आजबाट नवरात्र सुरु
गृहमन्त्री बालकृष्ण खाणले नेपाल बहुभाषा, जाति, समुदाय, धर्म, संस्कृतिले बनेको उल्लेख गर्दै धार्मिक सहिष्णुता सधैँ आवश्यक रहेको बताउनुभएको छ। विविधता नेपालको सम्पत्ति भएको भन्दै उहाँले यसलाई अवसरका रूपमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६, गल्लामण्डीस्थित शिव मन्दिर धर्मशालाको आइतबार उद्घाटन गर्दै गृहमन्त्री खाणले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक भएकाले ठूलो सङ्ख्यामा रहेका हिन्दुले अन्य सम्प्रदायलाई पनि सम्मान गर्नुपर्ने बताउनुभयो। कुनै पनि द्वन्द्वले मुलुक र जनताको हित नहुने भन्दै उहाँले नेपालले बेलाबेलामा ठूलो द्वन्द्व बेहोर्नुपरेको स्मरण गर्नुभयो।
प्रथम तरुण गोल्ड कप फुटबल प्रतियोगिता २०७९ को उपाधि बेलबारी–२ ले जितेको छ । बेलबारी–१० को प्रस्तावित डाँगीहाट रङ्गशालामा भएको फाइनल खेलमा बेलबारी–२ ले बेलबारी–८ लाई टाइब्रेकरमा ७–६ गोलले हरायो ।
पश्चिम नवलपरासी त्रिवेणी धामदेखि चितवनको वाल्मीकि आश्रमसँग जोड्ने गरी निर्माणाधीन फलुङ्गे पुल १९ वर्षमा सम्पन्न भएको छ। २०६० साउनदेखि त्रिवेणी धामदेखि वाल्मीकि आश्रम झोलुङ्गे पुलको निर्माणको जिम्मा पाएको गीता रुविनामना जेभी कन्स्ट्रक्सन कम्पनीले विभिन्न बहाना देखाउँदै म्याद थप गर्दै आएको थियो।
प्रथम ‘वडा अध्यक्ष कप’ फुटसलको ट्रफी गुरुमार्ग युवा क्लबले हात पारेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–१, कुसुम बैरियाका १३ वर्षीया वन्दना विक र ११ वर्षीया निशा परियार गत पाँच दिनदेखि रहस्यमय तरिकाले सम्पर्कविहीन भएका छन्। विक र परियार सम्पर्कविहीन भएको तीन दिनपछि वन्दनाकी सानीआमाले इलाका प्रहरी कार्यालय, कुसुममा उजुरी दिएको र सोही आधारमा तत्कालै खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी ऐनबहादुर मल्लले बताउनुभयो।
दाङको राजपुर गाउँपालिकाको सीमा सडकको निर्माण कार्य पूरा नहुँदा सीमा क्षेत्रका नागरिकलाई आवतजावतमा कठिनाइ भएको छ। दस वर्षपहिले जनश्रमदानबाट सडकको ट्र्याक खोले पनि उक्त सडकको निर्माण कार्य अहिलेसम्म पूरा हुन सकेको छैन। लुम्बिनी प्रदेश सरकारले प्रत्येक वर्ष समपुरक योजनाअन्तर्गत एक करोड ५० लाख रुपियाँ विनियोजन गर्दै आइरहेको छ। स्थानीय सरकारले कार्यान्वयन गर्ने उक्त योजना ढिलो टेन्डर खोलिने र वर्षा लागेपछि रकम फ्रिज हुने गरेको राजपुर गाउँपालिका–७, भैँसही नाका निवासी पूर्ण रोकाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, वैशाखमा टेन्डर खोल्ने काम हुन्छ, असारभित्र सक्नुपर्छ निर्माण सामग्री खरिद ढुवानीको मेसो मिलाउँदैमा समय बित्छ। काम थोरै मात्र हुन्छ।
सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीसमक्ष प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ। आयोगका अध्यक्ष यज्ञराज बोहराले वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो। प्रदेश प्रमुख देवराज जोशीले आयोगको कार्यसम्पादन सन्तोषजनक रहेको भन्दै आयोग पदाधिकारी तथा कर्मचारीलाई धन्यवाद दिनुभयो। लोकसेवा आयोगका अध्यक्ष बोहराले आयोगले समावेशी र समानुपातिक सिद्धान्तलाई अवलम्बन गरेर अघि बढेको जानकारी दिनुभयो।
