• २८ वैशाख २०८१, शुक्रबार

सबैभन्दा बढी काँग्रेस विजयी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ ४ गते स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै जाँदा नेपाली काँग्रेसका वडा सदस्यदेखि लिएर प्रमुखसम्म सबैभन्दा बढी उम्मेदवारले विजय हासिल गरेका छन् । यस परिणामसँगै दोस्रो पटकको स्थानीय तह चुनावमा काँग्रेस सबैभन्दा ठूलो दल बन्ने आधार बन्दै गएको छ । 

निर्वाचित वडा सदस्यदेखि प्रमुखसम्मको सङ्ख्या हेर्दा काँग्रेसका तीन हजार एक सय पुगेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले)का दुई हजार छ सय उम्मेदवार पुगेका छन् । त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का एक हजार पाँच सय प्रमुखदेखि वडा सदस्यसम्मका उम्मेदवारले विजय हासिल गरेका छन् ।

   

देशभरका कुल ७५३ स्थानमध्ये मङ्गबार राति अबेरसम्ममा ३५० स्थानभन्दा बढीको नतिजा सार्वजनिक भइसकेको छ । नतिजाअनुसार १६० स्थानमा नेपाली काँग्रेसका नगरप्रमुख तथा गाउँपालिका अध्यक्ष निर्वाचित भइसकेका छन् । सो पार्टीबाट उपप्रमुख तथा उपाध्यक्ष पदमा १५२ उम्मेदवारले जित हासिल गरेका छन् । नेपाली काँग्रेसपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले)का १०७  उम्मेदवारले प्रमुख र अध्यक्ष पदमा विजयी भएका छन् । एमालेका तर्फबाट उम्मेदवार भई निर्वाचित हुने उपप्रमुख र उपाध्यक्षको सङ्ख्या ९७ पुगेको छ । 

हालसम्मको मत परिणामअनुसार नेपाल कम्युनिस्ट पार्टी  (माओवादी केन्द्र)ले एमालेलाई पछ्याइरहेको छ । माओवादी केन्द्र तेस्रो ठूलो दलका रूपमा देखिएको छ । माओवादी केन्द्रले ७६ स्थानमा प्रमुख तथा अध्यक्ष र ८० स्थानमा उपप्रमुख तथा उपाध्यक्ष पदमा विजय हासिल गरेको छ । 

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) चौथो दलका रूपमा उदाए पनि सो पार्टीबाट विजय हासिल गर्ने उम्मेदवार भने निकै कम छन् । प्रमुख तीन दल र एकीकृत समाजवादीको जित्ने उम्मेदवारको सङ्ख्याबीच निकै फराकिलो दूरी रहेको छ । नेकपा (एकीकृत समाजवादी)बाट नगरप्रमुख र गाउँपालिका अध्यक्षमा पाँच जनाले विजय हासिल गरिसकेका छन् भने उपप्रमुख र उपाध्यक्षमा जित्नेको सङ्ख्या ११ पुगेको छ ।