सुर्खेत समाचारदाता
सुर्खेत, मङ्सिर ६ गते । जेनजी समूहद्वारा गत भदौ २४ गते आगजनीमा क्षति भएको नापी कार्यालय सुर्खेतले दुई महिनापछि सेवा सुरु गरेको छ । मङ्सिर १ गतेदेखि अनलाइनमा भएका कित्ताको नक्सा प्रिन्ट गरी उपलब्ध गराउने (नेलिस प्रणाली) सेवा मात्र सुरु गरेको हो । अन्य सेवा सञ्चालन गर्न महिनौँ लाग्ने जनाइएको छ । आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको कार्यालयमा तत्काल वायरिङ र नेटवर्किङको काम सकिएपछि यो सेवा मात्र सञ्चालन गर्न सकिएको नापी कार्यालयका प्रमुख दिनेशकुमार भण्डारीले बताउनुभयो ।
अन्य सेवा सञ्चालन गर्न अझै केही समय लाग्ने उहाँले बताउनुभयो । बैङ्कबाट ऋण लिन आवश्यक पर्ने अनलाइनमा उपलब्ध कित्ताको नक्सा प्रिन्ट गरेर दिने सेवा अहिले सञ्चालन गरिएको उहाँले बताउनुभयो । यद्यपि सेवाग्राहीलाई आवश्यक पर्ने गाउँ ब्लक, फाइल नक्सा, भूमि आयोगबाट तयार भएको नक्सा र पुनः नापीबमोजिमको नक्सा तथा कित्ताकाट सेवा हाललाई सुचारु गर्न नसकिएको कार्यालयले जनाएको छ । पूर्ण रूपमा कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार अझै तयार नभएको हुँदा पूर्वाधार तयार भएलगत्तै सुचारु गरिने जानकारी नापी प्रमुख भण्डारीले दिनुभयो । पूर्वाधार तयार गर्न भने अझै समय लाग्ने देखिन्छ ।
कार्यालयमा अझै पनि स्क्यानर, प्रिन्टरको अभाव छ । क्षतिग्रस्त भएका संरचना विभिन्न निकायबाट माग गर्दै ल्याए पनि स्क्यानर र प्रिन्टरको अभाव भएको उहाँले बताउनुभयो । हार्डडिस्क रिकभर गर्ने काम पनि हुँदै छ । तर अहिलेसम्म पूरा भएको छैन । कार्यालयले पछि बचेका स्थानको हातले लेखेर प्लट रजिस्टरको पुनस्र्थापनाको काम गरेको थियो । आगजनीमा करिब चार सय प्लट रजिस्टर जलेका थिए । नयाँ रजिस्टर विभागबाट मगाएर हातले पुनस्र्थापना गर्ने काम कार्यालयले गरेको थियो । जलेका कागजात करिब पाँच प्रतिशत मात्रै काम लाग्ने खालका बचेको र अन्य सबै जलेर खरानी भएको नापी प्रमुख भण्डारीले बताउनुभयो ।