• ७ चैत २०८२, शनिबार

गर्भवती महिलाको हवाइ उद्धार

blog

गर्भवती महिलाको हवाइ उद्धार गरिँदै । तस्बिरः मोहनसिंह बुढा

मोहनसिंह बुढा 

हुम्ला, चैत ७ गते । दुर्गम हिमाली जिल्ला हुम्लाबाट एक गर्भवती महिलाको ज्यान बचाउन हवाइ उद्धार गरिएको छ । चङ्खेली गाउँपालिका–४ की ३४ वर्षीया बासना शाहीलाई जटिल स्वास्थ्य अवस्थाका कारण शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।  

स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक जाँचका क्रममा गर्भमै रहेको शिशुमा गम्भीर समस्या देखिएपछि चिकित्सकहरूले तुरुन्तै उच्चस्तरीय उपचार आवश्यक भएको निष्कर्ष निकालेका थिए । दुर्गम भौगोलिक अवस्था, सडक पहुँचको अभाव र समयको संवेदनशीलतालाई मध्यनजर गर्दै तत्काल हवाई उद्धारको निर्णय गरी उहाँलाई सुर्खेत लगिएको छ ।  

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार स्थानीय स्तरमा आवश्यक उपकरण र सेवा उपलब्ध नभएकाले आमा र शिशुको ज्यान जोखिममा थियो । समयमै उद्धार गर्न सकेपछि बचाउने सम्भावना उच्च भएको छ । 

उक्त उद्धार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत सञ्चालन भइरहेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत गरिएको हो । यस कार्यक्रमले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार सेवा उपलब्ध गराउँदै आएको छ । 

कर्णालीका हिमाली जिल्लाहरूमा अझै पनि स्वास्थ्य पूर्वाधारको अभाव, कठिन भौगोलिक अवस्था र यातायातको सीमित पहुँचका कारण यस्ता आपतकालीन उद्धारहरू जीवनरक्षाको मुख्य आधार बन्दै आएको छ ।