हरिप्रसाद कोइरालाउर्लाबारी, बैसाख, ३ गते । ५० वर्ष भन्दा अघि भारतीय डाकाको रखवारी गर्न निर्माण गरिएको टुङघरको प्रयोग हाल आएर बदलिदै गएको छ । त्यसताका दक्षिण पूर्वी मोरङका लारिकट्टा, कर्सिया, सिंगारी, सौंठा र कल्याणपुरमा भारतीय डाकाले धेरै दुख दिने गरेको अग्रजहरु बताउनुहुन्छ । खेतबाट धानका बिटा हराउँथे । दैनिक जसो गाई गोरु चोरी हुन्थे । रातभर टुङमा बसेर गाउँलेहरू आफ्नो गाउँमा सुरक्षा दिन्थे । डाका आइहाले भने टुङमा बसेका ब्यक्तिले गाउँलेलाई बोलाउँथे र गाउँलेहरू संगठित भएर डाका खेदाउँथे । उसबेला जीवन रक्षा गर्नु मुख्य साधननै टुङघर थियो । तर,त्यहीँ टुङघर अहिले भ्युटावरमा रुपान्तरण भएको छ । अहिले टुङको आवश्यकता नभए पनि भावी पिढीले टुङ देखुन भनेर स्थानीयले २०६४ सालमा पक्की टुङ बनाउन सुरु गरेको रतुवामाई– १ का वडासदस्य घनश्याम गौतम बताउनुभयो । वर्षैभरि भारतीय डाकाहरूले दुःख दिन थालेपछि कल्याणपुर क्षेत्रका वासिन्दाले डाकाको रखवारी गर्न २०२६ सालमा काठको टुङघर निर्माण गरेको स्थानीय बताउँछन् । तर, उसबेला बनाइएका टुङघरहरू अहिले कतै पनि देखिँदैनन् । त्यसो त दक्षिणी मोरङका सिमावर्ती गाउँहरूमा चोर डाकाको कुनै समस्या छैन् । २०२६ सालमा सबैभन्दा पहिले कल्याणपुरमा टुङघर बनाइएको थियो । विभन्न कारणले टुङ भत्किएपनि त्यसपछि सोही स्थानमा स्थानीयबासीले कंक्रिटको टुङघर बनाउन थालेको स्थानीय राजेन्द्र बरालले बताउनु भयो । पुरानो टुङ कल्याणपुरमा निर्माण भएको र अन्तिमसम्म रहेकोले टुङको परिचय जिवीत राख्न कल्याणपुरबासीले सोही स्थानमा कंक्रिटको टुङ बनाएका हुन् ।हेर्दा भ्युटावर जस्तै दखिने टुङघर दक्षिणी मोरङको भारतीय सीमावर्ती रतुवामाई नगरपालिका– १ कल्याणपुरमा रहेको छ । स्थानीय बासिन्दाले २०६४ मा निर्माण थालेको टुङघर १० वर्षपछि अर्थात २०७४ मा मात्र निर्माण सम्पन्न गरे । हिजोआज स्थानीयहरुलेनै टुङलाई भावी सन्ततिका लागि उदाहारण स्वरुप देखाउन संरक्षण गर्न थालेका छन् ।
नवराज कट्टेलविराटनगर, वैशाख ३ गते । कागजलगायतका आवश्यक वस्तुमा अत्यधिक मूल्य वृद्धि हुँदा त्यसको असर मुद्रण उद्योगमा देखिएको छ । भारत तथा तेस्रो मूलुकबाट पैठारी हुने सबै प्रकारका कागजमा पछिल्लो एक महिनायता दैनिकजस्तो मूल्य वृद्धि हुँदै गएपछि उद्योगीले चिन्ता व्यक्त गरका छन् । विद्यालयका पुस्तकका लागि प्रयोग हुने म्यापलिथो एक महिनायता प्रतिकेजी ८६ रुपियाँबाट १०२ रुपियाँ पुगेको छ । यसैगरी प्रतिकेजी १५० रुपियाँमा खरिद हुँदै आएको आर्टबोर्ड पेपरको मूल्य २४० रुपियाँ पुगेको छ । यो कागज क्यालेन्डर तथा कार्ड छपाइमा प्रयोग हुन्छ । यसैगरी न्युज प्रिन्टको मूल्य ८४ रुपियाँ प्रतिकेजीबाट १०५ रुपियाँ पुगेको छ । भारत तथा तेस्रो मुलुकबाट कागजजन्य वस्तुको पैठारीकर्ता विराटनगरस्थित ओरियन्ट सप्लायर्सका ज्योति साबुका अनुसार तेस्रो मूलुकबाट प्रतिटन ६४० रुपियाँमा खरिद हुँदै आएका कागज अहिले एक हजार २१५ पुगेको छ । यो कोलकातास्थित सीआईएफको मूल्य हो । त्यहाँबाट प्रतिकेजी आठ रुपियाँ ढुवानी बुझाएर आयात गरिने कागजको मूल्य नेपालमा स्वतः बढ्न गएको साबुले बताउनुभयो । नेपालमा भारत तथा तेस्रो मुलुकबाट किताब छाप्ने म्यापलिथो, क्यालेन्डर छाप्ने आर्थपेपर, किताबको कभरका रूपमा प्रयोग हुने आर्ट बोर्डर, पत्रपत्रिका छाप्न न्युज प्रिन्ट र मिडिया पेपर आयात हुँदै आएको छ । विराटनगरस्थित कृष्णा ट्रेडर्सका हेमन्त बोहराले भारत तथा तेस्रो मुलुकबाट आयात हुने कागजको मूल्य उत्पादक देशमै बढेको छ । त्यसको असरका रूपमा नेपालमा अझै बढ्ने सम्भवना छ । नेपाल राष्ट्र बैङ्कले प्रतीतपत्र (एलसी) खोल्न कडाई गरेसँगै मुद्रण उद्योगका आवश्यक सबै प्रकारका वस्तुको अभाव हुने देखिने चिन्ता मुद्रण उद्योगीमा छ । नेपाल मुद्रण उद्योग महासङ्घ प्रदेश १ का अध्यक्ष लवकुमार घिमिरेका अनुसार एलसी खोल्न कडाइ गरिएसँगै पहिला आयात गरिएको सामानमा समेत कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाइएको छ । मुद्रण उद्योगसँग सम्बन्धित कागज, मसीलगायतका आवश्यक वस्तु बजारमा अभाव भइसकेको छ । मुद्रण उद्योगले आफ्नो छपाइ क्षमतासमेत ४० प्रतिशतले कटाएको अध्यक्ष घिमिरेको भनाइ छ । नेपालमा उत्पादन नहुने र आयातकै भर पर्नुपर्ने मुद्रण उद्योगसँग सम्बन्धित कच्चापदार्थको अभाव देखिए धेरैको रोजगारी गुम्ने मोरङका अध्यक्ष सुभास कार्कीले बताउनुभयो । पैठारीकर्ताले भारत तथा तेस्रो मुलुकबाट झिकाउने कागजमा १५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर बुझाउनुपर्छ । ढुवानी तथा भन्सार जाँचका सबै प्रक्रिया पूरा गर्दा सबै प्रकारका कागजको मूल्य गत वर्षको भन्दा ३० प्रतिशतले वृद्धि भइसकेको आयातकर्ताहरूको दाबी छ । नेपालमा उत्पादन हुने कागजले सबै प्रकारका काम टार्न सक्दैन जसका कारण आयात गरेर ल्याउनुपर्ने कागज तथा मसी अभाव भए त्यसको असर धेरै क्षेत्रलाई पर्नसक्ने मुद्रण उद्योगीहरूको भनाइ छ ।
