• १९ असार २०८१, बुधबार

मुलुकको व्यापार घाटा डरलाग्दो अवस्थामा छ : सांसद भट्टराई

blog

काठमाडौं, जेठ ४ गते । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले मुलुकको व्यापार घाटा डरलाग्दो अवस्थामा रहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९–८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गर्नुहुँदै सांसद भट्टराईले सो कुरा बताउनुभएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भइसक्नुभएका भट्टराईले अर्थतन्त्रको सबलीकरण, राष्ट्रिय पूँजीको निर्माण कसरी हुन्छ ? भनेर प्रश्न गर्नुभएको छ ।

‘‘मुलुकको व्यापार घाटा डरलाग्दो अवस्थामा छ । उद्योगधन्दा बन्दको अवस्थामा छन् । देशभित्र रोजगारीको अवसर कमजोर बन्दै गएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘कृषिलाई व्यवसायीकरण, औद्योगीकरण गर्ने र किसानहरुलाई उत्साहित गर्ने कुरामा सरकारले ध्यान दिन सकेको छैन । यस्तो अवस्थामा राष्ट्रिय पुँजी कसरी निर्माण हुन सक्छ ?’’

उहाँले पहिले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन राष्ट्रिय पुँजीको विकास गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने बाटोबाट राष्ट्रिय अर्थतन्त्र सर्वल हुनसक्छ र राष्ट्रिय पूँजीको विकास हुन सके मात्र मुलुक आत्मनिर्भर अर्थतन्त्रतिर जाने बताउनुभयो ।

त्यस्तै, उहाँले सरकारले दुई दिनको बिदा के का लागि ? दिनेभन्दै प्रश्न गर्नुभएको छ ।

‘‘पेट्रोलियम पदार्थको खपत घटाउन शीर्षकमा मात्रै हो भने त्यो प्रत्युत्पादक हुन्छ । हचुवाको भरमा त्यो कुरा ल्याइएको छ ।,’’ सांसद् भट्टराईले भन्नुभयो ।

उहाँले दुई दिनको बिदाले राष्ट्रिय उत्पादन शक्ति र राष्ट्रिय श्रम शक्ति बढाउन सक्छ ?, मुलुकको अर्थतन्त्रलाई कसरी टेवा दिन सक्छ ?, यसले देशको पर्यटन उद्योगलाई कसरी अगाडि लान सक्छ ? भनेर प्रश्न गर्नुभएको छ ।

उचित वैकल्पिक व्यवस्था नगरी दुई दिन बिदाको कुराले कुनै पनि प्रतिफल दिन नसक्ने उहाँको भनाइ छ ।