प्रयोगमा ल्याउनु आवश्यक छ । हरित ऊर्जाको प्रयोग र दिगोपन विश्वमै सीमित मात्रामा उपलब्ध रहेको पेट्रोलियम पदार्थको प्रयोग बर्सेनि बढिरहेको छ भने यसखाले ऊर्जाको प्रयोगले पर्यावरणमा प्रदूषण बढेको मात्र हैन कि विश्वव्यापी उष्णीकरणमा समेत प्रमुख हिस्सा रहेको विवरणहरू आइरहेका छन् । पेरिस सम्झौतालगायतका प्रतिबद्धतामा हामीले कार्बन उत्सर्जन घटाएर लैजाने भनेका छौँ । यस परिप्रेक्ष्यमा नेपालमा पनि विद्युतीय सवारी साधनको प्रयोग बढाउनु आवश्यक छ । साइकल चढ्ने वातावरणका साथै पैदलमैत्री पूर्वाधारले पनि सवारी साधनउपरको निर्भरता घटाउने र ऊर्जा खपतको चाप केही खुकुलो हुने देखिन्छ । हामी कहाँ विद्युत् उत्पादन बढिरहेको सन्दर्भमा आयात गरेर प्रयोग गर्नुपर्ने पेट्रोलियम पदार्थको खपत घटाउन र विद्युत्को खपत बढाउन ढिला गर्नुहुँदैन । त्यस्तै तुलनात्मक रूपमा कम कार्बन उत्सर्जन गर्ने युरो चार र सोभन्दा राम्रो गुणस्तर भएको इन्धन प्रयोग गर्ने गरी सवारी साधन दर्ता प्रक्रियालाई निर्देशित गरेमा स्वच्छ ऊर्जाको प्रयोग भई दिगो विकास लक्ष्यमा समेत सहयोग पुग्नेछ ।
लक्ष्मीप्रसाद उपाध्याय एक दशकअघि सेती नदीमा आएको बाढीले पोखराका गगनचुम्बी महल र सुन फल्ने खेत बगाएर लग्यो । सात समुद्रपारि लाहुरेले मेहनत गरेर ल्याएको पैसा ती बस्ती निर्माणमा पोखिएको थियो । अकस्मात आएको बाढी–भेलले बस्ती मात्र होइन, त्यसवरपरको पक्की सडक एकैछिनमा भत्कायो, हातमुख जोर्ने खेत बगरमा परिणत भयो । यसको अरू केही कारण थिएन, जबसम्म पोखराको उपल्लो क्षेत्रमा डोजरे विकास भएको थिएन, तबसम्म तल्लो तटीय क्षेत्रमा बनेको करोडौँ मूल्यका सुन्दर घर सुरक्षित थिए । जब डाँडाकाँडामा डोजर चल्न थाले, रातारात वनजङ्गल फाँडियो अनि यस्तो विपत्ति आइलागेको हो । डोजरको कम्पनसँगै भत्किन सुरु भएको पहाडले सेती नदीलाई उर्लिन मद्दत ग¥यो अनि क्षणभरमै बस्ती विनाश भयो । विकासले साँच्चै विकास होइन, विनाश निम्त्याएको यो एक उदाहरण मात्र हो । विकास निरन्तर प्रक्रिया हो । विकासको एउटा आयोजनाले त्यसवरपरको क्षेत्रभरि पुस्तौँसम्म सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यता राखिन्छ । यही मान्यतामा आधारित भएर होला, विकसित मुलुकमा पाँच सय वर्ष पुराना भौतिक संरचना अहिले पनि देख्न सकिन्छ तर नेपालमा एक ठाउँको विकास गर्दा अर्काे क्षेत्र भत्किने, बिग्रने र त्यो पनि एकाध वर्षभित्रै मर्मतसम्भार गर्नुपर्ने अवस्था हामीले भोगिरहेका छौँ । विकास दिगो हुनुपर्छ । दिगो विकास भएन भने एकातिर लगानीको प्रतिफल नपाइने र अर्काेतिर प्राकृतिक सम्पदा सदाका लागि लोप भएर जाने खतरा बढ्दै जान्छ । नेपालमा सङ्घीयता कार्यान्वयनसँगै विकासका चाहना र माग निकै बढिरहेका छन् । नेपाल जस्तो अल्पविकसित मुलुकले यो चाहना राख्नु स्वाभाविकै हो । विकसित मुलुकको सिँढीमा चढ्ने चाहना हरेक मुलुकको हुन्छ नै । त्यो चाहना नेपालले राख्नु सान्दर्भिक भए पनि दिगो विकासको मोडल समात्न नसक्दा नेपालले कहिले पोखराको सेती नदी त कहिले मेलम्चीको बाढी–पहिरोको पीडा खेपिरहनुपरेको छ । के हो दिगो विकास ? नेपालीमा एउटा उखान छ, ‘तातै खाउँ, जली मरुँ’ । विकासको एउटा मोडलसँग यो उखान मिल्दोजुल्दो छ । भोलि जेसुकै होस्, आजका लागि जसरी पनि विकास गरौँ, त्यो विकास अर्काे दिनसम्म टिकोस् वा नटिकोस् । आजका लागि भए पुग्यो भन्ने विकासे अवधारणा हो यो । विकासको अर्काे मोडल छ, त्यो हो– दिगो विकास । विद्यमान प्राकृतिक सम्पदालाई कमभन्दा कम नोक्सानीमा पारेर उत्तम विकल्पको प्रयोग गरेर गरिएको विकास दिगो विकास हो । अर्कोतिर, पुस्तौँसम्म टिक्ने गरी गरिने विकास नै दिगो विकास हो । एक ठाउँमा विकास गर्दा अर्काे ठाउँमा त्यसको सकारात्मक प्रभाव पर्नु र त्यो विकासले पुस्तौँसम्म सेवासुविधा प्रवाह गर्न सक्ने अवस्था सिर्जना हुनु नै दिगो विकास हो । दिगो विकाससँग प्राकृतिक सम्पदाको प्रत्यक्ष साइनो जोडिएको हुन्छ । प्रकृतिसँग जसले सिर्जनात्मक र सकारात्मक साइनो गाँस्न जान्दछ, त्यो दिगो रहन्छ । जसले साइनो गाँस्न जान्दैन, त्यसले प्रकृतिसँगको प्रतिवादमा टिक्न सक्दैन, दिगो रहन सक्दैन । त्यसैले बेला–बेला प्राकृतिक विपत्तिमा ठूलो धनजन अनि विकासका योजनामा क्षति हुने गरेको छ । वातावरणमैत्री भएका विकास टिकाउ हुन्छन् । पुस्तौँसम्म प्रतिफल दिइरहन्छन् । त्यसैले दिगो विकास आजको अपरिहार्यता हो । वनको दिगो व्यवस्थापनयो सृष्टि माटो, पानी र हावाको संयुक्त रूप हो । माटोमा वनजङ्गल, वन्यजन्तु र समग्रतामा जैविक विविधताको खेती हुने गर्छ । माटो स्थिर भएकाले मानव जातिले जेजति भौतिक प्रगति गरेको छ त्यो माटोमै गरेको छ । माटोमा जति पानी र हावामा मानव जातिले न खेल्न सकेको छ न फुल्न सकेको छ । त्यसैले माटोमा भएको वन सम्पदाको व्यवस्थापनबाट दिगो विकास गर्नु आजको आवश्यकता हो । वन सम्पदा उचित समयमा सदुपयोग गर्न सकेन भने नासिने स्रोत हो । बोटबिरुवाको निश्चित