• १३ साउन २०८१, आइतबार

चरिकोटको वैतेश्वरमा काँग्रेसका लामा र उप्रेती विजयी

blog

तस्विर : विजयी वैतेश्वरका छवि लामा र कल्पना उप्रेती

बाबुराम शर्मा
चरिकोट, जेठ ४ गते ।
पछिल्लो मत परिणाम अनुसार दोलखाको वैतेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका छवि लामा र कल्पना उप्रेती विजयी हुनुभएको छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी एमाले र नेकपा (माओवादी केन्द्र)लाई समेत पछि पार्दै विजयी हुनुभएको हो ।

अध्यक्षमा विजयी लामाले पाँच हजार २९९ मत पाउनु भएको छ भने प्रत्यासी नेकपा (एमाले) का उम्मेदवार माधवप्रसाद घिमिरेले तीन हजार १७२ मत पाउनुभएको छ ।

त्यसैगरी, उपाध्यक्षमा विजयी उप्रेतीले पाँच हजार २७३ मत पाउनुभयो भने माओवादी केन्द्रको गठबन्धनमा रहेका कल्याण दाहालले दुई हजार ७१८ मत पाउनुभयो ।

त्यस्तै, गठबन्धन नेकपा एकीकृत समाजवादीबाट तामाकोसी गाउँपालिकाको अध्यक्षमा प्रोणप्रताप केसी र नेपाली काँग्रेसबाट उपाध्यक्षमा सिर्जना सुवेदी विजयी हुनुभएको छ । केसीले पाँच हजार ४९० मत ल्याउनु भयो भने उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका अभिषेक सुवेदीले तीन हजार ४६६ पाउनुभएको छ ।

उपाध्यक्षमा विजयी सुवदीले पाँच हजार ४४१ मत पाउनुभयो भने उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका अम्बिका पोखरेलले तीन हजार ३५१ मत पाउनुभएको छ ।

बाँकी रहेका भीमेश्वर नगरपालिका, शैलुङ गाउँपालिका,कालिञ्चोक गाउँपालिका, बिगु गाउँपालिका र गौरीशङकर गाउँपालिकामा मत गणना जारी रहेको छ । दुई नगरपालिका र सात गाउँपालिकामा रहेका ७४ वडामा स्वतन्त्र दुई, नेकपा एकीकृत समाजवादी दुई, नेपाली काँग्रेस २०, नेकपा माओवादी केन्द १७ र नेकपा एमाले १८ वडामा वडा अध्यक्ष विजयी भइसकेका छन् । बाँकी १५ वडाको पनि मत गणना जारी रहेको छ ।