प्रदेश १ सरकारले सङ्क्रामक रोग तथा सघन उपचार केन्द्र अस्पताल सञ्चालनमा ल्याएको छ। कोभिड–१९ सङ्क्रमणमा प्रदेश सरकार मातहत विराटनगर–१० स्थित नेसनल ट्रेडिङको भवन प्रयोग गरेर सञ्चालनमा ल्याइएको कोसी कोभिड उपचार केन्द्रलाई सङ्क्रामक रोग तथा सघन उपचार केन्द्रमा रूपान्तरण गरेर सञ्चालनमा ल्याइएको हो।
दुई वर्षअघि ११ करोड रुपियाँ खर्च गरेर कालोपत्रे गरिएको बैतडीको पाटन विमानस्थलमा छ महिनादेखि उडान हुन सकेको छैन । २०७७ असोज १७ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यो विमानस्थलको उद्घाटन गर्दै बैतडीबाट नियमित हवाई सेवा सञ्चालन हुने आश्वासन दिनुभएको थियो । विमानस्थल कालोपत्रे भएपछि हप्तामा एक पटक धनगढी–बैतडी उडान हुँदै आएको थियो तर छ महिनादेखि उडान ठप्प भएको हो । करिब १७ मिनेटको बैतडी–धनगढी उडानको चार हजार पाँच सय रुपियाँ भाडा लिएर प्रत्येक हप्ताको बिहीबार समिट एयरले उडान भर्दै आएकामा २०७८ चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । त्यसयता उडान भएको छैन ।
काठमाडौँको शङ्खरापुर नगरपालिका–३, लप्सीफेदीमा विगत दुई वर्षदेखि जारी सबस्टेसन निर्माणको अवरोध हटाउन पहल भएको छ । अवरोधका कारण तामाकोसी–काठमाडौँ ४०० केभी प्रसारण लाइनको पाँचवटा टावर पनि निर्माण हुन सकिरहेको छैन । सबस्टेसन बनाउन १७० रोपनी जग्गाको मुआब्जा र क्षतिपूर्ति रकम वितरण भएपछि पनि सो स्थानबाट सबस्टेसन हटाउनुपर्ने भन्दै स्थानीयवासीले अवरोध गर्दै आएका छन् । २०७४ माघमा ७० घरपरिवारमध्ये एउटा कित्ताका जग्गाधनीबाहेक अन्य सबैले मुआब्जा तथा क्षतिपूर्तिको रकम बुझिसकेका छन् । मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरू नै ठाउँमा सार्नुपर्ने माग स्थानीयवासीको छ ।
दोलखाको तामाकोसी गाउँपालिकाको भीरकोट हुँदै हावाच्यामा पुग्ने सडक कालोपत्रे गरिएको दुई वर्षमै जीर्ण बनेको छ। सडक जीर्ण बनेपछि सो सडक हुँदै राजधानी काठमाडौँलगायतका जिल्लामा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको छ । सडकको कालोपत्रे उप्किएको मात्र छैन, पहिरोले सडकका नालासमेत पुरिएको तामाकोसी–४ का स्थानीय सन्तोष पोखरेलले बताउनुभयो। गुणस्तरीय निर्माण अभावमा जीर्ण बनेको सडकको दुरावस्थाबारे सोही सडक हुँदै दैनिक आवतजावत गर्ने गाउँपालिकाका जनप्रतिनिधिले समेत चासो नदेखाएको स्थानीयको गुनासो छ।
दोलखाको शैलुङ र कालिञ्चोक गाउँपालिकामा निर्मित पाँचवटा खानेपानी योजनामा क्लोरिफम देखिएपछि क्लोरिन ट्याङ्क निर्माण गरी शुद्ध पानी वितरण गर्न थालिएको छ। वाटर एड नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्च (सीडीएफ) दोलखाले सञ्चालन गरेको खानेपानी सुरक्षा तथा बास उत्थानशीलता परियोजनाले कालिञ्चोक गाउँपालिकामा करिब १७ लाख रुपियाँमा तीनवटा र शैलुङ गाउँपालिकामा आठ लाखभन्दा बढीको लगानीमा तीनवटा क्लोरिन ट्याङ्की निर्माण गरी पानी वितरण गरेको हो।
विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ। मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा छ जना आरोहीको टोलीले परीक्षण उडानको अभ्यास गरिरहेको छ।
निर्वाचन आयोगले अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन सरकारलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै सो निर्देशन गर्नुभएको हो ।
खाँदबारी नगर कार्यपालिका, संखुवासभाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार निरौलासहित कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापालाई नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिको रुपमा स्मरण गर्नुभएको छ।
राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराईको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार भट्टराईको बुधबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँ ७७ वर्षको हुनुहुन्थ्यो ।
अहिले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा भारी बर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो क्रम रातिसम्म जारी रहने मौसमविद गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार राति सुदूरपश्चिममा पनि भारी वर्षाको सम्भावना छ ।
जयमान बुढा मगररुकुमपूर्व, असोज ६ गते। रुकुमपूर्वमा बस दुर्घटना हुँदा एक घरका दुईसहित पाँच जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो। दुर्घटनास्थलमा तीन र रुकुमपूर्व अस्पताल ल्याउने क्रममा दुई गरेर दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो। जिल्लाकै सिस्ने गाउँपालिका–६ का ४० वर्षीया लक्ष्मी खड्कासहित उनका एक छोराको मृत्यु भएको डीएसपी डाँगीले जानकारी दिनुभयो। लक्ष्मीका दुई वर्षीय छोरा सिजन खड्काको मृत्यु भएको हो। यसैगरी बस चालक रामेछापका २६ वर्षीय लिलाम श्रेष्ठ, रुकुमपूर्व भूमे गाउँपालिका–५ का २३ वर्षीय कहिमान बुढा, पुथाउत्तरगङ्गा गाउँपालिका–८ का ३५ वर्षीय पूर्णबहादुर बुढाको मृत्यु भएको छ। काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बसमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ। चार जना गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो। घाइते सात जनाको रुकुमपूर्व रुकुमकोट अस्पतालमै उपचार भइरहेको छ। (यो समाचारमा यसअघि प्रकाशित विवरणमा त्रुटि भएकाले सच्याइएको छ । –सम्पादक)
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका –६ को भण्डारामा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा चार सय जना लाभान्वित भएका छन् । विशेषगरी विपन्न, पिछडिएको, असक्त र असहायलाई लक्षित गरी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको श्री नं २ वन तथा पर्यावरण सुरक्षा गणका प्रमुख सेनानी श्री दिपेन्द्र वोगटीले बताउनुभयो ।
गण्डकी प्रदेशमा गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिब्र रुपमा अगाडि बढेको छ । ३६ खेलका खेलस्थल सार्वजनिक गरेसगै खेलमैदानको निर्माणलाई अगाडि बढाइएको छ ।
काठमाडौं, असोज ६ गते । निर्वाचन सुरक्षाका विषयमा सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ। बिहीबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाबीच छलफल भएको हो। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन – २०७९ सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल भएको विज्ञप्ति सार्वजनिक गर्दै नेपाली सेनाले जानकारी गराएको छ। नेपाली सेनाका उच्च तहका अधिकृतको समेत सहभागिता रहेको छलफलमा समग्र सुरक्षा अवस्थाको समीक्षा भएको र आगामी निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाबारे अन्तरक्रियात्मक छलफल भएको छ।यसका साथै सबै सुरक्षा निकायका प्रमुखबीच आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सरकारबाट सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी केन्द्रीय, प्रादेशिक र स्थानीय तीन तहमा आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।