गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १० गते । नेपालका लागि चीनका नवनियुक्त राजदूत झाङ माओमिङको स्वागतार्थ बुधबार ‘वसन्तको स्वर : गीतसँगै भित्री मङ्गोलियाको यात्रा’ शीर्षकमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
चिनियाँ राजदूतावासले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायत उच्च अधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा चिनियाँ राजदूत झाङ माओमिङले आफ्नो कार्यकालमा नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशबिचको परम्परागत मित्रता र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
राष्ट्रिय सभाकी उपाध्यक्ष भण्डारीले नेपाल र चीनबिचको सम्बन्ध विशेष रहेको बताउनुभयो । अर्थमन्त्री डा. वाग्लेले सांस्कृतिक आदानप्रदान दुई देशबिचको सम्बन्धको महत्वपूर्ण पक्ष रहेको बताउँदै नेपाल र चीनबिचको सम्बन्ध अत्यन्त सफल र सौहार्दपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले आधुनिक विकासका क्षेत्रमा दुई देशबिचको सहकार्यलाई थप फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा ‘वसन्तको स्वर : गीतसँगै भित्री मङ्गोलियाको यात्रा’ शीर्षकमा सांस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो ।