• १३ साउन २०८१, आइतबार

कालोपत्रे सडक दुई वर्षमै जीर्ण

blog

चरीकोट समाचारदाता 

चरीकोट, असोज ७ गते । दोलखाको तामाकोसी गाउँपालिकाको भीरकोट हुँदै हावाच्यामा पुग्ने सडक कालोपत्रे गरिएको दुई वर्षमै जीर्ण बनेको छ। सडक जीर्ण बनेपछि सो सडक हुँदै राजधानी काठमाडौँलगायतका जिल्लामा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको छ । सडकको कालोपत्रे उप्किएको मात्र छैन, पहिरोले सडकका नालासमेत पुरिएको तामाकोसी–४ का स्थानीय सन्तोष पोखरेलले बताउनुभयो। गुणस्तरीय निर्माण अभावमा जीर्ण बनेको सडकको दुरावस्थाबारे सोही सडक हुँदै दैनिक आवतजावत गर्ने गाउँपालिकाका जनप्रतिनिधिले समेत चासो नदेखाएको स्थानीयको गुनासो छ। 

तत्कालीन पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयमार्फत ४५ करोड रुपियाँ लागतमा निर्माण गरिएको उक्त सडकमा एसियाली विकास बैङ्कको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत लगानी रहेको थियो।

भीरकोट हुँदै हावाच्यामा जोड्ने करिब २६ किलोमिटर सडक कालोपत्रेपछि बागमती प्रदेशको भौतिक पूर्वाधार कार्यालयलाई जिम्मा लगाएको थियो। पूर्वाधार कार्यालय सिन्धुपाल्चोकका प्राविधिक रवीन खातीले कागजी रूपमा हस्तान्तरण भए पनि बजेट विनियोजन नभएका कारण सडकको नियमित मर्मत गर्न नसकिएको बताउँदै सडकमा छ जना हेरालु राखेर सामान्य मर्मतको काम गर्दै आइरहेको जानकारी दिनुभयो। सडक जीर्णोद्धारमा करिब १० करोड रुपियाँ लाग्ने भए पनि बजेट अभावमा निर्माण प्रक्रिया अगाडि बढाउन नसकिएको उहाँको भनाइ छ।