आयु हुन्छ । युवा अवस्थामै रहेको रुख–बिरुवालाई सदुपयोग गर्दा जति मुलुकले फाइदा लिन सक्छ, बुढो रुख–बिरुवाबाट त्यति फाइदा लिन सकिँदैन । त्यसैले वन स्रोतलाई उचित समयमा सदुपयोग गरेर मुलुकलाई समृद्धिको बाटोमा लैजान सक्नुपर्छ । यसको अर्थ प्राकृतिक सम्पदा एउटै पुस्ताले उपयोग गरेर सक्ने कुरा पनि होइन । सदुपयोगका साथसाथै जैविक विविधताको वंश जगेर्ना गर्दै, संरक्षण गर्दै पुस्तौँपुस्तासम्म जोगाइराख्नु नै दिगो वनको व्यवस्थापन हो । यो नै अहिलेको पुस्ताको बुद्धिमानी काम हो । किन गर्ने दिगो व्यवस्थापन ? झन्डै एक महिनाअघि अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसीबाट ५५ अर्ब रुपियाँ आर्थिक सहयोग लिने सन्दर्भमा मुलुक विभाजित अवस्थामा पुगेको थियो । त्यो रकमलाई मुलुकको विकास र हितसँग जोडिएर हेरियो तर नेपालले तराईका १३ जिल्लामा भएको वनजङ्गलको कार्बन व्यापारबाट सन् २०१८ देखि २०२४ को अवधिमा ९० लाख टन कार्बन सञ्चितिबापत विश्व बैङ्कबाट ४५ अर्ब रुपियाँ भुक्तानी पाउने भएको छ । तराईका २० वटा र भित्री मधेसका थप आठ जिल्लामा भएको वन क्षेत्रलाई कार्बन व्यापारमा लग्ने हो भने करोडौँ टन कार्बन सञ्चितिबाट ४५ अर्ब रुपियाँ मात्र होइन, खर्ब रुपियाँ नेपालले वनजङ्गल जोगाएबापत पाउने सम्भावना देखिएको छ । यसरी वनको दिगो विकासबाट मात्रै नेपालले मुलुकको आर्थिक विकासमा ठूलो टेवा पु¥याउन सक्छ भन्ने यो अर्काे सफल उदाहरण हो । नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा कुल क्षेत्रफलको ४५ प्रतिशत वन क्षेत्र संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्दै आइरहेको छ । तराईको चारकोसे झाडीदेखि लिएर उच्च हिमाली क्षेत्रको स–सानो बुट्यानसम्मको वन क्षेत्र वृद्धि र संरक्षण गर्दै लैजाने नीतिअनुरूप नेपालले हरेक वर्ष गुणस्तरीय वन क्षेत्र विकासका लागि काम गर्दै आइरहेको छ । वन संरक्षण मात्र होइन, वनको व्यवस्थापन गर्नु आजको आवश्यकता हो । कार्बन व्यापार गर्ने हो भने पनि पुराना, बूढा रुख काटी त्यो क्षेत्रमा नयाँ बिरुवा उत्पादन गर्ने पद्धतिलाई अवलम्बन गर्न जरुरी छ । करिब दुई वर्षदेखि नेपालमा काठ उत्पादन गर्ने काम बन्द भएको छ । यो अवधिमा अर्बाैं रुपियाँबराबरको विदेशी काठ आयात भइरहेको छ । यसले गर्दा एकातिर कार्बन सञ्चिति गर्न नसक्ने बूढो, धोद्रो रुख वनजङ्गलमा यथास्थितिका रहेका छन् भने अर्कातिर काठको अभावमा विदेशबाट काठ आयात गर्दा व्यापार घाटा चुलिँदो अवस्थामा छ । यी कुरालाई दृष्टिगत गरी अब वनको दिगो व्यवस्थापनको योजना सरकारले सञ्चालन गर्न जरुरी छ । पर्यटन विकासको आधार नेपालको आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्र पनि हो । नेपाल भित्रिने ६० प्रतिशतभन्दा बढी पर्यटक प्राकृतिक सम्पदा, वन्यजन्तु हेर्न भनेर आउने गरेका छन् । चितवन, बर्दिया, सगरमाथा, अन्नपूर्ण संरक्षण क्षेत्र, रारा, खप्तड, कोसीटप्पु, शुक्लाफाँटा, गोसाइँकुण्ड, कञ्चनजङ्घा लगायतका निकुञ्ज तथा संरक्षित क्षेत्रमा पर्यटक घुम्ने गरेका छन् । यी सबै क्षेत्र नेपालको पर्यटन विकासका आधारस्तम्भ हुन् । विश्व सम्पदा सूचीमा परेका चितवन, सगरमाथा राष्ट्रिय निकुञ्ज र रामसार सूचीमा रहेका इलामको माईपोखरी, रारा, कोसीटप्पु, घोडाघोडी ताल क्षेत्र सबै वनजङ्गल तथा जैविक विविधताको धनी स्थान मानिन्छन् । त्यति मात्र होइन, पाटेबाघ, एकसिङे गैँडा, हात्ती, हिउँ चितुवा, रेडपाण्डा, अर्ना, बाह्रसिङे तथा कृष्णसार पनि प्रकृतिको वरदान हुन् । विश्वमै दुर्लभ मानिएका यी जैविक विविधतालाई देखाएर नेपालको आर्थिक समृद्धि हुने कुरामा दुईमत छैन । अतः प्राकृतिक सम्पदाको एकोहोरो दोहन होइन कि दिगो व्यवस्थापन गर्दा समृद्ध नेपाल बनाउने अभियानमा चाँडै सफलता मिल्न सक्छ भने अर्काेतिर प्राकृतिक सम्पदालाई भोलिको पुस्तालाई पनि हेर्न पाउने गरी सुरक्षित साथ संरक्षण गर्न सकिन्छ ।
डा. नम्रता पाण्डेएउटा गाउँको बीच जङ्गलमा सानो झुपडीमा फकिरका दम्पत्ति बस्दथे । एक साँझ मुसलधारे पानी प-यो मानौँ कि झुपडी नै भत्काउलाजस्तो । रातको करिब एघार बजेतिर कसैले ढोकामा आवाज दियो । पत्नीले ढोका खोलेर हेर्न भनिन् । फकिरले ढोका खोले, पानी प¥यो हजुर घर पुग्न भ्याइएन, शरण दिनुप-यो । पत्नीले सोधिन्–को रहेछ ? फकिरले भने–एक अपरिचित मित्र आउनुभएको रहेछ, बाहिर मुसलधारे पानी परिरहेको छ, आज यहीँ बस्नुहुन्छ हामीसँगै । पत्नी आफ्ना पतिको स्वभाव देखेर मनमनै दङ्ग परिन्, परिचित व्यक्ति त मित्र बन्न सक्दैनन् संसारमा, अपरिचित व्यक्तिलाई मित्र मानेका छन् कस्तो प्रेमको भाव होला । अपरिचित मित्र भित्र आए, पत्नीले भनिन् ठाउँ सानो र साँघुरो छ, दुई जना मात्र अट्ने, दुःख गरेर भए पनि बस्नुपर्ला । फकिरले भने–लाटी यो कुनै अमिरको बङ्गला हो र ठूलो हुने, फकिरको झुपडी । अमिरको घरमा त एक जना पाहुना थपिए कहाँ राख्ने के चिन्ता पर्न सक्छ । तिमी चिन्ता नलेऊ, हाम्रो झुपडी सानो छ तर हृदय ठूलो बनाउँ न ! मित्रलाई हामी हृदयमा स्थान दिएर राखौँ, यहीँँ जे जसो छ बसौँ मिलेर । तीन जनालाई सुत्ने ठाउँ पुग्दैन त्यसैले अब हामी बसौँ जे जति लुगा छ ओढेर, बसेपछि त ठाउँ प्रशस्त हुन्छ नि, फकिरले तरिका निकाले । अब तीनजना गफसफ गर्दै आँखा चिम्लेका मात्र थिए बाहिर ढोकामा आवाज दियो कसैले । फकिरले भने कोही आएजस्तो छ, आज पानी रोकिएन, जङ्गलको बीचमा सबैलाई गाह्रो भयो । अघि आएर बसेका मित्रले भने–अब कसरी अटाउला यो मान्छे त, भित्र छिराएर के गर्ने ढोका बन्द गर्न पनि मिल्दैन । उनले आफूलाई परेको दुःख बिर्से । फकिरले भने–मित्र मैले भनेँ त हृदयमा ठाउँ छ भने अटिन्छ । तपाईं आउँदा पनि यहाँ ठाउँ थिएन, मैले बनाएको हो । प्रेम भएपछि ठाउँ बन्छ फकिर हाँस्दै ढोका खोले, नभन्दै दुईजना मित्र बाहिर रुझेका रहेछन् । उनीहरूलाई भित्र छिराएर, पानी पुछ्न दिएर भने–अब हामी अलि कोचिएर बस्नुपर्ला । सबैजना मिलेर नजिक नजिक कोचिएर बसे । गफसफ गर्दै थिए, फेरि एउटा गधा रुँदै ढोकामा आएर ढक्ढक्याउन थाल्यो र टाउको हल्लाउँदै पानीबाट जोगाउन इसारा ग¥यो । फकिरले ढोकाको छेउमा बसेका पछि आएका दुईजना मित्रमध्ये एकजनालाई ढोका खोलिदिन अनुरोध गरे । ती मित्रहरूले भने, यो गधा हो, कोही मित्र होइन, फेरि ठाउँ भए पो खोलिदिनु ? कस्तो कुरा गर्नुभएको ? ती दुईजना साथीहरूले भन्न थाले–ठीक छ ढोका त खोलौँला तर गधा कहाँ अटाउँछ ? फकिरले भने, तपाईंलाई थाहा होला तपाईं भित्र छिर्दा चाहिँ यहाँ हाम्रोमा ठाउँ थियो र ? तपाईंका लागि हृदयमा ठाउँ तयार भयो अनि सम्भव भयो । अर्को कुरा, अमिरको ढोकामा मानिसलाई पनि गधाको रूपमा व्यवहार गर्ने चलन छ त्यो त म बुझ्छु तर म त गरिब फकिर हुँ मलाई गधाको पनि मानिसलाई झैँ माया लाग्छ । गधालाई पनि मानिसकै व्यवहार गर्ने बानी छ, त्यसैले ढोका खोलिदिनुस् मित्र । ठाउँको चिन्ता नलिनुस्, यतिन्जेल हामी बसेका थियौँ, अब हामी सबैजना उठौँ, ठाउँ निस्किहाल्छ, गधा पनि अटाउँछ । ठाउँ नै पुगेन भने म बाहिर जाउँला । आजको रात हजुरहरू सबै मेरो पाहुना हुनुहुन्छ । मेरो प्रेमको भावले त्यतिसम्म गर्न सक्छु । वास्तवमा प्रेम पाउने चिज होइन, प्रेम दिने चिज हो । जति प्रेम दिन जान्यो त्यति मनमा पनि तृप्ति मिल्छ, सन्तोष मिल्छ । दिनका लागि भौतिक सम्पत्ति प्रशस्त हुनुपर्छ त्यो जरुरी छैन । हृदयदेखि प्रेमको भाव प्रस्फुटन भयो भने सानातिना समस्या, समस्या नै लाग्दैन । प्रेमको अभाव नै अपूर्णताको महसुस र गरिबीको अनुभूति हो । बेसर्त, विनाकारण, विनाप्रशंसा र विनापुरस्कार दिने प्रेम नै वास्तविक प्रेम हो । जहाँ प्रेम छ त्यहाँ आनन्द छ, जहाँ आनन्द छ त्यहाँ ध्यान घटित भएको महसुस हुन्छ । जब आनन्दको मात्रा बढ्दै जान्छ हरेक चिजमा, हरेक क्षणमा परमात्माको नजिक बसेको अनुभूति हुन्छ । त्यसैले हृदय खुला र विराट हुनासाथ प्रेम पनि प्रस्फुटन हुन्छ, ध्यानस्थ अवस्थाको अनुभूति हुन्छ अनि परमात्मासँग साक्षात्कार भएको, उसको साथमा भएको अनुभूति हुन्छ । एउटा मूर्ति र मन्दिरमा त परमात्मा छ भनेर श्रद्धाले शिर झुकाउने मानिस परमात्माको सृष्टिलाई प्रेम दिएर उसमा परमात्मा भेट्न सक्दैन र ? जसरी परमात्माको पूजा अर्चना, दानदक्षिणा र साधु सन्तलाई भोजन गराएर, भगवान्लाई भोग लगाएर परमात्मा खुसी बनाउन सकिन्छ भने आस्था र मान्यता छ, त्यसैगरी प्रकृतिमा रहेका परमात्माको सृष्टिलाई सेवा गर्ने तरिका छ जसले गर्दा परमात्मा खुसी हुनुहुन्छ । सुक्खा खडेरीको मौसम छ धेरै पन्छी पानी खान नपाएर तड्पिरहेका छन् । आफ्नो घर आँगन, कौसीमा कतै पनि एउटा भाँडोमा पानी राखिदिऊँ, चाराको व्यवस्था गरिदिऊँ । व्यवस्था गर्न सक्ने अवस्था भएसम्म सडकमा अलपत्र परेका पशु चौपायालाई भोजनको व्यवस्था र वासस्थानको व्यवस्थापन गरिदिन सके अरू राम्रो । असहाय, दुःखी जसलाई हाम्रो सानो सहयोगले मद्दत पुग्छ त्यस्तो मौकामा नचुकौँ । कतिको भन्ने बानी छ कतिलाई दिनु ? दिऊँ सकेजति, भएजति, किनभने आज हामीलाई उसले दिएको छ भने भोलि पानी दिँदैन र ? किन सञ्चय गरेर राख्नुछ ? कुन स्वास र कुन साथ अनि कुन रात अन्तिम हुन्छ थाहा छैन । त्यसैले करुणापूर्ण कर्म गरेर सकिन्छ भन्ने धारणा नै त्यागौँ । परमात्मा जहाँतही पुग्न सक्दैन त्यसैले उसले हामीलाई बनाएको छ, जिम्मेवारी दिएको छ । प्रकृतिको सृष्टिलाई प्रेम गर्ने, सम्मान गर्ने, सहयोग गर्ने कलाको विकास गरौँ । तिनै कर्मको माध्यमबाट जुन आनन्द, शान्ति, प्रेम र तृप्तिको अनुभूति मिल्छ त्यो क्षण नै परमात्मासँग मिलन हुन्छ ।