प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा मोरङमा चार निकायका सात हजार सुरक्षाकर्मी परिचालन हुने भएको छ। निर्वाचन सुरक्षाअन्तर्गतको बन्दोबस्तीको काम मोरङमा अन्तिम चरणमा पुगेको हो। मोरङका ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानको टोली निर्वाचन लक्षित गरेर परिचालन गरिनेछ।
निधारमा त्रिपुण्डक टीका, गलामा गेरु रङको गलबन्दी । झट्ट हेर्दा कुनै हिन्दु पुजारीको झल्को दिने पहिरन तर उहाँ पुजारी नभई कास्की क्षेत्र नं. २ प्रदेश सभा (ख) का उम्मेदवार हुनुहुन्छ, अरुण गिरी । उहाँले यतिबेला यही हुलियामा आफ्ना निर्वाचन क्षेत्रअन्तर्गत विभिन्न वडामा पुगेर मत माग्नुभएको छ ।
बागलुङ जिल्लाको अर्गलका मगर समुदायले मनाउने भुस पोल्ने मेला यस वर्ष हर्षाेल्लासका साथ मनाइएको छ । भुस पोल्ने पर्वको नेतृत्व अर्गल संस्कृति संवद्र्धन समितिले गरेको हो । तारा खोला गाउँपालिका–२, अर्गलमा मनाइने उक्त पर्व अर्गली मगरको चर्चित पर्व हो । तारा खोला क्षेत्रको अमरभूमि, अर्गल, हिल र तारा क्षेत्रका मगर समुदायले हरेक वर्ष कात्तिक २४ गते भुस पोल्ने र शङ्खु बारी खन्ने, २५ गते पितृ कार्य र २६ गते छापो खन्ने वा अर्गासी खनेर मनाउने चलन छ । अर्गलका वडाध्यक्ष भद्रबहादुर घर्तीका अनुसार स्थानीय बूढापाकाले बारीमा जौ छरेपछि युवकयुवतीले बारी खन्ने गर्छन् । २४ गते अर्गलको शङ्खु बारीमा आगो बालेको धुवाँ देखेपछि तारा खोलामा भुस पोल्ने चलन छ । सो पर्वमा भुसका रूपमा बर्खेबाली मकै, कोदोको डाँठ पोल्ने गरिन्छ ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै गाउँबस्तीमा चुनावी सरगर्मी बढेको छ तर, तीनतिर बबई नदी र एकतर्फ भारतको सीमासँग जोडिएको महजिदिया गाउँलाई भने यसको रौनकले अझै छुन सकेको छैन। गुलरिया नगरपालिका–१० मा पर्ने महजिदिया गाउँका अधिकांश स्थानीयलाई निर्वाचनको मिति र उम्मेदवारको बारेमा न जानकारी छ, न कुनै चासो नै। न्यूनतम विकासका पूर्वाधारसमेत नपुगेको महजिदिया गाउँमा मल्लाह र हरिजन समुदायका ५० घर छन्।
बाँकेको नरैनापुर क्षेत्रमा गत तीन दशकभन्दा बढी समयदेखि हरेकजसो निर्वाचनमा उठाइँदै आएका चुनावी मुद्दाहरू यस पटक भने फेरिएका छन्। नरैनापुरवासीका घर–घरमा सडक र विद्युत् पु-याउने विषय हरेक निर्वाचनमा सबै राजनीतिक दलको मुख्य मुद्दा बन्ने गरेका थिए तर, पाँच वर्ष अवधिमा नरैनापुरको भारतीय सिमानासम्म नै कालोपत्रे सडक र विद्युत् पुगेपछि यस पटकको निर्वाचनमा उक्त मुद्दा उठाइएको छैन।
‘बसमा सरर लान्छु तिमीलाई घुमाउँदै धरान सहर’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायिका मेलिना राई र गायक सक्थिम योङ्याको युगल आवाजमा रहेको लोक जुहारी गीतको शब्द विष्णु खजुम र सङ्गीत गायक योङ्याको नै रहेको छ। सार्वजनिक गीतको ऐरेन्ज, मिक्सिङ र मास्टरिङ चण्दु गोर्खालीले गरेका हुन् भने ओलवाइड काठमाडौँ र हिमालय टोन हङकङमा रेकर्ड गरिएको हो। मोडल रेखा लिम्बूसँगै योमन सोदेम्बा लिम्बू ,बादल चेम्जोङ, सुमन खेवासँगै गरिमा डान्स सेन्टरका कलाकारको समेत अभिनय देख्न पाइने म्युजिक भिडियोको निर्देशन तथा छायाङ्कन देवजङ्ग थापाको रहेको छ।
भारतका सुप्रसिद्ध रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमीले नेपाली रङ्गकर्मी तथा कलाकारहरूलाई रङ्गमञ्चका बारेमा आफ्नो अनुभव ‘मास्टरक्लास’ साटासाट गर्नुहुने भएको छ। दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिका रूपमा सहभागी हुन उहाँ काठमाडौँ आउने हुनुभएको हो।
बिक्री गर्ने बेला सुन्तला कुहिएर बोटमै झर्न थालेपछि बागलुङका सुन्तला उत्पादक चिन्तित भएका छन् । बजार पठाउने बेला सुन्तलामा औँसा कीरा भेटिएको छ । सो कीराका कारण सुन्तलाका दाना कुहिएर बोटबाट झर्न थालेका छन् । जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले बताउनुभयो ।
