• १० वैशाख २०८३, बिहिबार

गोरखापत्रकर्मी लिम्बू पुरस्कृत

blog

टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार ग्रहण गर्दै गोरखापत्रकर्मी साहारा लिम्बू ।

गोरखापत्र अनलाइन
फुङलिङ, वैशाख १० गते ।
गोरखापत्रकर्मी साहारा लङ्वा लिम्बू पुरस्कृत हुनु भएको छ । स्वर्गीय टीकाराम गौतमको १६ औँ स्मृति दिवसको अवसरमा गोरखापत्रकर्मी लिम्बू नगदसहित पुरस्कृत हुनु भएको हो ।

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङको सिफारिसमा लिम्बू टीकाराम गौतम स्मृति प्रतिष्ठानद्वारा पुरस्कृत हुनु भएको छ । लिम्बू नगद १० हजार १०५ रुपियाँ र सम्मानपत्र सहित पुरस्कृत हुनु भएको प्रतिष्ठानका अध्यक्ष तोयानाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार स्वर्गीय गौतमको स्मृतिमा हरेक वर्ष महासङ्घको सिफारिसमा जिल्लाका क्रियाशील पत्रकारहरूलाई पुरस्कृत गरिँदै आइएको छ । हालसम्म जिल्लाका १२ जना उत्कृष्ट पत्रकारलाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान गरि सकिएको छ ।

लिम्बूले करिब एक दशक अघिदेखि क्रियाशील रुपमा पत्रकारिताको क्षेत्रमा रहेर योगदान पुर्‍याउनु भएकाले उहाँलाई पुरस्कृत गर्न सिफारिस गरिएको महासङ्घका अध्यक्ष सुवास आचार्यले बताउनुभयो । लिम्बू महासङ्घको सहसचिव तथा स्थानीय रेडियो काबेली ९५.८ मेगाहर्जको स्टेसन मेनेजर समेत रहनु भएको छ ।

यस्तै प्रतिष्ठानले समाजसेवी व्यक्तिको रुपमा भानुजन माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर राईलाई समेत नगद १० हजार १०५ रुपियाँसहित सम्मान पत्रले सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार आफ्नो सम्पूर्ण जीवन शिक्षण पेशामा अहोरात्र खटेर शैक्षिक क्षेत्रमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै प्रतिष्ठानले पुरस्कृत गरेको हो ।

यस्तै नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाका तत्कालीन सभापति स्व. टीकाराम गौतम रहनु भएकाले उत्कृष्ट उपशाखाको रुपमा ढुङ्गेसाँघु उपशाखा पुरस्कृत भएको छ । उपशाखालाई नगद १५ हजार १०५ रुपियाँसहित प्रशंसा पत्रले पुरस्कृत गरिएको अध्यक्ष गौतमको भनाइ छ ।

वि.सं. २०१३ साल वैशाख ९ गते जन्मनु भएका गौतमको २०६६ कात्तिक ११ गते हृदयघात भई निधन भएको थियो । त्यसपछि उहाँको स्मृतिमा प्रतिष्ठान स्थापना गरी बि. सं. २०७० सालदेखि निरन्तर रुपमा हरेक वर्ष एकएक जना पत्रकार, समाजसेवी र रेडक्रसको उत्कृष्ट उपशाखालाई सम्मान गर्दै आइरहेको छ । 

प्रतिष्ठानले स्मृति दिवसको अवसरमा भित्तेपात्रो समेत विमोचन गरेको छ । प्रतिष्ठानले बिरामीहरूको सेवाका लागि दुई ओटा एम्बुलेन्स सञ्चालन गरिरहेको छ । चालु आर्थिक वर्षमा दुई जना बिरामीलाई ताप्लेजुदेखि तराईको सुविधा सम्पन्न अस्पतालसम्म पुग्नेगरि निःशुल्क सेवा प्रदान गरेको समेत प्रतिष्ठानले जनाएको छ । 

र्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईं, संविधानसभाका सदस्य सञ्चपाल मादेन, सिरिजङ्गा गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतम, दुर्गादल गुल्मका गुल्मपति उमेश खड्का, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ९डिएसपी० वेदप्रसाद गौतम, नेपाल रेडक्रस सोसाईटीका सभापति इन्द्र बहादुर गुरुङ, नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुवास आचार्य, रेडक्रसका उपशाखाका प्रतिनिधिहरु, गौतम परिवार सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।