स्वास परमात्माकै इसारा र आशिषले चलेको छ बीउबाट वृक्ष हुन परमात्माकै ऊर्जाले काम गर्छ । दिन–रात, चन्द्र–सूर्य, ग्रह नक्षत्र, ब्रह्माण्ड, सबै संरचना र गति, शक्ति अर्थात् जीवन्तता परमात्माकै अनुभूति हो । संसार र परमात्मामा विरोधाभास देख्नु अल्पज्ञानको परिणाम हो । गीत, सङ्गीत, शृङ्गार, रस, स्वाद, गन्ध, हास्य, रूपरङ्ग, स्मरण, भक्ति, प्रार्थना, आराधना, नदीनाला, प्रकृति र सुन्दरता अनि विविधता सबै परमात्माकै अभिव्यक्ति न हो । अब यसलाई अनुभूति गर्न गहन समझको विकास हुनुपर्छ । उसका हरेक रहस्यमय अभिव्यक्ति र सिर्जनामा डुब्न र मनन गर्न सक्ने शान्त र एकाग्र चित्तदशाको आवश्यकता पर्छ । जुन प्रत्येक व्यक्तिको भौतिक विकासमा समेत मार्गदर्शक बन्न सक्छ । मानिस एक्लैको प्रयासले त जे पनि हुन्छ अपूर्ण नै हुन्छ । त्यसमा पूर्णता भर्ने, जीवन्त तुल्याउने काम परमात्मा अर्थात् अस्तित्वको कृपा हो ।एक मध्यरातमा मुल्ला नसरुद्धिन सपनाबाट ब्युँझे र श्रीमतीलाई चस्मा खोजेर ल्याउन अराए । श्रीमतीले चस्मा त ल्याइदिइन् अनि सोधिन्–यो निद्रामा चस्मा किन हो मध्यरातमा ? मुल्ला नसरुद्धिनले भने–तिमीलाई थाहा छ नि मेरो आँखाको देख्ने शक्ति कमजोर छ, सपना राम्रो राम्रो थियो तर आँखाको शक्तिको कारण धमिलो धमिलो देखेँ त्यसैले अब चस्मा लगाएर सुत्छु ताकि अब सपना देख्दा प्रष्ट देख्न सकूँ । हाँसो उठ्न सक्छ मुल्ला नसरुद्धिनको कुरा सुनेर तर हामीलाई पनि भरोसा छैन, सपनासमेत सच्याएर देख्न खोज्छौँ र आफ्नै अनुकूलताअनुसार बनाउन चाहन्छौँ । मैले गरेर मात्र हुन्छ भन्ने मानिसको अहंकारकै कारण जागृत रहन परमात्माको अनुभूति र उसको सृष्टिप्रतिको सम्मान जरुरी हुन्छ ।
कमल रिजालवैदिक युग कहिलेदेखि सुरु भयो, यकिन जानकारी छैन । पौराणिक युगको अवस्था पनि त्यस्तै छ । कसैले केही भनेका छन्, कसैले केही तर वैदिक युगमा कर्मवादको प्रधान्यता थियो । पौराणिक युगमा त्यसको स्थान उपभोक्तावादले लिएको देखिन्छ । वैदिक युग र पौराणिक युगका देवताका स्वभाव र चरित्रले नै त्यसको पुष्टि गर्छ । वैदिक युगमा जुन देवता वीर, पराक्रमी र कर्तव्यनिष्ठ देखिन्छन्, पौराणिक युगमा तिनै देवता भीरू, डरपोक, लोभी, पापी र परमुखापेक्षी देखिएका छन् । उदाहरणका लागि वैदिक युगका प्रमुख देवता इन्द्र, अग्नि, वायु, सूर्य र अश्विनीकुमारलाई नै लिन सकिन्छ । वैदिक युगमा सर्वाधिक सम्मान पाउने देवतामा इन्द्र पर्छन् । ऋग्वेदमा ३०० भन्दा बढी सूक्त इन्द्रसित सम्बन्धित छन् । वैदिक ग्रन्थका अनुसार उनी महान् शक्तिशाली, अतुल पराक्रमी, धैय, साहस, बलवीर्य, परोपकार, दया, माया, मैत्री र करुणाका खानीका रूपमा देखिएका छन् । ऋग्वेदका अनुसार इन्द्र भनेका त्यस्ता देवता हुन्, जो एक्लैमा वज्र धारण गरी सम्पूर्ण शत्रुमाथि विजय पाउने सामथ्र्य राख्छन् । वृत्रासुरजस्ता दानव वध गर्ने पनि उनै हुन्, झन्डै १३ लाख वर्गकिलोमिटर क्षेत्रमा शत्रु (असुर)हरूले बनाएका ८०० भन्दा बढी पुर वा नगर विध्वंसक पनि उनै (ऋग्वेद २।२०।७) हुन् । त्यस्तै शम्बरासुरजस्ता तानासाह हटाउने पनि उनै हुन् (ऋग्वेद ६।२१।४), सुरवीरहरूका नायक पनि उनै हुन् । (ऋग्वेद १।११।१) । त्यसैगरी दुष्ट दलनकर्ता (३।३०।१७), शत्रु हन्ता (ऋग्वेद २।१२।४) र वीरमाथि विजय पाउने पनि उनै हुन् (ऋग्वेद १।१७८।३) । यसबाहेक अन्य वैदिक संहिता तथा ब्राह्मण र उपनिषद् ग्रन्थ पनि उनको पराक्रमको चर्चा उत्तिकै भएका छन् तर तिनै इन्द्र पौराणिक युगमा आइपुग्दा सत्तालिप्त, कामुक, डरपोक, परजीवी, परमुखापेक्षी हुन पुगेका छन् । कतै निर्दोष व्यक्तिको हत्या गर्न पुगेका देखिन्छन्, कतै परस्त्रीमाथि लोभिएर सहस्राक्ष बन्न पुगेका पाइन्छन् । कतै शत्रुहरूले सत्ता छिने भनेर रोइकराइ गर्दै हिँडेका देखिन्छन्, कतै प्राण बचाउन गिरिकन्दरामा लुक्दै हिँडेका पाइन्छन् । अप्सरालाई नचाएर मोजमस्ती गर्ने पनि हुन्, कुर्सी बचाउन सबै खाले जालझेल गर्न पछि नपर्ने पनि उनै हुन् । वेदमा इन्द्रपछिका अर्का चर्चित देवतामा अग्नि पर्छन् । ऋग्वेदको सुरुवात नै उनको स्तुतिबाट भएको छ । ऋग्वेदमा मात्रै उनीसम्बन्धी २५० भन्दा बढी सूक्त छन् । ‘सु’ उपसर्ग लागेको वच धातुबाट सूक्त बन्छ । यसको अर्थ हुन्छ– राम्रोसित गाइएको तर ‘बृहद्देवता’ले भने ऋषि वचनलाई सूक्त भनेको छ । यसको अर्थ हुन्छ– ऋषिद्वारा देवी–देवताका प्रशंसामा व्यक्त भएका वचन । सामान्यतया सूक्तहरू क्षुद्रसूक्त र महासूक्त गरी दुई किसिमका हुन्छन् । तीनवटासम्म मन्त्र रहेका सूक्तलाई क्षुद्र र सोभन्दा बढी मन्त्र भएका सूक्तलाई महासूक्त भनिन्छ तर ‘बृहद्देवता’मा सूक्तहरू चार किसिमका हुन्छन् भनिएको छ, जसमा देवता सूक्त, ऋषिसूक्त, अर्थसूक्त र छन्दसूक्त पर्छन् । यसअनुसार देवताको स्तुतिमा गाइएका जति सूक्त देवता सूक्तमा पर्छन् । ऋषिका स्तुतिपरक सूक्तहरू ऋषिसूक्त तथा प्रयोजन सिद्धिका लागि गाइएका सूक्तहरू अर्थसूक्त र एउटै किसिमका छन्द रहेका सूक्तहरू छन्दसूक्तमा पर्छन् । (कल्याण वेद–कथाङ्क पृष्ठ ४३८) यसबाहेक अन्य वैदिक संहिताहरूले पनि उनले राम्रै चर्चा पाएका छन् । वैदिक ग्रन्थमा उल्लेख भएअनुसार पृथ्वीस्थानीय, अन्तरिक्षस्थानीय र द्युस्थानीय गरी देवता तीन किसिमका हुन्छन् । यिनमा अग्नि पृथ्वीस्थानीय देवतामा पर्छन् भने वायु अन्तरिक्षस्थानीय र सूर्य द्युस्थानीय देवता मानिएका छन् तर यी रूपमा मात्र हुन्, सारमा ती सबैको