• १३ साउन २०८१, आइतबार

गोरखापत्रसँग साझेदारी गर्न तयार छौं : मुख्यमन्त्री भट्ट

blog

मुख्यमन्त्री त्रिलोचन भट्टसँग छलफल गर्नुहुँदै गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, जेठ ४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार गोरखापत्र संस्थानसँग साझेदारी गर्न तयार रहेको बताउनु भएको छ । बुधबार गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गर्नु भएको भेटको क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकार गोरखापत्र संस्थानसँग साझेदारी गरेर अगाडि बढ्न तयार रहेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘‘हाम्रा समाचार सम्प्रेषण गर्ने र प्रदेशका समाचारहरु बाहिर ल्याउने गरी साझेदारी गरेर अगाडि बढ्न हामी सकारात्मक छौं, यसले हामीले गरेका कामको जानकारी जनतालाई होस् र जनताको कुरा हामीसम्म पुगोस् ।’’ आफ्नो सञ्चार माध्यम नहुँदा प्रदेश सरकारले समस्या भोगिरहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्रीले गोरखापत्रसँग अनुुदान वा साझेदारी सम्झौतामा अगाडि बढ्न सकिने बताउनुभयो ।

मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘‘कतिसम्म सहयोग गर्न सक्छौं, त्यो बजेटको अवस्था हेरेर गर्न सकिन्छ, अनुदान वा साझेदारी जुन सजिलो हुन्छ, त्यहि अनुसार अगाडि बढौं, यसमा फेरि पनि थप छलफल गर्दै गरौंला, हामी सकारात्मक छौं ।’

भेटको क्रममा संस्थानका महाप्रबन्धक ऐरीले गोरखापत्र संस्थानका प्रकाशनमा प्रदेश सरकारको अपनत्व खोजिरहेको बताउनुभयो । सङ्घीयताको मर्मलाई कदर हुने गरी अहिले गोरखापत्र संस्थानका प्रकाशन गोरखापत्र दैनिक र अनलाइनमा प्रदेशको व्यवस्था गरिए पनि त्यो एकोहोरो मात्रै भएको उहाँको भनाइ छ । महाप्रबन्धक ऐरीले भन्नुभयो, ‘‘प्रदेश सरकारहरुलाई सहयोग पुग्ने गरी गोरखापत्र दैनिकमा छुट्टै पृष्ठ भए पनि त्यो एकतर्फी मात्रै भएको छ, हामी त्यसमा प्रदेश सरकारको अपनत्व खोेजिरहेका छौं ।’’

महाप्रबन्धक ऐरीले अनलाइनको प्रदेश संस्करणलाई तत्कालै प्रदेश सरकारको बनाउन चाहेको बताउनुभयो । ‘प्रदेश सरकारबाटै जनशक्ति राखेर प्रदेश सरकारका हरेक समाचार सम्प्रेषण गर्ने गरी अनलाइनलाई तत्कालै यहिँबाट चलाउन सकिने व्यवस्था गर्न सकिन्छ ।’’ उहाँले भन्नुभयो ।

यसैगरी, महाप्रबन्धक ऐरीले गोरखापत्र दैनिकको प्रदेश संस्करणको सम्भाव्यता अध्ययनसमेत गर्न खोजिरहेको बताउनुभयो । उहाँले गोरखापत्रसँग अनुदान वा साझेदारीका रुपमा अगाडि बढ्नका लागि प्रदेश सरकारलाई नीति तथा कार्यक्रममा नै व्यवस्था गर्न आग्रह गर्नुभयो ।


सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलसँग कुराकानी गर्दै महाप्रबन्धक ऐरी ।

सञ्चारग्रामको व्यवस्था गर्न आग्रह

यसैगरी, महाप्रबन्धक ऐरीले सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलसँग समेत भेट गर्नुभएको छ । सो क्रममा उहाँले गोरखापत्र दैनिकलगायत सरकारी सञ्चार माध्यमहरु एकै थलोमा रहने गरी सञ्चारग्रामको व्यवस्था गर्न मन्त्रीलाई आग्रह गर्नुभयो ।

पछिल्लो समय हुलाकसँग सम्बन्धित सरकारी संरचना खासै प्रयोगमा नरहेका कारण त्यसलाई सञ्चारग्रामको रुपमा प्रयोग गर्न सकिने उहाँले सुझाव दिनुभयो । ‘त्यस्तो गरियो भने सरकारको स्रोत साधन पनि जोगिन्छ’, उहाँले भन्नुभयो ।

यसैगरी, पछिल्लो समय सञ्चारकर्मीको सङ्ख्या बढेको तर, सहि सूचना कहाँबाट पाउने भन्ने समस्या रहेको उल्लेख गर्नुहुँदै उहाँले प्रदेशका सञ्चारकर्मीका लागि तालिमको व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । महाप्रबन्धक ऐरीले भन्नुभयो, ‘‘अब खाँचो सङ्ख्याको होइन, सहि सूचना कहाँबाट पाउने त्यसको खाँचो हो ।’’

सो क्रममा मन्त्री रावलले सञ्चारग्रामको पहलका लागि आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले सरकारी सञ्चार माध्यम र प्रदेश सरकार साझेदारी, सहकार्य गरेर अगाडि बढ्नुपर्ने प्रस्ताव राम्रो रहेको उल्लेख गर्नुभयो । गोरखापत्रका महाप्रबन्धक ऐरीले धनगढीमा रहेको गोरखापत्रको सुदूरपश्चिम प्रदेश कार्यालयको अवलोकनसमेत गर्नुभएको छ । उहाँलाई गोरखापत्रका सुदूरपश्चिम प्रदेश संयोजक प्रकाशविक्रम शाह, समाचारदाताहरु अविनाश चौधरी, कृत विष्टले प्रदेश कार्यालयमा स्वागत गर्नुभएको थियो ।


महाप्रबन्धक ऐरी गोरखापत्र संस्थानको सुदूरपश्चिम प्रादेशिक कार्यालयमा ।