मुलुकमा सञ्चालित निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको असोज महिनासम्म झन्डै ११ अर्ब रुपियाँ बीमा शुल्क आर्जन गरेका छन् । नियामक निकाय बीमा प्राधिकरणका अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीले छ लाख ८९ हजार ४६८ बीमालेख जारी गरेर १० अर्ब ८४ करोड २४ लाख ५२ हजार रुपियाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको असोज महिनामा मात्रै दुई लाख ४४ हजार ९७ बीमालेख जारी गर्दै दुई अर्ब ९६ करोड सात लाख ९४ हजार रुपियाँ बीमा शुल्क आर्जन गरेका छन् ।
आगामी मङ्सिर ४ गते सिङ्गो देश र प्रदेशको नीति, कार्यक्रम, कानुन बनाउने विधायिकी नेतृत्वका लागि हुने आमनिर्वाचनमा मत माग्न घरदैलो पुगेका उम्मेदवारसँग मतदाताले माग्छन्– रासायनिक मल, बीउ, पानी। रामेछाप समाचारदाता नवराज श्रेष्ठका अनुसार रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरस्थित डाँडाखर्क गाउँमा ५८ घर दलित समुदायको बसोबास छ। यहाँको दलित समुदायलाई अहिले सबैभन्दा ठूलो समस्या खानेपानीको छ। २०५९ सालमा एक गैरसरकारी संस्थाले निर्माण गरिदिएको खानेपानी आयोजना २०७२ सालको भूकम्प र बाढीपहिरोले क्षति भएपछि मर्मत हुन सकेको छैन।
नेपाली काँग्रेस इलामका पुराना नेता भूपेन्द्र कट्टेल यतिबेला झलनाथ खनाललाई भोट माग्दै हिँडिरहनुभएको छ । खनाल जताजता चुनावी सभामा पुग्नु हुन्छ कट्टेल पनि तीनै सभामा पुगेर झलनाथ खनाललाई नै किन भोट दिने भनेर मतदातालाई आश्वस्त पारिरहनु भएको हुन्छ ।
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ मा विगतमा एउटै पार्टीमा रहेर सहकार्य गरेका सहकर्मीबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिनिधि सभा सदस्यका लागि एक जना स्वतन्त्र र नौ जना दलका गरी १० जना उम्मेदवार रहेको सो क्षेत्रमा विगतमा नेकपा (एमाले)का नेता रहेका विरोध खतिवडालाई उतिखेर आफ्नै कार्यकर्ता रहेर सहयोग गरेका महेशकुमार बर्तौलाले कडा चुनौती दिनुहुँदै छ।
आगामी मङसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार मान्दा नेमकिपासँग अन्य दलको प्रतिस्पर्धा कमजोर हुने देखिएको छ। प्रतिस्पर्धी सबै दलले पाएको मत एकै ठाउँमा हाल्दा पनि नेमकिपाको मत धेरै हुने देखिन्छ। भक्तपुर निर्वाचन क्षेत्र नं. १ को भूगोल भक्तपुर नगरपालिका र चाँगुनारायण नगपालिकाको सबै भूभाग पर्छ।
बर्सेनि वृद्धि भइरहेको बेरुजु रकम सरकारी लेखा प्रणालीका निम्ति निकै चिन्ताको विषय बनिरहेको छ। यसबाट वित्तीय अनुशासनहीनता तथा दण्डहीनताको स्थितिसमेत सिर्जना भइरहेको छ। मुलुकको सरकारी लेखा प्रणालीलाई सही दिशामा निर्देशित गर्न बेरुजु विकृतिलाई नियन्त्रण गर्दै न्यूनीकरण गर्नु अति जरुरी पक्ष भइसकेको छ। बेरुजु भ्रष्टाचार नै त होइन तर सरकारी वित्तीय प्रणालीमा देखिएको विकृति हो र यसबाटै भ्रष्टाचारको मुख खुल्न सक्नेछ। नेपालका हरेकजसो सरकारी, अर्धसरकारी निकायका बेरुजु बर्सेनि घट्ने दिशामा छैनन्, क्रमशः बढ्दो क्रममा छन्। राज्यको आयस्रोत असाध्य सीमित हुँदै गइरहेको परिवेशमा वैदेशिक सहायताबाट सञ्चालित आयोजना बेरुजु विकृतिले दातृ निकायलाई निराश तुल्याउने खतरा बढेको छ।
नेपालको संविधान (२०७२) जारीपश्चात् पहिलो प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सकिएर दोस्रो कार्यकालका लागि आमनिर्वाचनको मिति नजिकिँदै गर्दा देशभर चुनावी सरगर्गी बढेको छ। संविधान जारीपश्चात् कार्यान्वयनमा लयबद्ध लोकतन्त्रसहितको सम्मुन्नत लोककल्याणकारी राज्य निर्माणको मार्गदर्शनमा अझै पनि विधिको शासनका विश्वस्त आधारहरू देखिँदैनन्। यो अवधिमा देशको सीमाभन्दा बाहिर बसेर सन्तुलित रूपमा बिना पूर्वाग्रह तथ्य र यथार्थलाई विश्लेषण गर्ने हो भने मुलुकले तय गरेको यात्रा औषत उपलब्धि र अधिक महìवकाङ्क्षामा अल्झिएको जस्ता देखिन्छन्। यस्तो सन्दर्भमा यसै चुनावबाट मुलुकको समुन्नति र सुशासनका आगामी एजेन्डाका लागि आमजनताले कस्ता सांसदको अपेक्षा गरेका छन् त यो नै अहिलेको मुख्य विषय हो।