प्रतिनिधित्व अग्निले नै गरेका छन् । वायु र सूर्यभित्र विद्यमान ऊर्जाका स्रोत अग्नि नै मानिन्छन् । एउटै अग्नि आधिभौतिक रूपले द्यावाभूमि सर्वत्र विद्यमान छन् भने आधिदैविक र आध्यात्मिक रूपले चराचर जगत्लाई गतिशील राख्दै आएका छन् । जीवनको उत्पत्ति पनि अग्निबाटै भएको छ, धारण र पालन पनि अग्निबाटै भएको छ । जीवन बनाउने पनि उनै, बचाउने पनि उनै, खान दिने पनि उनै, खाएको पचाउने पनि उनै । न उनी निष्क्रिय हुन सक्छन् न उनका गतिविधि नै निरर्थक । उनकै कारण संसारले निरन्तरता पाएको छ । पछिका निरन्तरतामा पनि उनकै भूमिका रहनेछ तर तिनै अग्नि पौराणिक युगमा आइपुग्दा दिग्पालको भूमिकामा सीमित हुन पुगेका मात्र छैनन्, यदाकदा त्यसैलाई बचाउन पनि हम्मेहम्मे पर्ने गरेको छ । अश्विनीकुमार पनि वैदिक देवता हुन् । वेदमा इन्द्र र अग्निपछिका अर्का चर्चित देवता उनीहरू नै हुन् । ऋग्वेदमा मात्रै उनीहरू सम्बन्धित ६१ वटा सूक्त छन् । यसबाहेक यजुर्वेद, सामवेद र अथर्ववेदमा पनि उनीहरूले राम्रै स्थान पाएका छन् । वैदिक ग्रन्थका अनुसार उनीहरू ज्ञानी, ध्यानी, पराक्रमी मात्र छैनन् दया, माया, मैत्री, करुणा, परोपकार आदि दैवी गुणका खानीसमेत मानिन्छन् । आँखा नहुनेलाई आँखा दान गर्न पनि उनीहरू नै पुगेका छन्, अन्न र वस्त्रको आवश्यकता पूर्तिमा पनि उनीहरू नै अघि सरेका छन् । पति, पत्नी, पानी, नानी, जवानी, खानी आदि जहाँ जसलाई जे आवश्यकता पर्छ, तिनलाई पूरा गरी समाजसेवाको अनुपम नमुना पेस गरेका छन् । देवताका समेत चिकित्सक मानिएका अश्विनीकुमार आदिम चिकित्सक मात्र होइनन्, वैज्ञानिक पनि हुन् । भगवान् शिवपछि सफल शिर प्रत्यारोपणकर्ता कुनै छन् भने उनीहरू नै छन् तर तिनै अश्विनीकुमार पौराणिक युगमा आइपुग्दा आफ्नो भागसमेत बचाउन नसक्ने अवस्थामा पुगेका छन् । पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार उनीहरूका जन्म सूर्यपत्नी सङ्ज्ञाको गर्भबाट भएको थियो, जो त्यतिबेला घोडीको रूप धारण गरी उत्तरकुरु (उज्वेकिस्तान)को घाँसे मैदानमा चर्न गएकी थिइन् । सूर्यपुत्र भए पनि घोडीको गर्भबाट जन्मेकाले देवताको पङ्क्तिमा स्थान नपाएपछि उनीहरू भृगुपुत्र च्यवनका शरणमा पुगेका थिए । च्यवनको सहयोग पाएर मात्रै अन्यथा उनीहरूले न देवताका पङ्क्तिमा स्थान पाउँथे न यज्ञ भागकै अधिकारी बन्न सक्थे । वायु पनि वैदिक देवता नै हुन् । वेदमा अश्विनीकुमारपछि बढी चर्चा पाउनेमा उनी नै देखिएका छन् । वेदले उनलाई मरुद्गणको सङ्ज्ञा दिएको छ । ऋग्वेदमा मात्रै उनीसम्बन्धी ४६ वटा सूक्त छन् । यसबाहेक अन्य वैदिक संहितामा पनि उनको राम्रै चर्चा भएको पाइन्छ । वैदिक सूक्तहरूले उनलाई वायवीय ऊर्जाको स्रोत मानेर अति तेजस्वी र शक्तिशालीका रूपमा सम्मान गरेका छन् । वायु, पवन, अनिल आदि विभिन्न नामले पुकारिने यी देवता जीवनको मूलाधार मात्र होइनन्, द्यावाभूमि सर्वत्र एकैसाथ विचरण गर्न सक्ने प्राकृतिक शक्ति पनि हुन् (ऋग्वेद १।८६।८) । वैदिक ग्रन्थमा उनी कतै रुद्रपुत्र (ऋग्वेद १।८५।१), कतै पृथ्वीपुत्र (ऋग्वेद १।८५।३), कतै द्यावाभूमिपुत्र (यजुर्वेद २७।२४)का रूपमा चिनिएका छन् । त्यस्तै परोपकारी, सङ्कटनाशक, सर्वकर्ता, सर्वद्रष्टाजस्ता दैवी गुणका बेजोड नमुना मानिएका वायुदेव कतै सारा संसारको मूलाधार (ऋग्वेद १।८७।१), कतै प्राणदाता (ऋग्वेद १।८५।११), कतै मङ्गलकारी शक्ति (ऋग्वेद १।८७।१), कतै विद्युत् समान दिप्ति र गतियुक्त (ऋग्वेद १।८८।१) र कतै अद्भूत शक्ति र सामथ्र्यशाली (ऋग्वेद १।८८।२) आदिका रूपमा समेत देखिएका छन् तर उनीसमेत पौराणिक युगमा आइपुग्दा एउटा दिग्पालमा सीमित हुन पुगेका मात्र छैनन्, त्यसलाई समेत बचाउन नसकेर यदाकदा रोइकराइ गर्दै हिँडेका देखिन्छन् । सूर्य पनि वैदिक देवता नै हुन् । वायुपछि बढी चर्चा पाउने देवतामा उनै पर्छन् । ऋग्वेदमा उनी सम्बन्धित ३५ वटा सूक्त छन् । यसबाहेक यजु, साम र अथर्व अन्य संहितामा पनि राम्रै चर्चा पाएका छन् । शुक्लयजुर्वेदको स्रोतसमेत उनै मानिएका छन् । वैदिक ग्रन्थका अनुसार सूर्य भनेका त्यस्ता देवता हुन्, जसका कारण प्राकृतिक शक्ति सन्तुलित भई सांसारिक गतिविधि व्यवस्थित हुँदै आएका छन् । दिक्, काल र निमित्तको व्यवस्थापनमा समेत मूल भूमिका निर्वाह गर्दै आएका सूर्य संसारको उत्पत्ति, पालक र प्रलयको समेत आधार मानिएका छन् । ऋग्वेदले उनलाई संसारको आत्मा मात्र मानेको छैन, समग्र विश्व ब्रह्माण्डका कणकणमा विद्यमान सर्वव्यापी परमात्मा तìवका रूपमा उभ्याउने प्रयाससमेत गरेको छ । (ऋग्वेद १।११५।१) तर उनीसमेत पौराणिक युगमा आइपुग्दा सौरमण्डलको एउटा ग्रहमा सीमित हुन पुगेका छन् । यी केही उदाहरण हुन् । प्रायः सबै वैदिक देवताका अवस्था त्यस्तै देखिन्छ । तिनै देवता वेदमा जति पराक्रमी र शक्तिशाली देखिन्छन्, पौराणिक ग्रन्थमा त्यति नै स्वार्थी, डरपोक र परमुखापेक्षी हुन पुगेका देखिन्छन् । यसको मूल कारण हो– कर्मवादलाई लत्याएर उपभोक्तावादलाई पछ्याउनु । कर्मवादले कर्मयोगी बनाउँछ । भोगवादले लोभानी र पापानीलाई जन्माउँछ । जहाँ उपभोगको कुरा आउँछ, त्यहाँ लोभ हुन्छ, जहाँ लोभको कुरा आउँछ त्यहाँ काम र क्रोधले स्थान पाउँछ । अनि जहाँ काम र क्रोधले स्थान पाउँछ, त्यहाँ हुने भनेको दुःख र हैरानी नै हो । वैदिक युग कर्मप्रधान थियो, सबै कर्ममा विश्वास गर्थे । फलतः देवता पराक्रमी र परोपकारी देखिए । पौराणिक युग भोगप्रधान हुन पुग्यो, जसले गर्दा देवता पनि त्यस्तै भूमिकामा देखिन पुगे ।
