• १९ असार २०८१, बुधबार

अर्थमन्त्रीले संविधान नपढी बजेट ल्याउँछन् : नेता खनाल

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ ४ गते । नेकपा (एकीकृत समाजवादी)का सांसद एवम् सम्मानित नेता झलनाथ खनालले मुलुकका कुनै पनि अर्थमन्त्रीले संविधानको भाग ४ नपढेको आरोप लगाउनुभएको छ । 

प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा नेता खनालले  नेपालका कुनै पनि अर्थमन्त्रीले संविधानको व्यवस्था नै नपढेको दाबी गर्नुभएको हो । 

‘‘अर्थमन्त्रीले जुन प्रस्ताव प्रस्तुत गर्नुभएको छ । यसमा विभिन्न कुराहरु उठाउनु भएको छ । ती विषयहरु आमरुपमा सकारात्मक छन् तर मोटामोटा कुराहरु मात्रै छन् ।,’’ उहाँले भन्नुभयो, ‘‘यसमा कस्तो विषयवस्तुका साथ कार्यक्रम, योजनाहरु आउने छन् भन्ने विषयमा त्यति प्रस्टता छैन ।’’

नेता खनालले २०६२–६३ को जनक्रान्ति सम्पन्न गरेपछि मुलुकमा आमूल परिवर्तन भए तर आमूल परिवर्तनको महसुस आमजनताले पाउन नसकेको बताउनुभयो ।

‘‘हामीले संविधान निर्माण गरेका छौं । त्यो संविधानको भाग ४ बनाउँदा राष्ट्रका निर्देशक सिद्धान्तहरु के हुन् ? के हुनुपर्छ ? अब बन्ने सरकार कसरी चल्नुपर्छ ? अब बन्ने सरकारका नीति के हुनुपर्छ ? उहीहरुलाई अभिमुखिकरण के हुनुपर्छ ? यी कुराहरुको बारे विस्तृत छलफल गरेर हामीले निर्देशक सिद्धान्तहरु निर्माण गरेका छौं ।’’ खनालले भन्नुभयो ।

त्यस्तै, उहाँले संविधान बनेयता ४–५ वटा बजेट आएका र ती बजेट बनाउने कुनै पनि अर्थमन्त्रीले संविधानको भाग ४ का सिद्धान्त नपढेको दोहोर्याउनुभयो । 

‘‘चार वर्ष अगाडिदेखि जो अर्थमन्त्री थिए, चारवटा बजेट आए । ती चारवटा बजेट बनाउँदा हामी आफैँले लेखेको संविधानको भाग ४ का सिद्धान्तहरु सम्भवतः ती अर्थमन्त्रीहरुले पढेका छैनन् ।,’’ उहाँले भन्नुभयो, ‘‘म दाबाका साथ भन्छु नेपालका कोही पनि अर्थमन्त्रीले संविधान पढ्ने गरेका छैनन् ।’’

संविधानको भाग ४ पढेर बजेट ल्याएको भए देशका आमजनताले छुने बजेट आउने उहाँको भनाइ छ ।

‘‘यदि पढेको भए यो देशका आमजनताले छुने बजेट आउँथ्यो । आमुल परिवर्तन गर्ने बजेट आउँथ्यो । सामाजिक, आर्थिक रुपान्तरण गर्ने बजेट आउँथ्यो तर त्यो ढङ्गले आएन ।’’ उहाँले भन्नुभयो ।
नेता खनालले एकपटक संविधानमा बजेटसम्बन्धी व्यवस्था र संविधानको लक्ष्य पढ्न अर्थमन्त्रीलाई आग्रह गर्नुभयो ।

‘‘अर्थमन्त्रीज्यूले एकपटक संविधानमा बजेटसम्बन्धी व्यवस्था र संविधानको लक्ष्य पढ्नुहोस् । संविधान जुनसुकै पार्टीलाई मार्गदर्शन गर्ने दस्तावेज हो ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यसैले संविधानको नीति र योजनाअनुसार बजेट बनाउनुपर्छ ।’’