सिन्धुपाल्चोक समाचारदातासिन्धुपाल्चोक, वैशाख ३ गते । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–१२ भीमटारस्थित माझी र दनुवार बस्तीको घर–घरमा खानेपानीको पहुँच पुगेको छ । २०७२ को भूकम्पले पानीको मुहान सुकाएपछि माझी र दनुवार बस्तीले खानेपानीको समस्या झेल्दै आएको थियो ।इन्द्रावती गाउँपालिका कार्यालय र स्थानीयको जनश्रमदानमा १९५ परिवारमा धारा जडान गरी खानेपानी वितरण गरिएको वडा नं. १२ का वडाध्यक्ष कमलरत्न दनुवारले जानकारी दिनुभयो । करिब ३९ लाख रुपियाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो ।बस्तीमा खानेपानीको व्यवस्थासँगै सिँचाइ सुविधा पुगेपछि स्थानीय बासिन्दालाई सहज भएको स्थानीय अनिल दनुवारले बताउनुभयो ।
बेलिना थापालमजुङ, बैशाख ३ गते । गुरुङ जातीको परम्परागत संस्कृतिको थलोको रुपमा चिनिने लमजुङको घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको छ । क्व्होलासोंथर गाउँपालिका– ३ स्थित समुद्री सतहदेखि २ हजार १०० मिटरमा रहेको घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको छ ।सार्क राष्ट्रको नमुना गाउँ, स्मार्ट भिलेजको रुपमा परिचित घलेगाउँलाई शुक्रबार नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी गाउँ घोषणा गर्नुभएको हो । ओलीले नेपालमा पहिलो पटक घलेगाउँ सुखी गाउ घोषणा भएकोमा खुसी व्यक्त गर्नुभयो । एमालेले वि.स. २०५१ सालमा नौ महिने सरकार चलाउँदा ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने अभियान ल्याएको र त्यसबाट प्रभावित भएर अहिले स्थानीय सरकार लागिपरेर अरुका लागि पनि अनुसरणीय काम गरेको बताउनुभयो । अहिले निर्वाचन आचारसंहिता लागिसकेकाले निर्वाचनपछि गाउँको विद्यालयलाई आधुनीकिकरणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले सार्क राष्ट्रकै नमुना गाउँ, स्मार्ट भिलेज घोषणा भइसकेको गाउँलाई शुक्रबार सुखी गाउँ घोषणा गरिएको हो । घलेगाउँका नागरिक सबै सुखी छन् भनेर प्रमाणित भएको बताउनुभयो ।घलेगाउँबासीलाई ग्रामीण पर्यटनका माध्यमबाट सुखी बनाउने उद्देश्यले विस. २०५७ बैशाख २३ गते प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी घरबास (होमस्टे) सुरु गरिएकोमा अहिले ४२ घरमा होमस्टे सञ्चालनमा रहेका छन् । यस गाउँमा विश्वकर्मासहित घले र गुरुङ समुदायले होमस्टे सञ्चालन गरिरहेको छ । नेकपा (एमाले) का तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री तथा नेता भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैं बनाऔं’ को नारालाई सार्थक बनाउन घलेगाउँलाई सुखी गाउँ बनाउने परिकल्पना थालिएको अध्यक्ष घलेले बताउनुभयो । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सँस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हुँदा २०६४ फागुनमा दक्षिण एशियाको नमूना गाउँ (सार्क भिलेज) घोषणा गरिएको घलेगाउँलाई पुनः २०७० मा पनि सार्क भिलेज शुभारम्भ भएको हो । होमस्टेमा एकै प्रकारको आरामदायी कोठा, एउटै रंगको रातो छानो छ । सडक, विजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायतको आधारभूत सुविधापछि घलेगाउँ २०७६ साल मंसिर १७ गते स्मार्ट भिलेज घोषणा भएको हो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत गरेको थियो ।यहाँका स्थानीयबासी होमस्टे संचालन गरेर प्रत्येक घरले ३० हजार रुपियाँदेखि ४० हजार रुपियाँसम्म मासिक बचत गर्ने गरेका छन् ।