भउचप्रसाद यादवकाठमाडौँ, वैशााख ३ गते । काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ । त्यसका लागि महानगरले फोहोर उत्सर्जनकर्तालाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रहसमेत गरेको छ ।काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सहज र वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्नका लागि महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । अब महानगरले हप्ताको तीन दिन कुहिने र हप्ताको एक दिन नकुहिने फोहोर सङ्कलन गर्ने निर्णय गरेको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार महानगरले यो निर्णय केही दिनभित्रै कार्यान्वयनमा ल्याउने छ ।उहाँले भन्नुभयो, ‘‘अब फोहोर उत्सर्जनको मुख्य स्रोत घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउँदै जाने नीति महानगरले लिएको छ । अब घरवालाले नै फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै ल्याउनुपर्ने हुन्छ ।’’ कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्दा सोको व्यवस्थापनमा समेत सहज हुने बताउँदै उहाँले छुट्याइएको फोहोर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले व्यवस्थापन गर्न थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।कुहिने र नकुहिने वर्गीकरण नगरी फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म फोहोर ल्याए सम्बन्धित व्यक्तिको घरमा नै पुनः फर्काइने बताउँदै उहाँले सो व्यक्तिलाई कारबाहीस्वरूप पाँच सय रुपियाँ जरिवानासमेत गर्ने जानकारी दिनुभयो । महानगरको निर्णयलाई नमानेको अवस्थामा फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार दण्डजरिवाना गर्ने महानगरले जनाएको छ ।काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गर्दछ । यसबाहेक सङ्कलन हुन नसकेको फोहोर र स्रोतमा घटाएको फोहोरको मात्रा पनि छ । यसको तथ्याङ्क यकिन छैन । एक हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौँ महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर सङ्कलन गरेर ल्यान्डफिल्ड साइटमा पु¥याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्यान्डफिल साइटमा पु¥याउने गरिएको छ । उपत्यकाका नगर क्षेत्रमध्ये गोकर्णेश्वर नगर तेस्रो धेरै फोहोर उत्पादन हुने नगर हो । यस नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । त्यसपछि नागार्जुन, टोखा, तारकेश्वर र बूढानीलकण्ठ गरी चारवटा नगर क्षेत्रबाट ३५÷३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरको तथ्याङ्कले देखाउँछ । यी नगरहरू फोहोर उत्पादनका कोणबाट चौथा ठूला नगर हुन् । त्यसपछि काठमाडौँको चन्द्रागिरि, ललितपुरको महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमी नगर क्षेत्रबाट ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । यी नगर पाँचौँ स्थानमा परेका छन् ।
रेखीराम रानापाल्पा, बैशाख २ गते । पाल्पाको रैनादेवी छहरा–६, जुठापौवामा बस पल्टिँदा २ जनाको ज्यान गएको छ । जुठापौवाको पानीडाँडाबाट जुठातिर आउँदैगरेको लु १ ज ४९०२ नम्बरको बस सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना भएको जुठापौवा प्रहरी चौकीले जानकारी दिएको छ । बसमा सवारमध्ये २ जनाको ज्यान गएको छ । चार जना गम्भीर घाईते भएका छन् । उहाँहरुलाई उपचारका लागि मिसन अस्पताल तानसेनतर्फ पठाइएको प्रहरीले जनाएको छ । के कारणले बस दुर्घटना भएको भन्नेबारे अझै नखुलेको प्रहरीले जनाएको छ ।
बिष्णुप्रसाद पोखरेलदमक, वैशाख २ गते । झापाका बिभिन्न आदिबासी समुदायले यो बर्ष हर्ष उल्लासका साथ सिरुवा पर्व मनाइरहेका छन् । कोरोना संक्रमणको महामारीले दुई बर्षसम्म खुलेर सिरुवा पर्व मनाउन नपाएका आदिबासी समुदायले यो बर्ष सिरुवा पर्व भब्यताकासाथ मनाएका हुन् । राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका समुदायले बैशाख १ गते विहिबार पानी एक अर्कालाई छ्यापेर र दोश्रो दिन शुक्रबार हिलो (काद) दलादल गरेर अन्तिम अर्थात शनिवार रंग दलेर यो पर्व मनाउँदै छ्न । कतिपय ग्रामथानहरुमा सामुहिक कुलपुजासहितको धार्मिक मेला समेत लाग्दैआएको छ ।एकापसमा भातृत्व र बन्धुत्वको सम्बन्धलाई अझ प्रगाढ बनाउन शुभकामना आदानप्रदान गर्दै जिल्लाका विभिन्न स्थानमा सामूहिकरूपमा ग्रामथानमा भेला भएर यो पर्व मनाउने कार्य भइरहेको आदिबासी नेता नित्यानन्द ताजपुरीयाले बताउनुभयो । उहाँकाअनुसार आ–आफ्ना घरमा घाटोसरी थान बनाएर पूजा गर्ने, ग्रामथानमा गएर कूलदेवताको पूजापाठ गर्ने कार्य पनि भइरहेको छ । उहाँकाअनुसार कमल गाउँपालिका ६ को ग्रामथानमा सदियौकालदेखि परम्परागत रुपमा हुँदैआएको कुलपुजासहितको धार्मिक मेला पनि यो बर्ष भब्य रुपमा सकिएको छ । विहीबार लागेको मेलामा १० हजारभन्दा बढीको सहभागिता रहेको जानकारी दिनुभयो ।विवाह गरेर गएका छोरी–चेली बोलाएर, देश–विदेशमा रहेका आफन्त एकै स्थानमा भेला भएर मीठा परिकार बनाएर खाँदै दुःख, सुख साटेर हर्षोल्लासका साथ यो पर्व मनाइने गरेको गौरीगन्जकी आदिबासी अगुवा महिला फुलवती राजवंशीले बताउनुभयो ।
