• १३ साउन २०८१, आइतबार

वाल्मीकि आश्रम जोड्ने पुल बन्यो

blog

गोपी ज्ञवाली  

नवलपरासी, असोज १० गते । पश्चिम नवलपरासी त्रिवेणी धामदेखि चितवनको वाल्मीकि आश्रमसँग जोड्ने गरी निर्माणाधीन फलुङ्गे पुल १९ वर्षमा सम्पन्न भएको छ। २०६० साउनदेखि त्रिवेणी धामदेखि वाल्मीकि आश्रम झोलुङ्गे पुलको निर्माणको जिम्मा पाएको गीता रुविनामना जेभी कन्स्ट्रक्सन कम्पनीले विभिन्न बहाना देखाउँदै म्याद थप गर्दै आएको थियो। 

नवलपरासीको त्रिवेणी धामदेखि नारायणी नदीपारि चितवन जिल्लामा रहेको लबकुश जन्मेको वाल्मीकि आश्रममा जानका लागि श्रद्धालु एवं पर्यटकहरूका लागि जोखिमपूर्ण अवस्थामा हातले चलाउने ढुङ्गा चढेर जानुपर्ने अवस्था थियो। 

चितवन जिल्लाको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको ऐतिहासिक वाल्मीकि आश्रममा पुग्नका लागि अहिलेसम्म भारतीय नाका भैँसालोटनको बाटो प्रयोग गरेर मात्र जान सकिने अवस्थाको अन्त्य गर्दै नेपालतर्फकाे त्रिवेणीको मुख्य धार्मिक पर्यटन स्थलबाट त्रिवेणी धामबाट नै वाल्मीकि आश्रम जान सकिने भएको त्रिवेणी गाउँपालिका त्रिवेणीका स्थानीय एवं वाल्मीकि आश्रमका पुजारी रामशरण गिरीले बताउनुभयो । धार्मिक, पुरातात्विक एवं ऐतिहासिक क्षेत्रका रूपमा पर्यटकीय महत्व बोकेको यस त्रिवेणी धाममा मुख्य क्षेत्र नारायणी नदीको पश्चिममा नवलपरासी क्षेत्रमा रहेको भए पनि नारायणीपारिको चितवनको निकुञ्ज क्षेत्रमा अयोध्याका राजा रामका छोरा लव र कुशको जन्म र शिक्षादीक्षा भएको ऐतिहासिक स्थान वाल्मीकि आश्रम पर्यटकको आकर्षणको केन्द्र रहेको छ। 

नवलपरासी दाउन्ने डाँडादेखि पश्चिममा रहेको विनयत्रिवेणी गाउँपालिका–५ मा रहेको नारायणी नदीमा नवलपरासीको त्रिवेणीदेखि चितवनको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको ऐतिहासिक वाल्मीकि आश्रमलाई जोड्ने गरी १९ वर्षअघिदेखि बन्न लागेको झोलुङ्गे पुल अलपत्र अवस्थामा रहँदा स्थानीयवासी निराश बनेका थिए।