काठमाडौँ, वैशाख ३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावेसँग एक दिवसीय र टी-२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले घरेलु मैदानमा एक दिवसीय र टी-२० सिरिज खेल्न लागेको हो । क्यानले दुवै सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपालले जिम्बावे ए सँग वैशाख १७, १९ र २१ गते एकदिवसीय तथा वैशाख २३, २४ र २६ गते टी-२० सिरिज खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा हुने अमेरिका र ओमानसँग त्रिदेशीय सिरिजको तयारीमा लागि जिम्बावे ए सँग सिरिज खेल्न लागेको हो । लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । नेपालले १२ खेलमा ६ जित र ६ वटै हार खेपेको छ । २८ खेलबाट ३६ अंक बनाएको ओमान शीर्षस्थानमा छ । यूएई, स्कटल्याण्ड, नामिबिया र अमेरिका तालिकाको क्रमश दोस्रो, तेस्रो, चौंथो र पाँचौ स्थानमा छन् । दुई अंक बनाएको पीएनजी तालिकाको पुछारमा छ । सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।
बाबुराम शर्मा चरीकोट, वैशाख ३ गते । कुनै दिन मिनी स्विट्जरल्यान्ड भनेर विश्वभर चर्चामा रहेको जिरी विविध कारणले गर्दा पुरानो लयमा आउन सकेको छैन । सडक सञ्जाल जोडिएपछि पूर्ण रूपमा सञ्चालनमा आएको एयरपोर्ट सेवा बन्द हुन पुगेपछि आन्तरिक पर्यटक आगमनमा कमी हुँदै गएकाले जिरी पुरानो लयमा आउन नसकेको जिरी नगरपालिकाका नगरप्रमुख टङ्कबहादुर जिरेलले गुनासो पोख्नुभयो । उहाँका अनुसार जिरीलाई पुरानै लयमा ल्याउन नगरभित्रका पर्यटक लोभ्याउने प्रायःजसो पर्यटकीय स्थलको निर्माण तथा मर्मत गरिए पनि विमानस्थल गौचरणमा परिणत हुँदा असर पारिरहेको छ । स्विस सरकारले स्थापना गरिदिएका जिल्ला अस्पताल, गाईफर्म, जिरी प्राविधिक शिक्षालयलगायत आकर्षक स्थलहरू सञ्चालनमा आइरहँदा पनि विमानस्थल बन्द हुन पुगेपछि जिरी पुरानै लयमा आउन सकिरहेको छैन । काठमाडौंको धुलो, धुवाँदेखि वाक्क लागेर स्वच्छ वातावरणमा रम्न यहाँ आउनेको सङ्ख्या पनि खासै बढेन । बाह्य पर्यटकले खचाखच हुने जिरी लयमा फर्काउन अन्य उपाय उपलब्धिमूलक बन्न नसकेपछि गुनासो पोख्दै उहाँले भन्नुभयो, “एयरपोर्ट हुँदा सोलु, ओखलढुङ्गालगायत र सगरमाथा आरोहणमा आउने बाह्य पर्यटक यहाँ खचाखच हुन्थे । एयरपोर्ट बन्द भएपछि उता जाने पर्यटक काठमाडौँबाटै सिधै जान्छन् । अहिले फाटफुट बाह्य पर्यटक देख्न पाइन्छ । आन्तरिक पनि त्यति आउँदैनन् ।” काठमाडौँका ठूला घरको झल्को दिने ठूलो टावर, अपार्टमेन्ट जस्ता ठूला भवन, विद्यालय, बास्केटबल कोर्ट बनिसकेका छन् । अलि पर जङ्गल, हेरिरहुँ जस्ता दृश्य छन् । पारिपट्टिको वनलाई कुहिरोले ढाकेर हरियो वनमाथि सेतो घुम्टो ओढाए जस्तै साँच्चै मनमोहक दृश्य हेर्न पाइन्छ । गाईले ढुङ्गालाई दूध दिन थालेपछि पुजिन थालेको जिरेश्वरी महादेव मन्दिर, अग्लो ढुङ्गा, ढुङ्गाको गुफाभित्र त्रिशूलैत्रिशूलले भरिएका मठमन्दिर । मन्दिरबाट देखिने माथिबाट बगिरहेको झरना र तल बगिरहेको निश्चल खोलाले मनै आनन्द बनाउने थुप्रै दृश्य यहाँ छन् । गुफामा रहेको गाईका थुन जस्ता आकृतिबाट पहिला दूध आउँथ्यो भनिन्छ, अहिले पनि पानी चुहिरहन्छ । यहाँ जे माग्यो त्यो पूरा हुन्छ भन्ने विश्वास छ । यहाँ पर्यटक आकर्षण गर्न पहिलो पटक सगरमाथा चढ्न सफल आरोही स्वार्गीय तेञ्जिङ नोर्गे शेर्पा र स्वर्गीय सर एडमन्ड पर्सिभल हिलारी पार्क निर्माण गरिएको छ । उनीहरू सगरमाथा चढ्न जाँदा यहाँ विश्राम गर्न बसेका थिए । मनै लोभ्याउने दुई हजार ३८४ मिटर उचाइमा बुद्धपार्क निर्माण गरिएको छ । गौचरण बनेको एयरपोर्ट चौरको छेउबाटै खोला बगिरहन्छ । २०४० सालअघि विमानस्थल रहेको उक्त चौर गौचरणमा परिणत भएको पनि करिब चार दशक पुग्न लागिसकेको छ । धेरै प्रयास गर्दा पनि एयरपोर्ट सञ्चालनमा आउन सकेको छैन । एयरपोर्ट सञ्चालनमा आए जिरी पुरानै लयमा फर्किने अपेक्षा जिरीवासीले राखेका छन् ।
नवलपरासी, वैशाख ३ गते । पछिल्लो समयमा देवदह नगरपालिकाका युवा स्ट्रबेरी खेतीप्रति आकर्षित भएका छन् । नगरपालिकाको वडा नं. ३ सिसपुरमा दुई वर्षअघि देवदह ग्रिनएग्रो रिसर्च एन्ड रिसोर्स नामक कम्पनी खोलेर थालिएको स्ट्रबेरी खेतीले राम्रो आम्दानी दिन थालेको देखेपछि सामूहिक खेतीमा लागेका युवा उत्साहित भएका हुन् । कम्पनीका मुख्य लगानीकर्ता एवं संरक्षक हीरा केसीले नमुना खेतीका रूपमा गरिएको व्यावसायिक खेतीबाट राम्रो उत्पादन हुन थालेकाले आफूहरू निकै उत्साहित भएको बताउनुभयो । उहाँको फार्मबाट अमेरिकन प्रजातिको स्ट्रबेरीको उत्पादन भइरहेको छ । कम्पनीले दुई बिघा क्षेत्रफलमा पहिलो वर्ष १२ हजार बिरुवा लगाएर १५ हजार किलो स्ट्रबेरीको उत्पादन गरी बजार पठाइएको जनाएको छ । अहिले उहाँको कम्पनीले स्ट्रबेरीको बीउ उत्पादन गरेर अन्य युवा समूहलाई पनि यस्तो खेतीमा लाग्न सहयोग गर्न थालेको कम्पनीका सचिव राजेन्द्र न्यौपानेले बताउनुभयो । सुरुमा कम्पनीले अमेरिकाबाट नै बीउ ल्याएर परीक्षणका रूपमा खेती थालेको थियो । अमेरिकन प्रजातिको स्ट्रबेरी यो क्षेत्रको तापक्रम तथा वातावरणमा उपयुक्त साबित भएको कम्पनीका कृषिविज्ञ भोजराज भट्टले बताउनुभयो । उहाँको अनुसार अमेरिकन प्रजातिको यो स्ट्रबेरी मङ्सिरमा लगाएर चार महिनापछि लिन सकिन्छ । बजारमा स्ट्रबेरी प्रतिकिलो सात सयदेखि आठ सय रुपियाँमा बिक्री हुँदै आएको छ । यसका साथै कम्पनीले बालुवामा उत्पादन हुने गरेको खरबुजाको खेती पनि सामान्य माटोमा नै उत्पादन गर्न थालेको छ । यसले पनि राम्रो उत्पादन दिएको कम्पनीको दाबी छ । कम्पनीले आधुनिक प्रविधि प्रयोग गरी टमाटर, काँक्रा, गोभीलगायतका तरकारीको पनि व्यावसायिक खेती गर्दै आएको छ ।
चाँदनी हमालकुनै पनि मुलुक जिउँदो रहन छिमेकी मुलुक र मित्रराष्ट्रसँगको सम्बन्ध पनि जिउँदो राख्नुपर्छ । छिमेकी सम्बन्धलाई जिउँदो राख्ने एउटै माध्यम कूटनीतिक सम्बन्ध हो । नेपाल एकीकरणका पिता पृथ्वीनारायण शाहको एउटा उपदेश छ, “जाई कटक नगर्नु झिकी कटक गर्नु ।” अर्थात् आफँै जाइ नलाग्नु, जाइलाग्नेमाथि जाइलाग्न पछि नपर्नु । त्यो बेलामै नेपालले छिमेकी मित्र मुलुकप्रतिको समभावलाई महत्व दिइएको यही उपदेशले प्रष्ट पार्छ ।प्रा.डा. श्रीरामप्रसाद उपाध्याय न्यौपानेद्वारा लिखित ‘नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध’ पुस्तकले नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धको सार बताउँछ । यसमा नेपालको कूटनीतिक सम्बन्धको विगत र आगतसँग जोड्ने विविध आयाममध्येको एक अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा लेखकले खुट्याउने प्रयास गर्नुभएको छ । छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिताका बारेमा लेखकले उल्लेख गर्नुभएका कतिपय विषय आगामी दिनमा थप अध्ययन गर्न चाहने अध्येताका लागि समेत महìवपूर्ण सन्दर्भग्रन्थ बन्न सक्छ । विभिन्न सोह्र अध्यायमा विभक्त गरिएको पुस्तकको अन्तिम अध्याय नै सन्दर्भग्रन्थ रहेको छ । जसले नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा थप जानकारीका लागि ढोका खुला गरेको छ ।कूटनीतिको इतिहासको फेहरिस्त खोतल्दै कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध एकअर्काका पर्यायवाची हुन् भनेर लेखकले पहिलो अध्यायमै उद्घोष गर्नुभएको छ । जस अनुसार उहाँले यी दुई विषयवस्तुलाई जोडेर अन्य अध्यायमा थप चित्रण गर्नुभएको छ । कूटनीतिका आठ रूप प्यासिफिकेसन, गनबोट, आर्थिक, सार्वजनिक, जनता, मध्यस्थता, विद्युतीय र सम्मेलन कूटनीतिका बारेमा यही पुस्तकले भन्छ । अनौपचारिक कूटनीतिक यात्रा विश्वमा शताब्दीयौँदेखि चलिआएकै हो । तथापि औपचारिक अभिलेखका रूपमा पहिलो कूटनीतिक अभ्यासको विषयमा अझै पनि बहस छ । पुस्तकले भने चौथो शताब्दीमा मिश्रका सम्राट् रामेसस् द्वितीय र कनानको अमुरुबीचमा भएको पत्र आदानप्रदानलाई पहिलो औपचारिक कूटनीतिको अभिलेखका रूपमा प्रस्तुत गरेको छ । इतिहासका चाखलाग्दा मिश्र र हिट्टी साम्राज्यबीचको युद्ध र कूटनीतिक प्रयासपछिको शान्ति सम्झौताजस्ता विषयबोध पाठकलाई गराउँछ ।नेपालको अनौपचारिक कूटनीतिक सम्बन्धको विगत बताउने तथ्य चीनबाट मञ्जुश्रीको आगमन र द्वापरयुगमा श्रीकृष्ण भगवानको आगमनको चर्चा पुस्तकले गरेको छ । त्यसपछि चिनियाँ भिक्षुलगायतका विदेशी यात्रुको नेपाल यात्राको कालखण्डसँगै नेपालका लिच्छवि, मल्ल र शाहकालीन समयसँगै आधुनिक कूटनीतिक सम्बन्धको तुना पुस्तकले जोड्न खोजेको पाइन्छ । शाहकालीन कूटनीतिमा नेपाल–ब्रिटिस युद्ध तथा त्यसपछिका सम्बन्धका पाटाहरूलाई लेखकले दोस्रो अध्यायमा समेट्नुभएको छ । नेपाल एकीकरणका पिता पृथ्वीनारायण शाहले तिब्बतसँगको व्यापार कायम राख्न गरेका पहल र अन्य शाहवंशीय राजाले त्यस्ता विदेशसम्बन्धलाई कोसेलीपातले सँगालेको स्मरण रोचक छन् । यस अन्तर्गत नेपालको राजवंशीय इतिहास झल्काउने केही कथाहरूले पुस्तक कतै कतै इतिहासतिर बरालिएको हो कि भन्ने भान पनि पार्छ तर बीचबीचमा अङ्ग्रेजसँगको सम्बन्धका विषयले त्यसलाई सन्तुलनमा राख्न कोसिस गरेको छ । नेपालको अङ्ग्रेजसँग भएको युद्धका क्षतिको विवरण, नेपालले युद्धका क्रममा प्रयोग गरिएका जनावर र हतियार, तत्कालीन सेनापतिको व्यक्तिगत विवरणको उल्लेखले पाठकलाई तान्छ । राणाकालीन कालखण्डको आन्तरिक किचलो र अन्तर्राष्ट्रिय सम्बन्धको आधुनिकीकरणलाई पुस्तकले पर्गेल्न खोजेको छ । भारतीय भूमिमा तत्कालीन समयमा जारी ब्रिटिससँगको युद्ध र नेपालले त्यहाँका राजा रजौटालाई गरेको सहयोगसँगै तत्कालीन श्री ३ महाराज जङ्गबहादुर राणाको बेलायत यात्राबाट सुधारिएको सम्बन्धको यात्राले नेपालको कूटनीतिक सम्बन्धको काँचुली फेरेको दर्शाउँछ । दोस्रो विश्वयुद्धमा गोर्खाली सेनाको बेलायती सेनामा भर्तीको विरोधाभास तथा बेलायतको नेपालप्रतिको नतमस्तक दृष्टिकोणको उदय त्यही समयमा भएको थियो । राणाकालमा नेपाल–बेलायत युद्धको अन्त्यसँगै नेपालले पहिलो कूटनीतिक सम्बन्ध बेलायतसँगै गाँस्यो । त्यसपछि अमेरिका, भारत, फ्रान्स, चीनसँग दौत्य सम्बन्ध गाँस्दै औपचारिक रूपमा विदेशी दूतको नियुक्ति र कार्यभार दिन थालिएको जानकारी पुस्तकले दिन्छ । यसरी इतिहास खोतल्दै जाँदा नेपालको विविधताका बारेमा पनि पुस्तकले बोल्छ । अध्याय चारदेखि विभिन्न मुलुकसँगको सम्बन्धका विषयमा जानकारीमूलक विषय उल्लेख छन् । नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्ध त्यसपछि नेपाल–बेलायत सम्बन्ध, नेपाल–अमेरिका सम्बन्ध, नेपाल–जर्मन सम्बन्ध, नेपाल–फ्रान्स सम्बन्ध, नेपाल–रुस सम्बन्ध र नेपालको अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सम्बन्धको व्याख्या र विश्लेषण पुस्तकमा सटीक रूपमा गरिएका छन् । यी अध्यायहरूमा आपसी सम्बन्धका विभिन्न आयामको विश्लेषणका साथै ती देशसँग भएको आर्थिक तथा विकास साझेदारी एवम् उच्चस्तरीय भ्रमण आदानप्रदानका तथ्यतथ्याङ्कको मौलिक ज्ञान पुस्तकले बाँड्छ । निकटतम छिमेकी भारतबाट भएका धार्मिक भ्रमणहरू र सांस्कृतिक सामाजिक समानताका विषय पुस्तकका महत्वपूर्ण पाटो लाग्छन् । छिमेकी मुलुकसँग विभिन्न कालखण्डमा भएका केही सन्धि सम्झौताका बारेमा जानकारीमूलक सामग्रीको अभिलेखले पुस्तकको मान बढाउँछ ।अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सम्बन्धतर्फ संयुक्त राष्ट्रसङ्घमा नेपालको प्रवेशदेखि सार्कको उदय र शिखर सम्मेलन, असंलग्न राष्ट्रका सम्मेलन, बिमस्टेक तथा अन्य अन्तर्राष्ट्रिय सम्मेलन र समुदायसँग नेपालको साझेदारी विस्तारलाई सङ्क्षेपमा प्रस्तुत गरिएको छ । कुन देशबाट कस्ता साझेदारी हुन्छन् र भए भन्ने जानकारी आम नागरिकका लागि पनि पठनीय विषय हुन् । आफ्नो देशका नेतृत्वले कति ऋण वा अनुदान लिइरहेका छन् र यसले देशको भविष्य कतातिर लैजान्छ भन्ने मूल्याङ्कन गर्न ती तथ्यले सघाउँछन् । समग्रमा पुस्तक पठनीय छ । कतैकतै लेखक कूटनीतिभन्दा बढी इतिहासमैत्री भएको छनक दिन्छ । कतिपय गहन विषयको जानकारीमात्र काफी हुन्न त्यसमाथि भएका टिप्पणी र विरोधाभासका विषय पनि नेपालको कूटनीतिक क्षेत्रको महत्वपूर्ण अभिलेख हुनसक्ने सवालमा लेखकले ध्यान दिन सक्नुभएको छैन । तथापि पुस्तक ज्ञानवद्र्धक खुराकका रूपमा छ ।
डा. बीपी बडालसन् १९६८ मा नोबेल पुरस्कार विजेता प्रसिद्ध जापानी साहित्यकार यासुनारी कावावाताले देशको सुन्दरताको सम्बन्धमा, ‘स्नो कन्ट्री– हिमदेश’ उपन्यास लेखेका थिए । यस कृति अनुसार देश सुन्दर हुनका लागि तीनवटा तत्त्व अनिवार्य छन् । पहिलो हो– देशको प्रकृति, दोस्रो हो– संस्कृति र तेस्रो हो– परिवेश । यसका साथै शान्ति, आत्मीयता, सौहार्दता, प्रेम, करुणा, र मुदिता देशका सुन्दरताका सूचकहरू हुन् । देश सुन्दर बनाउन, मन सुन्दर हुनुपर्दछ । कोरोना जस्तो खतरनाक महामारी कम भएको छ । देशमा पर्यटनको गतिविधि वृद्धि हुन थालेका छन् । हामीले विश्वबाट धेरैभन्दा धेरै पर्यटक स्वागत गर्ने समय आएको छ । ‘अतिथिदेवो भव’ हाम्रो संस्कृति हो । पाहुनालाई देवता मानेर सेवा गर्नु हाम्रो संस्कार हो । देवता अर्थात् पाहुनालाई खुशी राख्न घर, आँगन, चोक, आदि सफा हुनुपर्दछ । खानेकुरा पूर्ण स्वस्थ र सफा हुनुपर्दछ । व्यवहार राम्रो, बोलीचाली मिठो हुनुपर्दछ । मन उज्यालो हुनुपर्दछ । यसैमा निखार ल्याउनु नै सुन्दरता हो । पर्यटनको विकास गर्नु