• १२ असोज २०८१, शनिबार

अघिल्लो निर्वाचनका प्रतिस्पर्धीको भरमा झलनाथ खनाल

blog

एउटै मञ्चमा २०७४ का खनालका प्रतिस्पर्धी काँग्रेसका भूपेन्द्र कट्टेल अहिले भोट माग्दै । तस्विरः प्रेम अधिकारी

इलाम, कात्तिक २८ गते । नेपाली काँग्रेस इलामका पुराना नेता भूपेन्द्र कट्टेल यतिबेला झलनाथ खनाललाई भोट माग्दै हिँडिरहनुभएको छ । खनाल जताजता चुनावी सभामा पुग्नुहुन्छ कट्टेल पनि तिनै सभामा पुगेर झलनाथ खनाललाई नै किन भोट दिने भनेर मतदातालाई आश्वस्त पारिरहनुभएको हुन्छ । 

इलाम निर्वाचन क्षेत्र नं. १ को अन्तुमा आयोजना गरिएको चुनावी सभामा कट्टेलले भन्नुभयो ‘०७४ मा हामी प्रतिस्पर्धी थियाैं अहिले उहाँको सारथि म छु ।’ खनालतिर सङ्केत गर्दै कट्टेलले पार्टीको निर्देशन अनुसार गठबन्धनका उम्मेदवार जिताउन आफू हिँडेको बताउनुभयो । 

२०७४ को निर्वाचनमा इलाम क्षेत्र नं. १ मा नेकपा एमालेको तर्फबाट झलनाथ खनाल र नेपाली काँग्रेसको तर्फबाट कट्टेल चुनावी मैदानमा हुनुहुथ्यो । त्यो बेला खनाल भारी मतले विजयी बन्नुभएको थियो । खनालले ३६ हजार ८ सय पाँच मत ल्याउँदा उहाँका प्रतिस्पर्धी काँग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार छ सय ३८ मत मात्र प्राप्त गर्नुभएको थियो । ‘हिजो सबैभन्दा विरोधी म थिएँ, आज सबैभन्दा बढी सहयोग म गरिरहेको छु , हाम्रो क्षेत्रले देशकै नेतृत्व गरेको व्यक्ति पाएकोमा हामी खुसी छौँ’ कट्टेलले भन्नुभयो । कट्टेलले संविधान नष्ट गर्ने काम हुँदै गर्दा अस्पतालको बेडबाट संविधान बचाउन खनालले गर्नुभएको त्यागको कदर गर्ने बेला अहिले भएको बताउनुभयो । 

कट्टेल करिब ४ दशक देखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा हुनुहुन्छ । उहाँ हाल काँग्रेसको केन्द्रीय चुनाव प्रचारप्रसार समितिको सदस्यको रूपमा काम गरिरहनुभएको छ । पूर्व प्रधानमन्त्री खनाललाई पनि विगतका प्रतिस्पर्धी कट्टेल पनि हरेक कार्यक्रमसँगै भएपछि गठबन्धन बुझाउन सहज हुने गरेको पाइन्छ । खनालले विगतका आफ्ना प्रतिस्पर्धी नै अहिलेका भोट माग्ने नजिकका सारथि कट्टेल भएको बताउने गर्नुभएको छ । 

पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता खनाललाई इलाम क्षेत्र नम्बर १ मा गठबन्धनमा रहेका दल नेपाली काँग्रेस र माओवादी केन्द्रले राम्रै साथ दिएका छन् । खनाल यति बेला आफ्नो निर्वाचन क्षेत्रमा गठबन्धनका साझा कार्यक्रमका साथ मत मागिरहनुभएको छ । खनालसँग नेकपा (एमाले)का जिल्ला अध्यक्ष महेश बस्नेत चुनावी मैदानमा हुनुहुन्छ । 

Author

प्रेम अधिकारी