• १९ असार २०८१, बुधबार

उपत्यकाको चासो भक्तपुरमा

blog

भक्तपुर, कात्तिक २८ गते । आगामी मङसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार मान्दा नेमकिपासँग अन्य दलको प्रतिस्पर्धा कमजोर हुने देखिएको छ।

 प्रतिस्पर्धी सबै दलले पाएको मत एकै ठाउँमा हाल्दा पनि नेमकिपाको मत धेरै हुने देखिन्छ। भक्तपुर निर्वाचन क्षेत्र नं. १ को भूगोल भक्तपुर नगरपालिका र चाँगुनारायण नगपालिकाको सबै भूभाग पर्छ। 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकामा नगरप्रमुखका उम्मेदवारले पाएको मतलाई आधार मान्दा नेमकिपाको ३२ हजार ५१९, नेपाली कांग्रेसको १२ हजार ९५७ र नेकपा (एमाले)को ११ हजार २०१ मत र नेकपा (माओवादी केन्द्र)ले एक हजार ६२९ मत प्राप्त गरेका थिए।  

उक्त क्षेत्रमा रहेको १९ वटा वडामध्ये नेमकिपा ११, नेपाली कांग्रेस चार, नेकपा (एमाले) दुई, राप्रपा दुईवटा वडामा वडाध्यक्ष निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । स्थानीय तहको निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने भक्तपुर र चाँगुनारायण नगरपालिकामा नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र)ले प्रमुख पदमा आआफ्नै उम्मेदवार उठाएका थिए। 

आगामी मङसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचका लागि निर्वाचन क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का सुनील गोठे बासु र नेकपा (एमाले)का नवराज गेलाल प्रतिस्पर्धामा उत्रिनुभएको छ। त्यस्तै अन्य साना दलले पनि उम्मेदवारी दिएका छन। 

२०७४ सालको निर्वाचनमा प्रेम सुवालले ३३ हजार ७६ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराजा जोसीले १७ हजार ८१८ मत प्राप्त गर्नुभएको थियो। 

२०४८ सालदेखि नै यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीले निर्वाचन जित्दै आएको छ। २०४८, २०५१, २०५६ सालमा भएको आमनिर्वाचनमा र २०६४ साल तथा २०७० सालमा भएको संविधान सभा सदस्य निर्वाचनमा लगातार नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले निर्वाचन जित्नुभयो। 

त्यस्तै २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेमकिपाका उम्मेदवार प्रेम सुवालले निर्वाचनमा जित हासिल गर्नुभएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले 

जनाएको छ। जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बीसीले भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा एक लाख दुई हजार ५२८ जना मतदाता रहेका छन भने ११५ वटा मतदान केन्द्र रहेको जानकारी दिनुभयो।  


आवाज बुलन्द गर्छु   

प्रेम सुवाल, नेमकिपाका उम्मेदवार 

प्रतिनिधि सभा भनेको देशको नीति बनाउने ठाउँ हो। आफू निर्वाचित भएर गएपछि संसदमा शिक्षा अनिवार्य र निःशुल्क व्यवस्था गर्नका लागि सशक्त रूपमा आवाज उठाउँछु । देशलाई ऊर्जामा आत्मनिर्भर बनाउने, खाना पकाउन ग्यास भारतबाट किनेर कमिसन खाने होइन नेपालको जलविद्युत उत्पादन गरेर सस्तोमा खाना पकाउन दिनका लागि विद्युत निकाल्ने, कृषिमा सिँचाइको बन्दोबस्त गर्ने, कलकारखाना बन्दोबस्त गर्ने, स्वास्थ्य उपचारमा निःशुल्क गर्नका लागि नीति बनाउने नेमकिपाले संसदमा जोडदार रूपमा आवाज उठाउँछु। 

