काठमाडौँ, असोज ७ गते । काठमाडौँको शङ्खरापुर नगरपालिका–३, लप्सीफेदीमा विगत दुई वर्षदेखि जारी सबस्टेसन निर्माणको अवरोध हटाउन पहल भएको छ । अवरोधका कारण तामाकोसी–काठमाडौँ ४०० केभी प्रसारण लाइनको पाँचवटा टावर पनि निर्माण हुन सकिरहेको छैन ।
सबस्टेसन बनाउन १७० रोपनी जग्गाको मुआब्जा र क्षतिपूर्ति रकम वितरण भएपछि पनि सो स्थानबाट सबस्टेसन हटाउनुपर्ने भन्दै स्थानीयवासीले अवरोध गर्दै आएका छन् । २०७४ माघमा ७० घरपरिवारमध्ये एउटा कित्ताका जग्गाधनीबाहेक अन्य सबैले मुआब्जा तथा क्षतिपूर्तिको रकम बुझिसकेका छन् । मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरू नै ठाउँमा सार्नुपर्ने माग स्थानीयवासीको छ ।
समस्या समाधानका लागि बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, शङ्खरापुर नगरपालिका प्रमुख रमेश नापितलगायतको टोलीले सबस्टेसन निर्माण स्थलको स्थलगत अवलोकन र प्रभावितसँग अन्तक्र्रिया गरेको छ । टोलीले वडाध्यक्षहरू, प्रभावित, सरोकार समितिका पदाधिकारी र स्थानीयवासीसँग छलफल गरी रणनीतिक महŒवको प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा अवरोध नगर्न आग्रह गरेको छ ।
छलफलमा प्रमुख जिल्ला अधिकारी उपाध्यायले स्थानीयवासीको मर्कालाई न्यूनीकरण गर्दै विकास आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो आयोजनाले नयाँ अवसर सिर्जना गर्न सक्छ, यस भेगलाई नयाँ पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सक्छ । त्यसैले समस्या समाधान गरौँ ।”
बस्तीबीचमा सबस्टेसन बनाउँदा मानव बस्तीलाई क्षति पुग्छ भन्ने बुझाइ गलत भएको प्रस्ट पार्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबस्टेसनको निर्माणबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति विश्वसनीय तथा भरपर्दो हुने र उद्योग, कलकारखाना स्थापनाको नयाँ अवसर सिर्जना हुने बताउनुभयो । काठमाडौँ उपत्यकामा ११ वटाभन्दा बढी सबस्टेसन घनाबस्तीमै रहेको तर त्यसबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको घिसिङले बताउनुभयो । उहाँले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस क्षेत्रको विकासका लागि विद्यालय, सडक, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गर्न तयार रहेको बताउनुभयो । “रोजगारी, निर्माण कार्यलगायतमा स्थानीयवासीलाई अधिकतम फाइदा हुने गरी सबस्टेसन निर्माण गर्नेछाैँ,” उहाँले भन्नुभयो ।
शङ्खरापुर नगरपालिका प्रमुख रमेश नापितले स्थानीयवासीको मागलाई सम्बोधन गरेर विकास आयोजना बनाइनुपर्नेमा जोड दिनुभयो । छलफलमा सहभागी स्थानीयवासीले भने आयोजनाबाट त्यस क्षेत्रमा वातावरणीय, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भएकाले सबस्टेसन तथा प्रसारण लाइनलाई अन्यत्र सार्न माग गरेका थिए ।
तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् मुख्य रूपमा काठमाडौँ उपत्यकामा वितरणका लागि लप्सीफेदीमा ४००, २२० र १३२ केभीका सबस्टेसन निर्माण गर्न लागिएको हो । रामेछाप, दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा उत्पादित विद्युत् काठमाडौँ उपत्यकामा प्रवाह गर्न तामाकोसी–काठमाडौँ ४०० केभी प्रसारण लाइन निर्माणाधीन छ ।
यसैगरी लप्सीफेदी सबस्टेसनबाट उपत्यकामा विद्युत् लैजान चाँगुनारायण सबस्टेसनसम्म १३२ केभी प्रसारण लाइन निर्माण हुँदै छ । चाँगुनारायण सबस्टेसनकै प्याकेजमा लप्सीफेदी सबस्टेसन राखिएको छ ।