• १३ साउन २०८१, आइतबार

निटफेस्ट नाट्य महोत्सवमा शबाना आजमी

blog

काठमाडौँ, कात्तिक २८ गते । भारतका सुप्रसिद्ध रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमीले नेपाली रङ्गकर्मी तथा कलाकारहरूलाई रङ्गमञ्चका बारेमा आफ्नो अनुभव ‘मास्टरक्लास’ साटासाट गर्नुहुने भएको छ। दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिका रूपमा सहभागी हुन उहाँ काठमाडौँ आउने हुनुभएको हो। 

महोत्सवका लागि मङ्सिर ९ गते हुने उद्घाटन समारोहमा उपस्थित हुने अभिनेत्री आजमीले भोलिपल्ट रङ्गमञ्च र अभिनयबारे मास्टरक्लास पनि सञ्चालन गर्ने आयोजक मण्डला थिएटरले आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ भन्ने नाराका साथ हुन लागेको यस महोत्सवमा आजमीले मास्टरक्लास लिने महोत्सवकी निर्देशक सिर्जना सुब्बाले बताउनुभएको हो। 

मास्टरक्लास महोत्सवको दोस्रो दिन मङ्सिर १० गते साँझ ७ः३० बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ। साथै अभिनेत्री आजमीले महोत्सवले आह्वान गरेको ‘इनोभेटिभ आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई आयोजकका तर्फबाट पुरस्कृत पनि गर्नुहुने भएको छ। मण्डला थिएटरमा मङ्सिर १७ सम्म आयोजना हुने महोत्सवमा देश–विदेशका २२ नाटकको सहभागिता हुनेछ। महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन्।