• ८ कात्तिक २०८१, बिहिबार

स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित

blog

स्वास्थ्य परीक्षणका लागी स्वास्थ्य शिविरमा आउनुभएका ज्येष्ठ नागरिकहरु । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, असोज ६ गते । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका –६ को भण्डारामा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा चार सय जना लाभान्वित भएका छन् ।    विशेषगरी विपन्न, पिछडिएको, असक्त र असहायलाई लक्षित गरी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको श्री नं २ वन तथा पर्यावरण सुरक्षा गणका प्रमुख सेनानी श्री दिपेन्द्र बोगटीले बताउनुभयो ।

मध्यबिन्दु ६ का तुलाराम चौधरी असक्त हुनुहुन्छ । ह्विलचियरको साहेतामा हिँडडुल गर्ने ५० वर्षीय चौधरी प्रेसर र दमको रोगबाट ग्रसित हुनुहुन्छ । आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने थाहा पाएपछि ह्विलचियरमा स्वास्थ्य परीक्षण गर्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै रकम खर्च गरेर विशेषज्ञ सेवा लिन सहरतिर जानुपर्ने हामीलाई गाउँमै शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षण गर्न पाउँदा खुसी लागेको छ ।”  

आफू असक्त भएकै कारण लामो समयसम्म स्वास्थ्य परीक्षण गर्ने ठाउँसम्म जान नसकेको बताउनुभयो । विपन्न परिवारका सदस्यलाई निःशुल्क औषधि पाउँदा राहत मिलेको बताउनुभयो । 

शिविरमा स्वास्थ्य परीक्षण गर्न आउनुभएकी ६३ वर्षीया रामकुमारी महतो पनि निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । शिविरमा इन्टरनल मेडिसिन, गाइने एण्ड अव्स, जनरल सर्जनसहितको सेवा उपलब्ध गराइएको थियो । परीक्षणसँगै निःशुल्क औषधी वितरण गरिएको छ ।