नै देशको सुन्दरताको विकास गर्नु हो । यद्यपि सुन्दरताको बयान गर्न सजिलो छैन । सुन्दरता कुरूपताको सापेक्षता हो । कुरूपता नभए सुन्दरताको अर्थ हुँदैन । रात नभए दिनको अर्थ हुँदैन । दुःख नभई सुख हुँदैन । कुनै पनि वस्तु सुन्दर र असुन्दर हुनुको पछाडि यसको महìवपूर्ण कारण हुन्छ । एउटै बस्तु, एउटै व्यक्ति, एउटै परिबेशमा एकजनालाई सुन्दर लाग्छ भने अर्कोलाई असुन्दर लाग्न सक्छ । राम्रो र नराम्रो त आँखाको दृष्टिकोण मात्र हो । प्रकृतिको सृष्टि सबै राम्रो हुन्छ । सबै सुन्दर हुन्छन् तर त्यो सुन्दरताको दृष्टिगोचर हुनु जरुरी छ । त्यसका लागि नेपालको सुन्दरताको बारेमा विश्वस्तरका लेखरचना लेखिनैपर्दछ । कला, संस्कृति र पहिचान झल्काउने सामग्री हुनैपर्दछ । सुन्दरताको बयान गर्दा नेपालको प्रकृतिको बयान गरिएन भने पूर्ण हुँदैन । विश्वका उच्च हिमशृङ्खलामध्ये आठवटा नेपालमै छन् । ती हुन्– सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धवलागिरि, मनास्लु, अन्नपूर्ण । त्यसैले नेपाल हिमालयको स्वर्ग हो । सगरमाथा नजिक सोलुखुम्बुतिरका सुन्दर उच्च हिमचुचुरा, बादलको घुम्टो र सूर्यको मधुरो प्रकाश हेर्दै, आत्मीय मित्रसँग गफिँंदै गुल्मीमा उत्पादित कफी पिउँदाको स्वर्गीय आनन्द वास्तवमै अद्भुत हुन्छ । यस्तै नेपालमा ३३ प्रकारका गुराँस पाइन्छन् । गुराँस एक हजार २०० देखि पाँच हजार ५०० मिटर उचाइसम्म पाइन्छ । नेपालको सम्पूर्ण पहाडी क्षेत्र लालीगुराँसको बगैँचा हो । नेपालको पहाडी क्षेत्रलाई ‘रोड़ोडेनड्रोन पार्क’ भनिन्छ । तीनजुरे–मिल्के–जलजले क्षेत्र गुराँसका लागि चर्चित छ । यो क्षेत्र ‘गुराँसको राजधानी’ नामले प्रख्यात छ । यो सुन्दरता गर्वका साथ विश्वलाई पस्किनु छ । तराई त नेपालको अन्नभण्डार नै हो । यहाँका खेत–खलियानका धान, उखु, गहुँ, र तोरीबारीले सधैँ मन प्रफुल्ल पारिरहेको हुन्छन् । शुक्लाफाँट, बाँके, बर्दिया, चितवन, पर्सा, कोशीटप्पु आदि राष्ट्रिय निकुञ्जले तराईको सुन्दरतालाई अझै सुनमा सुगन्ध थपिदिएको छ । यो सुन्दरताको आधार नै हिमाल हो । निरन्तर बग्ने मेची, कोशी, गण्डकी, कर्णाली र महाकालीको आधार हिमाल नै हो । विश्वप्रसिद्ध साहित्यकार रवीन्द्रनाथ ठाकुर हिमालयदेखि निकै प्रभावित थिए । उनले लेखेको एउटा कविता ‘ह्वेर माइन्ड इज विदआउट फिएर’ ले हिमालयको बास्तविकता र सृजनात्मकतालाई उजागर गरेको छ । वास्तवमा नेपाल हिमालयको स्वर्ग हो जहाँ मन मुग्ध हुन्छ । यसैगरी नेपालका हरेक ठाउँमा मन्दिर या चैत्य छन् । सबै नेपाली ज्ञान र विज्ञानमा विश्वास गर्दछन् । अतिथिलाई देवता मान्दछन् । ‘आफ्नो ज्योति आफैं बन’ भन्ने बुद्ध वचनलाई सधैँ आत्मसात् गर्दछन् । भगवद्गीता अनुरूप निष्काम कर्मयोग गर्दछन् । मनलाई सुन्दर, स्वच्छ, सफा राख्दछन् । भगवान बुद्धका अनुसार संसारमा चार आर्य सत्य छन्– यो धर्तीमा दुःख छ, दुःखको कारण छ, दुःख निवारण गर्न सकिन्छ र दुःख निवारण गर्ने मार्ग छ । यो मार्गलाई शील, समाधि र प्रज्ञा भनिन्छ । त्यसैले नेपाली समाज प्रेम, करुणा र शान्तिको प्रतीक हो । सुन्दरताको सीमा हुँदैन । सुन्दरताको परिभाषा पनि व्यक्तिगत हुन्छ । प्रकृति र सरलता नै सुन्दर हुन्छ । जर्मन दार्शनिक इम्यानुएल् कान्टले भनेका छन्– बिना उद्देश्यको वस्तुमा उद्देश्य भर्नु नै सुन्दरता हो । साधारणतया साना अनि सरल वस्तुहरू सुन्दर मानिन्छन् । अर्का बौद्ध दार्शनिक सुमाकर भन्छन्, ‘स्मल इज बिउटिफुल’ । आफूले व्यवस्थित गर्न सक्ने, स्याहारसुसार गर्न सक्ने, आफूले चाहेजस्तो बनाउन सक्ने सरल सानो वस्तु नै सुन्दर हो । ठूलो भव्य पनि सुन्दर हो । अग्लो सगरमाथा राम्रो हो । होचो केचनाकलन पनि राम्रो हो । त्यसैले नेपाल राम्रो देश हो । कावावाताले जापानी परिभाषा यसरी दिएका छन् सुन्दरता ‘वावी–सावी’ हुन्छ । सरलतामा जटिलता र जटिलतामा सरलता नै सुन्दरता हो– यसैलाई जापानमा ‘वावी–सावी’ भनिन्छ । पहाड चढ्नु दुःख हो, पहाडको शिरमा पुगेर आनन्द महसुस गर्नु सुख हो । त्यसैले सुन्दरता सुख अनि दुःखको सम्मिश्रण हो । सुन्दरता अनुभव हो, शिक्षा हो । वसन्त ऋतु छ, जताततै लालीगुराँस फुलेका छन् । जीवन एउटा यात्रा न हो । आउनुस् एउटा यात्रा सँगै गरौँ । साँचै सुन्दर नेपाललाई सुन्दर भावनाले भ्रमण गरौँ । देशको अनुभूत गरौँ अनि जाउँला नि विदेश !
