चाडपर्वको समयमा यात्रुलाई हुने समस्या कम गर्न जिल्ला ट्राफिक कार्यालय पर्वतले सदरमुकाम कुश्माको शिवालय चोकमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ। जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि कक्षको स्थापना गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेका अनुसार चाडपर्वको बेलामा यात्रुले विभिन्न सास्ती पाउन सक्ने भन्दै यातायातका साधनको सबैभन्दा बढी जमघट हुने शिवालय चोकमा ‘सहायता कक्ष’ स्थापना गरिएको हो।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा अवस्थित त्रिधार्मिक स्थल हलेसी मन्दिरमा पर्यटक गाइड राखिने भएको छ। हलेसीमा आउने पर्यटकलाई त्यसको महत्त्व बुझाउन नगरपालिकाले पर्यटक गाइड राख्ने अवधारणा अगाडि सारेको हो। धार्मिक तथा सांस्कृतिक रूपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। हलेसीमा महादेव गुफा, पापद्वार, धर्मद्वार, भैरव गुफा, बसाहा गुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न नेपालका विभिन्न जिल्लासँगै भारत, बङ्गलादेश, भुटानलगायतका देशबाट पनि भक्तजन आउने गरेका छन्।
अष्ट्रेलियाविरुद्ध तीन खेलको टी-२० सिरिज घरेलु टोली भारतले जितेको छ । हैदराबादमा आइतबार राति भएको तेस्रो तथा अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।
पाँचथरका १०२ मध्ये ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका छन्। जिल्ला सुरक्षा समिति पॉचथरले सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण गरेको हो। जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ५८ वटालाई संवेदनशील र १० वटालाई सामान्यमा वर्गीकरण गर्दै सोहीअनुसारको सुरक्षा योजना तर्जुमा गर्दै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएको हो।
पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का रद्द गर्नसक्ने चेतावनी दिएको छ ।
बाँके र बर्दियामा जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०७९/८० मा ६८० घर निर्माण गरिने भएको छ। लुम्बिनी प्रदेशको पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन कार्यालय नेपालगञ्जले बाँकेमा ३४७ र बर्दियामा २८४ नयाँ घर निर्माण गरिने जानकारी दिएको छ।
कलाकार सङ्गी श्रेष्ठको ‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु भएको छ। पुल्चोकस्थित जिजी मचानमा बुधबार सुरु भएको प्रदर्शनीमा संस्कृति, प्रकृति, समाज र मानवीय मनोवृत्ति चित्रण गरिएका कलाकृति राखिएको छ। एक महिनासम्म चल्ने प्रदर्शनीमा कलाकार श्रेष्ठले रङ र रेखामार्फत जीवन र जगत्का शाश्वत पक्षलाई कलात्मक ढङ्गले उन्नुभएको छ। उहाँले आफ्नी दिवङ्गत आमा अम्बिकादेवी श्रेष्ठको स्मृतिमा कला प्रदर्शनी गरिएको बताउनुभयो।
नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले कार्यकर्ताको माग र पार्टीको निर्णयअनुसार आफू प्रतिनिधिसभाको चुनाव लड्न तयार रहेको बताउनुभएको छ । एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ समन्वय समितिले रावलको गृहनगर साँफेबगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले सो कुरा बताउनुभएको हो ।
विश्व पर्यटन दिवसका अवसरमा महोत्तरीमा आगन्तुकलाई भोजन र आवासमा ठूलो छुट दिने घोषणा गरिएको छ।
नेकपा (माओवादी केन्द्र) धनकुटाका सबै पदाधिकारीले सामुहिक राजिनामा दिएका छन् । आइतबार पत्रकार सम्मेल गर्दै पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, सदस्यहरु र जिल्ला सदस्यहरुले सामुहिक राजीनामा दिएका हुन् ।
सुदूरपश्चिमको बैतडीमा शनिबार रातिदेखि भारी वर्षा भइरहेको छ । वर्षाका कारण आइतबार विहान बैतडीको दोगडाकेदार गाउँपाकिला –२, बडियामा पहिरो खस्दा स्थानीय देबसिंह महराको घर बगाएको छ । गोठमा रहेका गाई र बाख्रा पुरिएका छन् । पहिरो खस्दा घर परिवारले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
नेपालका सन्जिव तामाङ र सन्जितकुमार राईले डब्लुएमएसी वल्र्ड मार्सल आर्ट्स गेम्समा दोहोरो पदक जित्नुभएको छ ।
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि आइतबार अपरान्ह ५ बजेसम्म गण्डकी प्रदेशले सर्वाधिक ७ सय २ खेलाडीको नाम दर्ता गराएको छ ।
‘मिसेस नेपाल कल्चर–२०२२’को उपाधि युमिन खत्रीले जित्नुभएको छ। ३७ प्रतियोगीलाई पछि पार्दै उहँले शीर्ष उपाधि चुम्नुभएको हो। राष्ट्रिय नाचघर जमलमा शनिबार आयोजित प्रतियोगितामा शुभेच्छा ढकाल राणा फस्ट रनरअप, ज्योति दीक्षित सेकेन्ड रनरअप, सुस्मिता भण्डारी अधिकारी थर्ड रनरअप र मञ्जु पाठक फोर्थ रनरअप हुनुभयो ।
बाँकेमा २०६३/६४ सालदेखि निर्माण सुरु भएका करिब आधा दर्जन खानेपानीका योजना अझै पनि अलपत्र अवस्थामा छन्। बजेट, पर्याप्त जनशक्तिको अभाव, उपभोक्ता समितिको चासो नदेखिनुलगायतका कारणले करिब डेढ दशक पहिलेदेखि निर्माण सुरु भएका आयोजना अलपत्र अवस्थामा रहेको सरसफाइ तथा खानेपानी डिभिजन कार्यालय बाँकेका प्रमुख तिलक न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार बाँकेका करिब १५ प्रतिशत नागरिकले मात्र पाइप प्रणालीबाट खानेपानी खाइरहेको जनाउँदै निर्माणाधीन सबै आयोजनाको काम पूरा भएमा ८५ प्रतिशत नागरिकले पाइप प्रणालीको पानी खान पाउनेछन्।