काठमाडौं, वैशाख २ गते। संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ। स्वासप्रश्वासमा समस्या देखिएपछि उहाँ बिहीबार दिउँसो ४ बजे ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल अस्पताल भर्ना हुनुभएको पारिवारिक स्रोतले जानकारी दिएको छ। छोरी कादेवी जोशीका अनुसार सास फेर्न अप्ठेरो महसुस भएपछि उहाँलाई बिहीबार दिउँसो अस्पताल भर्ना गरिएको हो। ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ। पिसाबमा इन्फेक्सन भएको चिकित्सकले बताउनुभएको छ’, चिकित्सकको भनाइ उद्धृत गर्दै छोरी कादेवीले भन्नुभयो। १०२ वर्षीय जोशीलाई यसअघि माघमा सास फेर्न समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएकाे थियाे ।
निशा राईधरान, बैशाख २ गते । भेडेटार–धरान सडक खण्डमा यात्रुबाहक बस र ट्याम्पो एकापसमा ठोक्किँदा ट्याम्पो चालकको मृत्यु भएको छ । धरानबाट भेडेटारतिर जाँदैगरेको १ ख ४४८० नम्बरको बस र भेडेटारबाट धरान तर्फ आउँदै गरेको २ ह ७०४१ नम्बरको ट्याम्पो धरान ४ स्थित देविथानमा एकापसमा ठोक्किँदा ट्याम्पो चालकको मृत्यु भएको हो । ट्याम्पोमा सवार एक जना किशोरी घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ । मृत्यु हुने ट्याम्पोचालक भरौल –५ सुनसरीका ४० वर्षीय खड्गबहादुर विक रहेका छन् । उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याम्पोमा सवार ताप्लेजुङ लिखुम –२ बस्ने १५ बर्षीय उषा लिम्बुको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । बस चालक धरान–१७ का ४५ वर्षीय गोविन्दबहादुर कटुवाल हुनुहुन्छ । इलाका प्रहरी कार्यालय धरानले बस नियन्त्रणमा लिएको जनाएको छ ।
बेलिना थापालमजुङ, बैशाख २ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले बिजयपथमा लम्किसकेकाले अव कसैले एमालेको गतिलाई रोक्न नसक्ने बताउनुभएको छ । एमाले लमजुङले शुक्रबार बेँसीसहरमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । पार्टीका कमिटी, जनसंगठन झन् बढी सक्रिय भएको उहाँले दावी गर्नुभयो । एमालेले छोटो अवधीमा विधान महाधिवशेन गरी नीति, कार्यक्रम व्यवस्थित गरेको, संगठनात्मक संरचनाको व्यवस्था गरेको बताउनुभयो । नीतिगत रुपमा पार्टी सञ्चालन गर्न, पार्टीलाई अनुशासित र गतिशील बनाउन राष्ट्रिय महाधिवेशन आयोजना गरिएको उहाँले बताउनुभयो । एमाले स्थानीय तह निर्वाचनमा केन्द्रीत भएर लागेको, राष्ट्रियता जोगाउने अभियानमा लागेकाले मत परिणाम नआउने बेलासम्म ननिदाउने बताउनुभयो । नेता, कार्यकर्तालाई पनि निर्वाचन सम्पन्न भएपछि मात्र ढुक्कले निदाउन उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय कार्यालय सचिव डा. भिष्मनाथ अधिकारी, केन्द्रीय सदस्य तथा लमजुङ इन्चार्ज मायानाथ अधिकारी, केन्द्रीय सदस्य जमिन्द्रमान घले, टुका हमाल, गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रदेश, जिल्ला, पालिका कमिटीका नेता, कार्यकर्ताको उपस्थिति थियो ।
कमल शर्मादैलेख, वैशाख २ गते । नेकपा (एकीकृत समाजवादी) का दैलेख जिल्ला सचिव मानबहादुर खड्का एमालेमा फर्कनु भएको छ । शुक्रबार एमाले पार्टी कार्यालय दैलेखमा भएको कार्यक्रममा खड्काले नेकपा (एकीकृत समाजबादी) पार्टी परित्याग गरी पुरानै मुल पार्टी एमालेमा फर्कनु भएको हो । उहाँले एक विज्ञप्ति जारी गर्दै २०४६ देखि विभिन्न जिम्मेवारी समाल्दै एमालेमा रहेको, पार्टी विभाजनको अवस्थाले उत्पन्न परिस्थितिमा नेकपा (एकीकृत समाजवादी) पार्टी जिल्ला कमिटी दैलेखको सचिव पदमा रहेको भएपनि सो जिम्मेवारी आजैबाट छाडी एमालेको झण्डामुनि गोलबद्ध हुने निर्णय गरेको उल्लेख गर्नुभएको छ । पार्टी विभाजनका कारण एमालेभन्दा बाहिर रहेका सबैलाई उहाँले एमालेमै फर्कन आव्हान पनि गर्नुभएको छ । खड्कालाई एमाले दैलेखका पार्टी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्मा, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, एमाले नेता नन्दकिशोर बस्नेत, शान्ति शर्मा, चन्द्रा रेग्मी लगायतले पार्टीमा स्वागत गर्नुभयो । खड्कालाई स्वागत गर्दै एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले एमालेले दैलेखका ११ वटै स्थानीय तहमा आफ्नो विजय सुनिश्चित हुनेगरी काम गरिरहेको बताउनुभयो ।