चौरजहारीबाट किनमेल गरेर घर फर्कने क्रममा जिर्ण अवस्थामा रहेको पुलबाट खसेर घाइते भएको उहाँका छोरा प्रेमबहादुर पुनले जानकारी दिनुभयो । उहाँको ढाडको करङ र दुबै खुट्टा भाचिएको बताईएको उहाँले बताउनुभयो ।
काठमाडौँ, वैशाख ३ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि ‘बी’ र ‘सी’ डिभिजनबाट प्रतिनिधि छनोट भएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार अबेर सम्पन्न निर्वाचनमार्फत ‘बी’ डिभिजनबाट ११ र ‘सी’डिभिजनबाट ९ क्लबले निर्वाचनका लागि मताधिकार प्राप्त गरेका हुन् । प्रतिनिधि छनोटको निर्वाचनमा ‘बी’ डिभिजनका १४ क्लब सहभागी थिए । जसमा चर्च ब्वाइज युनाइटेड, खुमलटार युथ क्लब, रानी पोखरी कर्नर टिम (आरसिटी), सरस्वती युथ क्लब, श्री भगवती, मध्यपुर युथ क्लब, टुसाल युथ, नयाँबस्ती, बाँसबारी, श्री कुमारी र ब्वाईज युनियनले मताधिकार पाए । सामाजिक युथ, झम्सिखेल र वीरगञ्ज युनाइटेडले मताधिकार प्राप्त गर्न सकेनन् ।यसैगरी ‘सी’ डिभिजनबाट मनोहरा एकिकृत युवा क्लब, पुल्चोक स्पोर्ट्स, समाज कल्याण, खालीबारी युथ, प्लानिङ ब्वाइज युनाइटेड, स्वयम्भु, आरसी ३२ फुटबल एकेडेमी, महावीर स्टडिज एन्ड एसोसिएसन र वीरगंज युथ एकेडेमीले मताधिकार पाएका छन् । ‘सी’ का १४ क्लबमध्ये झापा फुटबल क्लब, ओसिस क्लब, सानेपा फुटबल क्लब, रानीबन र साँगा फुटबल क्लबले मताधिकार पाएनन् । एन्फाको चुनाव आगामी असार ६ गतेका लागि तय भएको छ ।
गोकुलप्रसाद शर्मादिनपछि साता, सातापछि महिना, अनि महिनापछि वर्ष व्यतित हुन्छन् । कामदारलाई सधैँ समयको अभाव खट्कन्छ । अर्कोतिर भने, काम नभएका र काम हुँदाहुँदै पनि जाँगर नचलाउने मानिसहरूका लागि दिन व्यतीत गर्न गाह्रो हुन्छ । दिन छिटो जाओस् भनेर उसले जपना गर्दछ । मानिस कर्मयोगी प्राणी हो । समयको सदुपयोग गर्दै सदा असल काम गर्ने मानिस नै महान र सफल भएको छ । महानता दामले किनिने वस्तु होइन । महान विचार भएको मानिसले असल र उपयोगी काम गरेर अरूका लागि बाटो देखाइदिन्छन् । सदा सत्मार्गमा लाग्नु मानिसको कर्तव्य हो । हाम्रो पुर्खाले देखाइदिएको बाटो सबैका लागि कल्याणकारी हुन्छ भन्ने बुझ्नु हाम्रो कर्तव्य हो ।व्यतीत भएको २०७८ सालमा हाम्रो मुलुकमा के–के राम्रा र नराम्रा काम भए, तिनको लेखाजोखा यहाँ गरिन्न । वर्तमान २०७९ सालमा विगतमा भएका भूल, त्रुटि र कमजोरीलाई नदोहो¥याई वर्षैभरि असल र उपयोगी काममा मात्र देशवासीहरू संलग्न होउन् भन्ने आकाङ्क्षा गरिन्छ । कदाचित कतै कुनै त्रुटि फेला प¥यो वा त्यसो हुने सम्भावना छ भने, बेलैमा रचनात्मक सुझाउद्वारा त्रुटिहरूको परिमार्जन गरिहाल्नु बुद्धिमानी ठहर्छ । त्यसो नगरी, अर्थात् आफ्नो दोष ढाकछोप गरी, अनाहकमा निर्दोषमाथि हिलो छ्याप्न हुँदैन । नयाँ वर्षको पहिलो दिन सबै ठाउँमा बिदा दिइन्छ । बिदा आराम गर्ने अवसर हो । थाकेको शरीर, मन र मस्तिष्कलाई केही घण्टा आराम दिनु बिदाको मुख्य प्रयोजन हो । कतैकतै भने काम हुन्छ भद्रगोल । मनोरञ्जनको नाउँमा रुपियाँ पैसाको बाजी थापेर तास, कौडा, पासा, लङ्गुरबुर्जा वा अन्य प्रकारको खेलमा सम्मिलित हुनु राम्रो काम होइन । आदिकालदेखि नै नयाँ वर्षको शुभारम्भ र अन्य विभिन्न महत्वपूर्ण अवसरमा आफन्तहरूका बिच शुभकामना आदानप्रदान गर्ने परम्परा चलिआएको छ । विश्वका विभिन्न मुलुकहरूमा शुभकामना व्यक्त गर्ने आ–आफ्नै चलन र रीति छ । त्यस्तो अवसरमा हाम्रो मुलुकमा पनि विभिन्न विधि अपनाइन्छ । स्मृतिस्वरूप फूल, फलफूल, विभिन्न थरीका खाद्यपदार्थ रहेका बट्टा वा अन्य थोक उपहारस्वरूप प्रदान गरिन्छ । कसलाई कुन वस्तु दिन उपयुक्त हुन्छ, सो बुझी तदनुसार वस्तुको छनोट गरिन्छ । कुनै वस्तु समवयस्क व्यक्तिलाई समर्पित गर्दा क्षणभरका लागि उसलाई प्रगाढ आलिङ्गनमा आवद्ध गरिन्छ । यसबाट दुइटै पक्षलाई सुखद् अनुभूति प्राप्त हुन्छ । निःस्वार्थता र पारस्परिकताको विशुद्ध भावनामा लोटपोट हुँदा प्राप्त हुने आत्मीयता अलौकिक आनन्दको प्रतीक हो । समर्पित गरिने वस्तुको छनोटमा विशेष