खाद्यान्नमा आत्मनिर्भर बनाउने, अहिले पनि नेपालमा चामल ६० अर्ब रुपियाँको भारतबाट आउँछ। अहिले पनि काठमाडौँमा उपत्यकावासीका लागि आवश्यक पर्ने आधा तरकारी भारतबाटै आउँछ । खाद्यान्न आत्मनिर्भर गर्ने किसानलाई सर्वसुलभ रूपमा मल र बीउबिजनको बन्दोबस्त गर्नका लागि सरकार चाहिने हो। नेमकिपाका प्रतिनिधिले आगामी निर्वाचनमा जित हासिल गरेपछि संसदमा यस्तै जनजीविकाको सवालमा आवाज बुलन्द पार्नेछ। हामी घरदैलोमा जाँदा पनि मतदाताले यही अपेक्षा गरेका छन। नेमकिपाले मतदाताको अपेक्षा पूरा गर्ने गरी काम गर्छ।  


मेलम्चीको पानी ल्याउँछु 

नवराज गेलाल, नेकपा (एमाले)का उम्मेदवार

पार्टीको नीतिअनुसार सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक बनाउने आफ्नो प्रमुख एजेन्डा हो। त्यससँगै यस निर्वाचन क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाले छुन नसकेकाले मेलम्चीको पानी भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा ल्याउने, भक्तपुर नगरपालिकामा अहिले पनि शुद्ध पिउने पानीको अभाव भएकाले भक्तपुर नगरवासीलाई पिउने पानीको व्यवस्था गर्ने, चाँगुनारायणलगायतका भक्तपुर नगरपालिकाभित्र भएका सांस्कृतिक सम्पदाको पुनर्निर्माण र नवनिर्माणमा थप व्यवस्थित गरी पर्यटकीय आकर्षणको केन्द्र बनाउने, सरस्वती खेलदेखि ताथलीसम्म रिङरोड निर्माण गरी नगरपालिकाको कार्यालय आवतजावत गर्न सहज बाटोको व्यवस्था गर्ने, भक्तपुर प्रवेश गरेका पर्यटकलाई कम्तीमा पाँच दिनसम्म भक्तपुरमै बस्ने बातावरण निर्माण गर्ने एमालेको एजेन्डा हो। त्यस्तै चाँगुनारायणदेखि नगरकोटसम्म पदमार्ग निर्माण गर्ने, बोजिनी ड्याम्पलाई खानेपानी र सिँचाइका रूपमा प्रयोग गर्ने गरी अहिले घरदैलो कार्यक्रम तीव्रपारिएको छ। 


सार्वजनिक परीक्षण गराउँछु  

सुनील गोठे बासु, गठबन्धनका साझा उम्मेदवार 

सङघीयतालाई थप बलियो बनाउन नीतिगत पहल गर्ने, स्थानीय तहलाई थप अधिकार सम्पन्न गर्ने, नगरकोट चाँगुनारायण पर्यटकीय क्षेत्र भए पनि यहाँ भौतिक पूर्वाधार नभएकाले यस क्षेत्रमा भौतिक पूर्वाधारको निर्माण गर्ने, चाँगुनारायण र भक्तपुर नगरपालिकाबीच लिङक रोड निर्माण गर्ने, यस क्षेत्रमा भएको खसआर्य र तामाङहरूको पहिचानसहितको बस्ती विकासका लागि होमस्टे निर्माण गर्ने बिजुलीको काठका पोल विस्थापित गर्ने, एक घर एक धारा निर्माण गर्ने, भक्तपुरमा परम्परागत घर निर्माण गर्न कठिन भएको छ । भक्तपुर नगरपालिकामा परम्परागत घर निर्माणका लागि राज्यबाट ५० प्रतिशत अनुदान दिने नीति बनाउन लागिपर्नेछु। सांस्कृतिक बाजागाजा संरक्षण गर्ने सत्ता गठबन्धनको उम्मेदवार भएकाले नागरिकसँग अन्तक्र्रिया गर्न हेल्पडेक्स निर्माण गर्ने आफ्नो एजेन्डा रहेको छ। आफू निर्वाचित भएपछि व्यक्तिगत सम्पत्ति सार्वजनीकरण गरी प्रत्येक वर्ष व्यक्तिगत सम्पत्तिको सार्वजनिक परीक्षण गराउने प्रतिबद्धतासहित अहिले जनताको घरदैलोमा पुगेको छु।