नेपाल सेल्फ डिफेन्स संघका केन्द्रिय अध्यक्ष डिबी रानापालले युनिभर्सिटि वर्ल्ड कम्ब्याट मार्सल आर्ट कलेज मार्फत डक्टरेटको उपाधि पाउनुभएको छ ।
कैलालीका बाढी प्रभावितलाई साँझ बिहानको छाक टार्न समस्या भएको छ। बाढीले घरमा भण्डारण गरिएका खाद्यवस्तु नष्ट गरेपछि बाढीपीडित छाक टार्ने समस्यामा छन्। बाढीपीडितहरू दशैँमा के खाने भनेर चिन्तित छन्। घरमा भण्डारण गरिएको वर्षभरिलाई खान पुग्ने अन्न बाढीले बगाएको छ। यसैगरी कतिपय प्रभावितको खाद्यान्न भिजेर नोक्सान भएको छ। भण्डारण गरिएको स्थानमै भिजेर चामल, धान, गहुँ, तोरी, मसुरो नष्ट भएको प्रभावितले बताएका छन्। भजनी नगरपालिका–८, भर्थानटोलका तुलसीदेवी डङ्गौराले बाढीले खाद्यान्न नष्ट भएको बताउनुभयो।
बाल विकास सहजकर्ताले दशरथचन्द नगरपालिकाले तलब नदिएको भन्दै शिक्षा शाखामा तालाबन्दी गरेका छन्। बाल विकास सहजकर्ता लीला ठगुन्नाले तलबको माग राख्दै तालाबन्दी गरेर आन्दोलनमा उत्रिएको जानकारी दिनुभयो। उहाँका अनुसार सङ्घीय सरकार र स्थानीय सरकारले बाल विकास सहजकर्तालाई मासिक तलब दिँदै आएका छन्। दशरथचन्द नगरपालिकाले छ महिनादेखि तलब दिएको छैन। नगरपालिका आफैँले तोकेको तलब उपलब्ध गराउन पटक–पटक माग गरे पनि सुनुवाइ भएन। गुनासो नसुनेपछि तालाबन्दी गर्न आफूहरू बाध्य भएको ठगुन्नाले बताउनुभयो।
दशरथ रंगशालामा मंगलबार आयोजना हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालले आफ्नो तयारी पूरा गरेको छ ।
जर्वजस्ती करणी उद्योग मुद्दामा प्रहरी अनुसन्धानमा रहनु भएको लहान नगरपालिका उपप्रमुख रामचलितर महतो थुनछेक सुनवाइमा एक लाख धरौटीमा आइतबार रिहा हुनु भएको छ ।
विगत तीन वर्षको अवधिमा कर्णाली प्रदेशका एक लाख सात हजार २१८ जनसङ्ख्या खानेपानीको पहुँचमा पुगेका छन्। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयद्वारा आर्थिक वर्ष २०७६÷७७ देखि २०७८÷७९ सम्म विभिन्न आयोजनामार्फत सो जनसङ्ख्या खानेपानीको पहुँचमा पुगेको हो। मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६÷७७ मा २१ हजार ४६७ जना, आर्थिक वर्ष २०७७÷७८ मा ३० हजार ८३४ र आर्थिक वर्ष २०७८÷७९ मा ५४ हजार ९१७ जना लाभान्वित भएका हुन्। मन्त्रालयले तीन वर्षमा सात हजार २९० हेक्टर जमिन सिंचाइ गरेको छ भने ४३ किलोमिटर नदी नियन्त्रण गरिएको जनाएको छ।
कर्णाली प्रदेश सभाको पहिलो कार्यकाल सकिएको एक साता भइसकेको छ। प्रदेश सभा सदस्यको पाँचवर्षे पदावधि पनि असोज १ गतेदेखि सकिएको छ। सरकारी सम्पत्तिको दुरुपयोग गर्दै पूर्वप्रदेश सभा सदस्यहरू यतिबेला गृह जिल्लाका निर्वाचन क्षेत्र दौडाहामा हुनुहुन्छ। कोही भने मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको टिकटका लागि भनसुन गर्न सरकारी सवारीसाधन लिएर सङ्घीय राजधानी काठमाडौँ पुगेका छन्। कानुनविपरीत सार्वजनिक सम्पत्तिको दोहन गरेर पूर्वप्रदेश सभा सदस्यहरूले पार्टीका कार्यक्रम, पारिवारिक भ्रमण तथा निजी काममा सवारीसाधनको प्रयोग गरिरहेको पाइएको छ।