ध्यान दिइन्छ । त्यस्तो सुखद अवसरमा प्रेमोपहार दिने वस्तु पसलमा यसरी सजाएर राखिन्छ कि कुनै वस्तु ग्राहकको रुचि अन्तर्गत अवश्य पर्न आवस् । कसैलाई कुनै किसिमको असन्तुष्टि नहुने गरी यस्तो उल्लासमय अवसरमा शिष्टतापूर्वक वस्तु दिनु बेसै हो । यसको विपरीत खडा भएर उच्छृङ्खलताको प्रदर्शन गर्नु चाहिँ अपराध ठहरिन्छ । आत्मीयता र उदारता झल्कने गरी गरिएको कामको परिणाम सुखद हुन्छ । नयाँ वर्षको शुभारम्भमा केही मुलुकहरूमा गरिने हर्षोल्लास यसप्रकारका छन्– भारतका विभिन्न सहरमा गणेश र लक्ष्मीको पूजा गरी सामूहिक रूपमा नाचगान गरिन्छ । पञ्जाबमा झाँगड नृत्य गरिन्छ । बंगालमा देवीदेवताहरूको पूजा र आराधना गरिन्छ । भजनकीर्तन गरिन्छ । कुमाऊगढवालमा पहेँलो वस्त्र पहिरी बन्धुवर्गलाई कोसेली दिइन्छ ।चीनमा नयाँ वर्षको एक साताअघि नै आतसबाजी गरिन्छ । नयाँ वर्षमा प्रेतात्मा आउने सम्भावना बुझी त्यसलाई धपाउन आगो बालिन्छ । रातभरि जाग्राम बसेर गुरु र आमाको सम्मान गर्दै उहाँहरूलाई मिठामिठा परिकार खुवाइन्छ । जापानमा घर वरपर हरिया बोट सजाइन्छ । प्रेतात्मालाई धपाउन घर अगाडि डोरी झुन्ड्यान्छ । गौतमबुद्धको पूजा गरिन्छ । जर्मनीमा मानिसहरूले पानी हालेको भाँडोमा सिक्का खसाल्छन् । सिक्काको आकृति नियालेर भविष्यवाणी गरिन्छ । बेलायतमा डिसेम्बर ३१ तारिखको राति ठिक १२ बजे रङ्गीचङ्गी पहिरनमा नाचगान गर्दै धुमधामका साथ नयाँ वर्ष मनाइन्छ । आदिवासीहरू भेला भएर इष्टदेव र सूर्यको पूजाआराधना गरिन्छ । इन्डोनेसियामा नयाँ वर्षलाई ‘गोलुगान’ भनिन्छ । मानिसहरू नयाँ पहिरनमा सजिएर नाचगान गरी मिठामिठा परिकारहरू खाँदै आपसमा शुभकामना बाँड्छन् । स्कटल्यान्डमा रातो पहिरनमा पुरुष वा महिला आएमा अशुभ मानिन्छ । कपाल कालो र कद अग्लो भएका पुरुष वा महिला आएमा शुभ मानिन्छ । यो बला आपसमा सुख र समृद्धिको कामना गर्दै हर्षोल्लासका साथ नाचगान गरिन्छ । रोममा पहिलो पहिले अक्टोबरको अन्त्यमा नयाँ वर्ष मनाइन्थ्यो । अब जनवरी १ तारिखमै नयाँ वर्ष मनाइन्छ । भूत धपाउँदै हर्षोल्लासपूर्वक नयाँ वर्ष मनाइन्छ ।
भाग्यशाली अधिकारीपारि पाखा वन बुटा कुहु कोइली त्यो करायो उफ्य्रो बक्र्यो पतकर छरी माथि कुँद्छन् खरायो ।चौतारीको बसी शीतलमा युवती गीत गाएकुर्ले कुर् कुर् ढुकुर वनमा आए वैशाख लाए ।भन्ज्याङ थुम्का चहुर हरियो पालुवा क्या झुलेकोबारी कान्ला पहेँलपुर भै प्याउली छन् फुलेको ।धर्ती फोरी नव नव मुना आए टुसा एलाएगाउँ बेँसी वन छ हरियो हेर वैशाख लाए ।लेकै फुल्छन् ढकमक गुराँस राता पहेँलारातै छ खोल्सा ऐँसेलु काफल गुँएला ।आयो रन्को मुरली धुनको कोहो कहाँ बसेरबजाएको कल्ले छ यसरी रुन्छ छाती पसेर ।पिठ्यूँ छ डोको युवती झरे गुन्गुनाइ ओरालीझर्छन् बँेसी हली हलो लिँदै गोरु भाग्छन् बराली ।पारि डाँडा फिरिरी उता पात कल्ले बजायो चौतारीमा सिरिसिरी आहा हावा बास्ना चलायो । मेरै पाखा छ सुन्दर अरू कहाँ पाउँछौ त्यो अपारहीरा मोती छ हाम्रै कति कति यहीँ खुल्दा ढोका भँडार ।
बीउ छरेपछि उमार्न कर लाग्छ धरतीलाई । फरक अनुभूतिको बीजारोपण तिमीले गराएका थियौ । ठान्थेँ, तिमी त्यही प्यारो गाउँको असल पुरुष ! जीवनको उत्तराद्र्धमा एक हातले लौरो टेक्तै अर्को हातमा कोइरालाको अचार लिएर चौतारीमा पर्खिरहनेछौ ।
प्रमोद स्नेही रेशमी बतासले झारेकोवसन्ती फूलहरूको परागटिपेरप्रेमको एक अँजुली रङहरूलेसमयको सुन्दर तस्बिर कोर्नअभ्यस्त छु ।सेतो सात घोडाहरूले उछिनेरदुःखको मैदानहरूमालालीगुराँसको पत्रपत्रबाट उदाएको सूर्यका उज्याला किरणहरूलेनवीन उत्साहको लोकगीत गाइरहेछन् अनवरतबालेर दियो मझेरीमा नयाँ वर्षको उत्सव मनाइरहेकामेरो जीवनको अप्राप्य आशाहरूकोसुखद पदचापका डोबहरूमेरो छातीको भूगोलमा दूबो झैँ माया फैलिरहेछ ।जुनको उज्यालो टलकमा देखिएकोसमयको रङ्गीन तस्बिर हेरेरम हरेक सखारै बिहानीमा सूर्य जस्तो बेसार घडामा भरेरसँघार पोतिरहेछु र यो नयाँ वर्षमासुनाखरी झैँ फुलेका सपनाहरूलाई स्वागत गर्न पर्खिरहेको छु यो वसन्तको आगमनसँगै !