काठमाडौँ, वैशाख २ गते - सौन्दर्य व्यवसायमा संलग्न महिलाको क्षमता अभिवृद्धि गर्दै आएको छ, ‘ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियो।’ कोभिड-१९ प्रकोपका कारण थलिएको व्यवसायलाई पुरानै अवस्थामा फर्काउने अभिप्रायले ‘ग्लो टु ग्लो’ले देशभरका ३ सय ४३ जना ब्युटिसियनलाई उच्चस्तरीय तालिम प्रदान गरेको छ। नयाँ वर्षको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा ‘ग्लो टु ग्लो’बाट ‘डिप्लोमा र मास्टर्स क्लास कोर्ष’ गर्ने महिलालाई संयुक्त अरब इमिरेट्स सरकारअन्तर्गतको ‘नलेज एन्ड ह्युमन डेभेलप्मेन्ट अथ्योरिटी (केएचडिए)’ बाट सम्बन्धन प्राप्त प्रमाणपत्र प्रदान गरिएको छ। ‘ग्लो टु ग्लोः दी ब्युटी स्टुडियो’का संस्थापक विनिता शाहका अनुसार कार्यक्रममा १०८ जनाले प्रमाणपत्र लिएका छन्। उहाँले ‘ग्लो टु ग्लो’ले सौन्दर्य व्यवसायमा संलग्न महिलालाई उच्च स्तरीय तालिम प्रदान गरिरहेको बताउनुभयो। विविध विधामा पुरस्कृतनयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा विभिन्न विधामा प्रतिस्पर्धा समेत गराइएको थियो। तालिममा सहभागी शिला सुब्बाले १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयो।सौन्दर्य कलासम्बन्धी प्रश्नोत्तर र खेलमा निर्मला धामी, आशा ओली र शर्मिला तामाङ पुरस्कृत हुनुभयो। छाला हेरचाहसम्बन्धी प्रश्नोत्तरमा सलिना मल्ल र शर्मिला तामाङ विजयी हुनुभयो। अन्य दुई खेलमा रोजिना श्रेष्ठ र दीपिका श्रेष्ठ विजयी हुनुभएको छ।
सिराज खान नेपालगञ्ज, बैशाख २ गते । भारतीय सीमानासँग जोडिएको जिल्ला भएकाकारण बाँकेमा निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि चार हजार सुरक्षाकर्मी परिचालन गर्ने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।६५ किलोमिटर खुला सीमाना भएको यो जिल्लाको निर्वाचन सुरक्षालाई विशेष महत्वका साथ हेरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीकाअनुसार, मतदानस्थल र मतदान केन्द्रको संवेदनशीलताअनुसार सुरक्षाकर्मी परिचालन गरिनेछ ।पहिलो घेरा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र आवश्यक पर्ने ठाउँमा नेपाली सेना समेत परिचालन गरिने प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो । उहाँले जिल्लाका सबै मतदानस्थलको स्थलगत अनुगमन गरेर ती मतदानस्थलको अवस्थाबारे अध्ययन गरेर सुरक्षाकर्मी परिचालनको रणनीति तयार गरिएको बताउनुभयो । स्थलगत अनुगमनपछि जिल्लाभर करिब चार हजार सुरक्षाकर्मी निर्वाचनका लागि परिचालन गर्नुपर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । शान्ति सुरक्षाका हिसाबले अति नै संवेदनशील क्षेत्रमा मात्रै सेना खटाइने जानकारी उहाँले दिनुभयो ।बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले १ हजार ६०० बढी म्यादी प्रहरी तालिममा रहेको, थप प्रहरी समेत निर्वाचनका लागि प्राप्त हुने भएकाले मापदण्ड निर्धारण भएपछि सोहीअनुसार सम्बन्धित ठाउँमा सुरक्षाकर्मी खटाइने बताउनुभयो । बाँकेमा १०१ मतदान केन्द्र अति संवेदनशील ३५ संवेदशील मतदान केन्द्र रहेकोले सोही बमोजिम सुरक्षाकर्मी पनि खटाइने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । मतदानस्थल र मतदान केन्द्रको सुरक्षाबारेमा ती केन्द्रका उम्मेदवार, विभिन्न दलका प्रतिनिधि, समुदायका अगुवा तथा आम जनसमुदायसँग पनि छलफल गरेर सुझाव माग गर्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
दिपकप्रसाद गौतम वीरगञ्ज, बैशाख २ गते । मुलुककै प्रमुख नाका वीरगञ्जमा रहेको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८–७९ को ९ महिने अवधीमा १ खर्ब ५५ अर्ब ३८ करोड २९ लाख ५७ हजार रुपियाँ राजश्व संकलन गरेको छ । भन्सार विभागले चालु आर्थिक वर्ष २०७८–७९ को ९ महिने अवधीमा १ खर्ब ५१ अर्ब ९३ करोड १४ लाख २३ हजार रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य दिएकोमा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजश्व असुली गरेको हो । वीरगञ्ज भन्सार कार्यालयले दिएको लक्ष्यभन्दा २ दशमलव ३ अर्थात् ३ अर्ब ४५ करोड १५ लाख ३४ हजार रुपियाँ राजश्व असुल गरेको हो । गत आर्थिक वर्षमा २०७७–७८ को सोही अवधिमा १ खर्ब २४ अर्ब ७७ करोड ५२ लाख २९ हजार रुपियाँ राजश्व असुली भएको थियो । भन्सार विभागले १ खर्ब १६ अर्ब ५० करोड ६५ लाख १३ हजार रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य दिएको भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८–७९ को ९ महिनामध्ये साउन, कात्तिक, पुस, माघ, फागुन र चैत महिनामा भन्सार विभागले दिएको राजश्व संकलन गर्ने लक्ष्य भेट्टाउन सकेको छैन । साउन महिनामा लक्ष्यको ९९ दशमलव ५ प्रतिशत, कात्तिक महिनामा लक्ष्यको ९७ दशमलव २ प्रतिशत, पुस महिनामा लक्ष्यको ९७ दशमलव ७ प्रतिशत, माघ महिनामा लक्ष्यको ९५ दशमलव ९ प्रतिशत, फागुन महिनामा लक्ष्यको ९८ दशमलव ७ प्रतिशत र चैत महिनामा लक्ष्यको ९२ दशमलव ५ प्रतिशत राजश्व संकलन गर्न सफल भएको छ ।